शनिबार , अषोज २४, २०८३

सोनाम ल्होछार २८५९ मनाउन हजारौँ मानिस टुँडिखेलमा

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ ।

image

काठमाडौं । आज तामाङ समुदाय तथा ह्योल्मो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । देशको विभिन्न स्थानमा यस पर्वलाई लक्षित गरी विभिन्न किसिमका कार्यक्रम आयोजना गरिँदैछ ।

काठमाडौंको टुँडिखेलमा पनि सोनाम ल्होछार-२८५९को अवसरमा तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने ल्होछारमा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’को अर्थ नयाँ रहेकाले यसलाई नयाँ वर्ष भन्ने गरिन्छ ।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर तथा सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । आजदेखि बिरालो वर्ष प्रवेश भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो शान पर्यटन प्रवर्धनका लागि ल्होछार अभियान’ भन्ने नारा रहेको राष्ट्रिय सोनाम ल्होछार २८५९ कार्यक्रम काठमाडौंको टुँडिखेलमा माघ ६ गतेबाट ८ गतेसम्म मनाइदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको कार्यक्रम शहिद प्रति मौन धारण गरी सुरु गरी, राष्ट्रिय गान गाउँदै मोलाम तथा साङ्सेरगेम गरी अघि बढ्ने ल्होछार मूल समारोह समितिले जानकारी दिएको छ ।

कार्यक्रममा लामा गुरुबाट सबै अतिथिलाई फेमर (पीठो) बाँड्ने र सबैले छरेर नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि ताम्बा, लामा, बोन्बोबाट विशेष झाँकी प्रदर्शन हुने र विभिन्न कलाकारहरूबाट स्वागत तथा तामाङ गीत समेत गाइने समितिले जानकारी दिएको छ ।

टुङ्ना धून र ल्होछार गीत समेत प्रस्तुत हुने उक्त कार्यक्रममा आनि छ्योइङ डोल्मा, कुन्ति मोक्तान आदि कलाकारले विशेष प्रस्तुति दिनेछन् । तामाङ समुदाय तथा अन्य समुदायका हजारौँ मानिसहरू अहिले टुँडिखेलमा भेला भई भव्य रूपमा ल्होछार मनाइरहेका छन् ।

मौलिक भेषभुषामा समुदायका मानिसहरू

तामाङ समुदायसँग सम्बन्धित विभिन्न पुस्तक समेत प्रदर्शनीमा राखिएको महोत्सवमा आगन्तुकहरूले विभिन्न किसिमका खाद्य तथा पेय पदार्थको आनन्द लिई ल्होछार मनाइरहेको देख्न सकिन्छ ।

पुस्तक प्रदर्शनीमा पुस्तक पढ्दै बालबालिका

सम्बन्धित समाचार