शुक्रबार , अषोज १४, २०७९

तलेजु भवानीसँगै काठमाडौँ आएका ‘मजिपा लाखे’

किंवदन्ती अनुसार लाखे आजु एक राक्षस थिए र उनी श्री तलेजु भवानीसँगै काठमाडौँ आएका थिए ।

image

  • सन्दिप महर्जन

येँया पर्वको अविधी भरी काठमाडौमा प्रख्यात मजिपा लाखे नचाउने गरिन्छ । मजिपा लाखेलाई शान्त भैरवको रुपमा पनि पुज्ने गरिन्छ भने मजिपा टोलको लाखे ननिमा लाखे आजुको घर रहेको छ । नेपाल संवतको यँला महिनामा निस्किने एक मात्र लाखे भएकोले यँला लाखेको नामले पनि चिनिन्छ ।

यो पनि पढ्नुहोस्- ‘मजिपा: लाखे आजु र झ्यालिंचा’को मुकुट निकालियो

Photo : Ujwol Chandra Buddhacharya

प्रचलित किंवदन्ती अनुसार लाखे आजु एक राक्षस थिए र उनी श्री तलेजु भवानीसँगै काठमाडौँ आएका थिए । रातो कपाल भएको, ठूला ठूला आँखा, रातो अनुहार, दाह्रा भएको, ठूलो शरीर भएको, कम्मरमा घंगला बाँधेको हेर्दै डरलाग्दो रुपमा रहेको लाखे श्री तलेजु भवानीको सुरक्षार्थका निम्ति सँगै आएका थिए । आफ्नो भोजनमा अण्डा र मासु असाध्यै मनपराउने र नभइ नहुने भएका उनलाई मानिसले राक्षस भन्दा रिसाउने डरले ला ( मासु) ,खें (अण्डा) भनी लाखे नाम दिए ।

मजिपा लाखे आजुलाई इन्द्रजात्रा बेलामा नै निकालिने भएता पनि लाखेको इन्द्रजात्रासँग कुनै सम्बन्ध रहेको पाइन्न, संयोगले तिथि त्यही बेला परेको मानिन्छ । लाखे आजुलाई सबैभन्दा पहिला उपाकु जाने दिन निकाल्ने गरिन्छ । दोबाटो तथा चौबाटोमा बसिरहेका भूतप्रेत, पिसाचहरुले बत्ती बाल्न हिँडेका मृतकका परिवारलाई दु:ख देलान् कि भनी बाजाको तालमा घंघलाको आवाज निकाल्दै लाखे आजु पनि उपाकु जानेहरुसँगै नगर परिक्रमा गर्ने गर्दछन् । यसरी परिक्रमा गरिसकेपछी अन्तिममा ज्यापू समुदायका गुठियारहरुले पानी पिलाएपछी लाखे आजुलाई घरमा भित्र्याउने चलन रहेको छ ।

कथन अनुसार कुनै समय श्री लाखे आजुलाई ज्यापू समुदायले सन्चालन गर्दथे र तकती अजिमाको जात्रा रञ्जितकार समुदायले संचालन गर्दथे तर, कुनै कालखण्डमा यी दुई समुदायका गुठियारहरूबीच साटासाट भएको थियो । यसैको प्रमाणको रुपमा लाखे आजुलाई ज्यापू गुठियारहरुले पानी पिलाएपछी मात्र भित्र्याउने चलन रहेको छ भने पहाँचह्रे बेला तकती अजिमाको जात्रा हुँदा यी दुई गुठियारहरुबीच चिलाग साट्ने परम्परा रहि आएको छ ।

हाल भने मजिपा टोलमा ज्यापू समुदायका मानिसहरुको बसोबास कम हुँदै गएकोले लाखे आजुलाई पानी पिलाउने परम्परा लोप हुँदै गएको छ । लाखे आजुलाई नगर प्रवेश गराउँदा बालबच्चा नखाने, दु:ख कष्ट नदिने र लोकको कल्याण गर्ने भनी वाचा बाँधी तान्त्रिक विधिबाट प्रवेश गराएको मानिन्छ ।

एकपल्ट यहाँका मानिसले लाखेले आफ्नो वचन कत्तिको निभाउँछ भनी हेर्न लाखे आजु सुतिरहेको समयमा एक झेल्ला बच्चालाई जिस्क्याउन पठाउँछ । आफू निन्द्राबाट बिउँझिदा आफूलाई एक सानो बालकले गिज्याइरहेको देखेर लाखे आजुलाई साह्रै रिस उठ्छ तर पनि त्यस बालकलाई केही हानी नगरी खेदेर पठाउँछ । यो देखेर लोकले लाखे आजुलाई शान्त भैरवको रुपमा पुजेको किंवदन्ती रहेको पाइन्छ । हाल पनि लाखे आजुको अगाडि एउटा सानो बालकलाई झ्यालिंचाको रुपमा प्रस्तुत गरि रमाइलो नाच नचाउने गरिन्छ ।

 

Photo : Ujwol Chandra Buddhacharya

सम्बन्धित समाचार