बुधबार , बैसाख १९, २०८१

“सोनाम ल्हाेछार तामाङको मात्रै होइन, सबै नेपालीको पर्व हो”, -परशुराम तामाङ (भिडियाे)

सोनाम ल्हाेछारकाे चिरफार: इतिहासदेखि वर्तमानसम्म 

image

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व हो, सोनाम ल्हाेछार । यस वर्षको सोनाम ल्हाेछार यही माघ ८ गते परेको छ । यसपालि तामाङ समुदायले २८५९औँ  ल्हाेछार मनाउँदैछन् । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै खरायाे वर्षलाई स्वागत गर्दै छन् । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्हाेछार मनाउने गरेका छन् । मञ्जुश्रीले  विकास गरेको चिनिया खगाेलशास्त्रमा आधारित चन्द्र पात्रो अनुसार ल्हाेछार मनाउने गरेका छन् । नेपालमा मात्रै नभएर विश्वभरी छरिएर रहेका तामाङहरूले यस पर्वलाई नयाँ वर्षकाे रूपमा मनाउँदछन् । तामाङ भाषामा ‘ल्हाे’ भनेको वर्ष/वर्ग/साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्हाेछारकाे अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

पछिल्ला वर्षहरूमा ल्हाेछार मनाउने परम्परा व्यापक बन्दै गएको छ । यससँगै ल्हाेछार मनाउने शैली  पनि परिवर्तन हुँदै गएका छन् । ल्हाेछार संस्कृतिमा विकृतिहरू बढ्दै गएको आवाजहरू पनि उठिरहेका छन् । साथै विभिन्न समुदायले फरक फरक नाममा ल्हाेछार मनाउँदा  कुन ल्हाेछार मनाउने कुन नमनाउने भन्ने द्वविदाहरू पनि बढ्दै गएको देखिन्छ ।

सोनाम ल्होछार के हो ? यसको इतिहास के हो ? यसलाई कसरी मनाउने ? कुन तिथि मितिमा मनाउने ? अन्य ल्होसारसँग यसको सम्बन्ध के हो ? यो कुन धर्म दर्शनमा आधारित छ ? के पछिल्लो समय ल्होछार संस्कृतिमा विकृति बढ्दै गएका हुन ? के यो तामाङ समुदायको मात्रै पर्व हो ? यी र यस्तै प्रश्नहरूको जवाफ खोज्न हामीले विद्वान लेखक, राजनीतिज्ञ, अर्थशास्त्री, जनजाति आन्दोलनका अगुवा, तामाङ संस्कृतिका ज्ञाता परशुराम तामाङसँग कुराकानी गरेका छौँ ।

नेपाल तामाङ घेदुङका संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्को संस्थापक अध्यक्ष, नेपाल  आदिवासी जनजाति महासङ्घका संस्थापक प्रमुख तामाङले विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनमा रहेर पनि योगदान दिएका छन् । तामाङले जीवनको लामो समय प्राध्यापन, अध्ययन, अनुसन्धान र लेखनमा बिताएका छन् । विभिन्न क्याम्पसहरूमा  वि.सं २०३४ सालदेखि ०५८ सम्म प्राध्यापनमा सक्रिय रहेका तामाङ पछिल्लो समय राजनीति र समाज सेवामा सक्रिय छन् ।

राजनीति, अर्थशास्त्र, समाज, जनजाति आन्दोलन, तामाङ समुदाय, तामाङ संस्कृतिसँग सम्बन्धित दुई दर्जन बढी पुस्तक प्रकाशित गरिसकेका तामाङले लेखनलाई जारी नै राखेका छन् । विद्यार्थी कालदेखि नै वामपन्थी राजनीतिक आन्दोलनमा सक्रिय तामाङ नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य छन् ।

भिडियो

सम्बन्धित समाचार