मंगलबार , असार २, २०८३

‘मजिपा: लाखे आजु र झ्यालिंचा’को मुकुट निकालियो

इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउने भन्दै रथको अघि–अघि मजिपा लाखे नाच्दै–नाच्दै हिँड्ने गर्छ ।

image

आज भाद्र कृष्ण एकादशी – अजा एकादशीको दिनबाट श्री मजिपा: लाखे आजु र झ्यालिंचाको मुकुट निकालिएको छ ।

अजा एकादशी व्रतकथा

अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो ।

धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।

सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।

राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो । (स्रोत : सुयोग ढकाल)

मजिपा लाखे

इन्द्रजात्राको अवधिमा नचाइने लाखेलाई मजिपा लाखे भनिन्छ । काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउने भन्दै रथको अघि–अघि मजिपा लाखे नाच्दै–नाच्दै हिँड्ने गर्छ ।

किम्बदन्ती:

मजिपा लाखेका सम्बन्धमा एउटा रमाइलो किंवदन्ती छ । एक समयमा मजिपा टोलको एक ज्यापुकी छोरीको एउटा लाखेसँग प्रेम भएछ । त्यो लाखेले मानिसको रुप लिई ज्यापुनी केटी एक्लै खेतमा काम गरिरहँदा भेट्न आउने गर्दो रहेछ । अनि लाखेले खेतीको काममा पनि सघाउँदो रहेछ । खेतीको काम चाँडै सकाएको देखेर केटीका आमाबाबु आश्चर्यमा पर्दा रहेछन् । तर खास कुरा के हो भन्ने उनीहरुलाई थाहा थिएन । पछि त लाखे केटीको घर मजिपाटमा आउने गर्न थालिछ । तर यसै समयमा टोलका बच्चा पनि हराउन थालेछन् ।

टोलवासीहरुले त्यो लाखेले गर्दा नै टोलका बच्चा हराएको हो भन्ने शंका गरेर एकदिन चियो बसी टोल लाखेलाई समातेछन् । टोलवासीहरुले लाखेलाई पिट्नसम्म पिटेर केरकार गरेपछि त्यो लाखेले आफ्नो गल्ती स्वीकार्दै केटीसँग सम्बन्ध भएको र कुनै पनि हालतमा आफ्नो प्रेमिकालाई छोड्न नसक्ने बटाउँदै, आइन्दा टोलका बच्चाहरुको रक्षा गर्ने, टोलवासीहरुलाई दुःख नदिने र टोलमा भूतप्रेतबाट सुरक्षा गर्ने बचनबद्ध भई प्रतिज्ञा गर्‍यो रे । अनि सबै टोलवासी मिलेर त्यही टोलमा एउटा घर बनाइदिएर लाखेलाई त्यहीँ राखेछन् । पछि त्यो लाखे त्यहीँ सिद्ध भएका हुन् भनिन्छ । अहिलेसम्म पनि मजिपा लाखे ननी मजिपाटमा लाखेको घर छ । लाखेको उक्त घर जीर्ण भएकोले हाल नयाँ बनाइएको छ ।

अन्य लाखे नचाउँदा कुनै किसिमको तालिम र पूजाविधि गर्नु नपर्ने तर परम्परागतरुपमा छिपा रञ्जितहरुले विशेषरुपमा विधिपूर्व पूजा गरेर लाखे निकाल्ने चलन छ । लाखेको मुकुण्डोमा पूजा गरिसकेपछि लाखे आजु आफ्नो घरबाट बाहिर आउनुहुन्छ । न्हूघः र चिकं मुगःको दोबाटोमा तीनपटक उफ्रिनुहुन्छ, नृत्यको शुभारम्भ गर्नुहुन्छ । अनि बाजाको तालमा नाच्दै–नाच्दै गएर सबैभन्दा पहिला यंगाल टोलको प्रधानहरुको क्लब घरमा पूजा थाप्नुहुन्छ । यसो किन गर्नुपरेको भन्दा यसको पनि कारण रहेछ ।

धेरै वर्षअगाडि भारतमा यहाँका प्रधानहरु हिरामोतीको खेप गर्न जाँदा रहेछन् । त्यसरी जाँदा समुद्र तरेर जहाजबाट जानुपर्दो रहेछ । एकपटक हिरामोतीको खेप गरी फर्केर आउँदा समुद्रको बीचमा जहाज पल्टेर डुब्ला–डुब्लाजस्तै भएछ । त्यसै बेला एउटा मानिसले सबैभन्दा बलवान् तिम्रो भगवान्लाई पुकार गर भनेछ । अनि प्रधानहरुले आफ्नो घरनजिकै रहेका लाखेलाई पुकार गरेछन् । तत्काल लाखेले यंयलाको आवाज दिंदै जहाजलाई बचाइदिएछ । अनि प्रधानहरुले घर फर्केर आएपछि लाखेलाई भव्य पूजा गरेर मुखुण्डोमा ठूलो हिराको टीका चढाइदिएछन् । त्यसै बेलादेखि लाखेले सबैभन्दा पहिला यंगाल टोलका प्रधानहरुको घरमा गई पूजा थाप्न जाने चलन चलेको हो भनिन्छ ।

लाखेसँगै झ्यालिंचालाई किन नचाइन्छ ?

लाखेनाचसँगै झ्यालिंचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटा लगाएर झयालिंचा जोकरजस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेका नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेट्ने गर्छ । झ्यालिंचाचाहिँ दर्शकहरुको समूहभित्र छिर्दै लाखेलाई हायलकायल पार्दै दर्शकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।

पहिला–पहिला झ्यालिंचा थिएन रे । एकपटक एकजना झ्यालिंचा नामक उपद्रयाहा मानिसले लाखेलाई जिस्क्याउन थालेछ । अनि लाखेले रिसाएर त्यस झ्यालिंचालाई पिटेर लात्ती हानी पठाएछ । पछि त्यसैको नक्कल गरेर लाखेसँगै झ्यालिंचाको नाच पनि नचाउन थालिएको हो भनिन्छ ।

उपत्यकामा यसरी लाखे नाच नचाउने चलन कहिलेदेखि शुरुवात भयो भन्ने सन्दर्भमा राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । नुवाकोटबाट ल्याइएको लाखेचाहिँ सबल बहालका द्यःला लाखे हो भनिन्छ । भाषा वंशावलीअनुसार लाखे नाचको चलन काठमाडौंका राजा गुणकामदेवले शुरु गराएका हुन् भन्ने भनाइछ । (स्रोत: प्रेममान डंगोल)

फोटो : Sudip Sultan Ranjitkar

Tags:

सम्बन्धित समाचार