हिमालको उज्यालोमा झलमल्ल एउटा गाउँ–ताङतिङ । गण्डकी प्रदेशको मादी गाउँपालिका–२, कास्कीको पहाडी गाउँ (१,६६० मिटर) । यसको पूर्वमा लमजुङ जिल्लाको क्होलासोंथर र मस्र्याङ्दी गाउँपालिका पर्छन् । पश्चिममा सिक्लेस, पार्चे, खिलाङ र तप्राङ गाउँ छन् । उत्तरमा मनाङ जिल्लाका चामे र निस्याङ भ्याली पर्छन् भने दक्षिणमा कास्कीका याङ्जाकोट, सैमराङ लगायत गाउँ ।
ताङतिङमा २०० घर छन् । ढुंगा र टिनका छाना भएका चिटिक्क घर । झुरुप्प सुन्दर बस्ती । तिनमा ९५ प्रतिशत गुरूङ हुन् भने बाँकी दलित समुदाय। सबै मिलेर बसेका छन् ।
प्रकृति र संस्कृतिको संगम ताङतिङ आकर्षक छ । ताङतिङको फेदीबाट मादी नदी बग्छिन् । गाउँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन् । हिमालको हिमपहिरो पनि देख्न सकिन्छ । पारिपट्टि सिक्लेस गाउँको सिरानीमा हिमाल मुस्कुराउँछन् । ताङतिङमा बसेर त्यो दृश्यमा रमाउँदा आनन्द मिल्छ ।
हिमालजस्तै उज्याला, फरासिला र सहयोगी गाउँले । स्वच्छ हावापानी र ग्रामीण जीवनशैलीले मोहनी लगाउँछ । अर्को कुरा, ताङतिङ आफैंमा ग्रामीण पर्यटनको नमुना गन्तव्य त हुँदै हो, यसलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्न समेत गर्न सकिन्छ ।
ताङतिङका विषयमा केही किंवदन्ती छन् । गुरूङ भाषामा ताङतिङलाई ‘तोनी नासा’ भनिन्छ । ‘तोंउ’ भनेको ‘रमाइलो’ र ‘नासा’ भनेको ‘गाउँ’ । यसरी ताङतिङ ‘रमाइलो गाउँ’ हो । चाँदीझैं टल्किने हिमाल र फरासिला गाउँलेका कारण ताङतिङ सधैं रमाइलो हुन्छ । अर्को किंवदन्तीअनुसार गुरूङ भाषामा ‘तों’ भनेको ‘बँदेल’ र ‘नी’ भनेको ‘लड्ने’ हो । परापूर्वकालमा हाल गाउँ भएको ठाउँमा जंगल थियो जहाँ बँदेल लड्थे । यसरी बँदेल झगडा खेल्ने ठाउँलाई ‘तोनी’ भनियो । पछि तोनीबाट अपभ्रंश भएर ताङतिङ बन्यो ।
ताङतिङमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे जस्ताआधारभूत सुविधा छ ।
ताङतिङमा ग्रामीण जीवनशैली छ । गाउँलेको मुख्य पेसा, पशुपालन, कृषि, वैदेशिक रोजगार र पर्यटन व्यवसाय हो । गाउँमा खेतीपाती गरेको, गाईभैंसी, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुनेका दृश्य देखिन्छन् । यस्तै सामाजिक विकास तथा जलविद्युत, नदीनाला, वनजङ्गल, जंगलीजनावर अध्ययन गर्न पनि गाउँ उपयोगी छ ।
गाउँका घरआँगन सफा छन् । युनिका फाउण्डेशन नेदरल्याण्डको सहयोग एवं नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा एक घर, एक धारा र एक घर एक चर्पी, धुवाँरहित चुलो निर्माण गरिएको छ ।
गाउँलेमा सामुहिक भावना पाइन्छ । रोपाइँ गर्दा होस् या कोदो रोप्दा वा वनमा दाउरा टिप्दा सामूहिक रूपमा एकैपटक काम गर्छन् । उनीहरू साउनमा गोरेटो सफा गर्छन् । मिलेर विकासका काममा अग्रसर हुन्छन् ।
गाउँमा हिमालय मिलन माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय, संरक्षण क्षेत्र व्यवस्थापन उपसमिति, ताङतिङ युवा क्लब, अन्नपूर्ण महिला बचत समूह लगायतका संस्था क्रियाशील छन् ।

गुरूङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुल्ला संग्रहालय हो । गाउँलेहरू बोन, बुद्ध र हिन्दूधर्म मान्छन् । उनीहरू आफ्नो संस्कृति र परम्परामा रमाउँछन् ।
उनीहरूले मनाउने मुख्य चाडपर्वहरूमा ल्होछार (पुस १५), बुद्ध पूर्णिमा, साउने संक्रान्ति, माघे संक्रान्ति, दशैं–तिहार आदि हुन् । उनीहरू भूमि देवता ‘बाजेबैकु’ र ‘नौंचुफिच्यौं’को पनि धूमधामले पूजा गर्छन् । गाउँलेहरू चाडपर्वमा नाचगान गर्छन् । अचेल पर्यटकले चाहेमा समाजघर वा होटलका आँगनमा साँझपख नाच देखाउँछन् । पाहुनालाई पनि नचाउँछन् । मौलिक वेशभूषामा सजिएर उनीहरू घाटु, झ्याउरे, सोरठी र ठेटर नाच नाच्छन् ।

खाना ताङतिङमा गाउँमै उत्पादित खानाका परिकार पाइन्छ । दाल, भात, तरकारी, मकै र कोदोको ढिँडो, अचार, रोटी, कोदोको प्यान केक, लोकल कुखुराको मासु, सुकुटी, नारी–पा(कोदोको रक्सी) आदि पाइन्छ ।
त्यस्तै खाजामा कोदोको रोटी–तरकारी, मकै–भटमास र गुन्द्रुक, झिलिङ्गा, कोदोको सेलरोटी–तरकारी आदि पाइन्छ । सिजनअनुसार, भुइँस्याउ, पिँडालु, आलु र सागसब्जीका परिकार पाक्छ । होटलमा चाहिँ विकासे मदिरा, मम र चाउमिनलगायत परिकार पनि पाइन्छ ।

भीर मौरीको मह ओखती मानिन्छ । ताङतिङ क्षेत्रका क्युरीतिभीर, कलबन्दीभीर र तेमी भीरका पहरामा मौरी बस्छन् । वर्षका दुई पटक कात्तिक/मंसिर र चैत/ वैशाखमा सिकारी शेरबहादुर गुरूङको अगुवाइमा मह सिकार गरिन्छ । सिकार गर्ने परम्परागत शैली छ । सिकार गर्नुअघि देवताको पूजा गरिन्छ । भीरमा सिकार गर्नु सजिलो हुँदैन । सिकारीहरू डोरी र निगालाको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन् अनि मह काढ्छन् ।
ताङतिङ गाउँको पुछारमा नौचु पैगी लामा महायान बौद्ध गुम्बा छ । गुम्बामा शाक्यमुनि बुद्ध, अवलोकितेश्वर र गुरू पद्मसंभवका मूर्ति छन् । गुम्बामा पुग्दा बौद्ध दर्शन, शान्ति, योग, भाइचारा र सकारात्मक सोचको विकास हुन्छ । त्यहाँ पूजापाठ र ध्यान गर्न सकिन्छ ।

गाउँको सिरानमा बोन धर्मावलम्बीको तोनी कोइबा धिं छ । यसमा बोन झाँक्री, लामा र बोन गुरू घ्याप्रीका मूर्ति छन् । साथै गुरूङ जातिको मौलिक संस्कृति, परम्परा, मूल्य, मान्यता, पहिचान, धर्म, संस्कृति, इतिहास, जन्मदेखि मृत्युसम्म गरिने संस्कार झल्काउने सामग्री र चित्र सजाइएको छ ।
ताङतिङ सेरोफेरोका थुम्काबाट हिमाल, डाँडापाखा र बस्ती नियाल्न सकिन्छ । पुसमाघमा यी डाँडामा हिउँ पर्छ । गाउँबाट ४ घन्टा पदयात्रामा क्रबुडाँडा (३,०८५ मिटर) पुगिन्छ । हिउँ खेल्नका लागि क्रबुडाँडा उपयुक्त छ। ताङतिङ गाउँबाट क्रबुडाँडा गाडीमा जान १ घन्टा लाग्छ ।
योग, ध्यान र क्याम्पिङका लागि डाँडाहरू उपयुक्त छन् । त्यस्तै ४० मिनेट पदयात्रामा नौचुडाँडा (२,०४७ मिटर) पुगिन्छ । क्होंलसोथरबाट बसाइ सर्ने क्रममा नौचुमा पनि गुरूङ समुदाय बसेको थियो । नौचुडाँडा प्राकृतिक सुन्दर टावर हो। यहाँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो, लमजुङ हिमाल, माछापुच्छे हिमाल लगायत थुप्रै डाँडाकाँडा, बेसीहरू र गाउँहरू देखिन्छन् ।
अर्को गन्तव्य हो पुलोक्वा डाँडा। ताङतिङबाट १५ मिनेटमा त्यहाँ पुगिन्छ । त्यस्तै कुइचो डाँडा छेउको जंगलमाभूमे देवताबाजे बैकु बसेका छन् । गाउँबाट ४० मिनेटमा त्यहाँ पुगिन्छ । गाउँबाट १५ मिनेट हिँडेमा छत्रे खोला झरनामा पुगिन्छ । गाउँमै प्लाउमै युमथेवा प्राकृतिक भ्यूटावर छ । गाउँबाट १० मिनेटमा रमणीय तुइरोक्यु खोला पुगिन्छ ।
ताङतिङ–क्रबु–चोंरों
ताङतिङलाई केन्द्रविन्दुमा राखेर धेरैतिर पदयात्रा गर्न सकिन्छ । हिमाल, लालीगुराँस, चराको चिरबिर र लेकाली खर्कको सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न सकिन्छ । ताङतिङबाट दुई दिनमा भुजुङ पुगिन्छ । यसैगरी ताङतिङ हुँदै नामुनभञ्ज्याङ (५,५६० मिटर) भएर मनाङको तिमाङ पुग्न सकिन्छ । यसका लागि गाउँबाट क्रबुडाँडा हुँदै चोरोडाँडा (३,३००मिटर) पदयात्रा गर्न पोखराबाट ४ दिन छुट्टयाउनुपर्छ ।
ताङतिङ–क्हाेंलसोंथर
गुरूङ समुदायको पुख्र्यौली थलो–क्होलसोंथर (३,३०० मिटर) । क्होलसोंथरबाट करिब हजार वर्ष अघि गुरूङ जाति विभिन्न ठाउँमा बसाइँ सरेको इतिहास छ । क्होंलसोंथरमा पुराना घरहरूको भग्नावशेष, पानी घट्ट, दरबारका अवशेष आदि देख्न सकिन्छ । यस ट्रेकलाई ‘गुरूङ सम्पदा मार्ग’ पनि भनिन्छ । ताङतिङबाट डेढ दिनमा त्यहाँ पुगिन्छ ।
ताङतिङ–लमजुङ–मनाङ
ताङतिङ गाउँ लमजुङ र मनाङ जाने पदयात्रीका लागि पुरानो पदमार्ग हो । पोखराबाट ताङतिङ, क्रबुडाँडा हुँदै लमजुङको भुजुङ, घलेगाउँ भएर बेसीसहर पुगिन्छ । ताङतिङबाट दुई दिनमा भुजुङ पुगिन्छ। यसैगरी ताङतिङ हुँदै नामुन भञ्ज्याङ (५,५६० मिटर) भएर मनाङको तिमाङ पुग्न सकिन्छ ।
पोखरा–ताङतिङ–घलेखर्क
पोखराबाट याङ्जाकोट, ताङतिङ, सिक्लेस, तारा हिल, घलेखर्क हुँदै भुर्जुङ खोलासम्म पदयात्रा गरिन्छ । विभिन्न मानव बस्ती, प्राकृतिक दृश्य हेर्दै यात्रा गर्न पाइन्छ । पोखराबाट ६ दिनमा पदयात्रा पूरा हुन्छ ।
ताङतिङ–दूधपोखरी
ताङतिङको उत्तरपूर्वमा पवित्र तीर्थस्थल दूधपोखरी (४५७० मिटर) छ । कास्की, लमजुङ र मनाङको साँधमा रहेको कुण्ड हिमताल हो । जनैपूर्णिमामा त्यहाँ मेला लाग्छ । ताङतिङबाट तीन दिनमा दूधकुण्ड पुगिन्छ ।

ताङतिङमा एउटा सामुदायिक विद्यालय छ–हिमालय मिलन माध्यमिक विद्यालय। विसं २०३० मा खुलेको विद्यालयलाई विसं २०५७ मा मावि बनाइएको । विद्यार्थीलाई घोकन्ते पढाइमा होइन, सिर्जनशील बनाउन जोड दिइन्छ ।
अन्तरक्रियात्मक ढंगले पढाइन्छ । कक्षा १० का विद्यार्थीले होस्टलमा अनिवार्य बस्नुपर्ने नियम छ । ताङतिङ भन्दा बाहिरका गाउँबाट पढ्न आउने सबै कक्षाका विद्यार्थीलाई पनि होस्टल सुविधा छ । यस विद्यालयले बेलायतको मेडस्टोन ग्रामर स्कूल फर गल्र्स स्कूलसँग मितेरी साइनो गाँसेको छ ।
ताङतिङमा होमस्टे र होटल सुविधा छ । गाउँमा ६ वटा होटल छन्। होटलहरूमा एकैपटक १३० जना बस्न सक्छन् । त्यसैगरी विसं २०६८ देखि सञ्चालित ताङतिङ सामुदायिक होमस्टेमा ८५ बेड छन् । गुरूङ समुदायका १४ घरमा पाहुना राखिन्छ । होमस्टे र होटल दुवैमा पारिवारिक वातावरण पाइन्छ । गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन् ।
घुमफिरबाट फर्कंदा परिवार, इष्टमित्र र साथीका लागि कोसेली ल्याउँदा आपसी प्रेम झन् गाढा बन्छ । ताङतिङको उत्तम कोसेली हो–मिठो सम्झना । गाउँलेको आत्मीयताको ऋण तिर्नै सकिँदैन । त्यसबाहेक गाउँमा भेडाबाख्राको ऊनबाट बुनिएका चकटी र भांग्रालगायत सामान पाइन्छ । त्यस्तै मह, मौसमी भुइँस्याऊ, गेडागुडी, सागसब्जी, आलु र कोदाको रक्सी पाइन्छ ।

सिक्लेस
गुरूङ संस्कृतिका लागि सिक्लेस गाउँ । गाउँमा ३६० घर छन्, जनसंख्या करिब २४०० छ । गाउँका ९५ प्रतिशत गुरूङ हुन् भने बाँकी दलित । अन्नपूर्ण र लमजुङ हिमालको काखमा बसेको सुन्दर गाउँ । गाउँका ३० घरमा होमस्टे सुविधा छ भने १२ वटा होटल छन् ।
ताङतिङबाट तीन घन्टा हिँडेमा सिक्लेस पुगिन्छ । पोखराको काहुँखोलाबाट सिक्लेससम्म ४१ किमि सडकमा गाडी चल्छन् ।

याङ्जाकोट
ताङतिङबाट ४ घन्टा हिँडे पुगिन्छ याङ्जाकोट (१,४७५ मिटर) । याङ्जाकोटमा दुई सय ६० घर छन्–गुरूङ, दलित र क्षेत्रीका । प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण गाउँबाट अन्नपूर्ण, लमजुङ र माछापुच्छे हिमाल देखिन्छ । गाउँका १० घरमा होमस्टे सुविधा छ ।
गाउँलेहरू पर्यटकलाई घाटु, कृष्णचरित्र, सोरठी र लोकगीत देखाउँछन् । पोखराको काहुँखोलाबाट याङ्जाकोटसम्म गाडी चल्छन् ।

पोखरा
गण्डकी प्रदेशको राजधानी पोखरा । पोखरा उपत्यकामा हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना आदिको सुवास पाइन्छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प, क्यानोनिङ र जीप फ्ल्याएर जस्ता साहसिक खेल खेलिन्छ ।
यहाँ गुरूङ, मगर, क्षेत्री, बाहुन, थकाली, नेवार, दलित लगायतका जातजाति छन् । विभिन्न पदमार्गको प्रवेशद्वारका रूपमा रहेको पोखरा सेरोफेरोका गाउँहरू पनि रमणीय छन् ।

गाउँमा जानु भन्दा पहिल्यै होमस्टे सञ्चालक वा होटललाई खबर गरेर बुकिङ गर्नुपर्छ । अनि घाम नडुब्दै गाउँमा पुग्नुपर्छ। होमस्टेमा बस्दा सामुदायिक होमस्टे व्यवस्थापन समितिले पाहुनालाई घरघरमा बाँडेर राख्छ । समितिको निर्णय पालना गर्नु पर्छ ।
राति १० बजेभन्दा पछाडि भान्छामा बस्नु हुँदैन । होटल वा होमस्टेको मेनुमा उल्लेख भएबाहेक सेवा सुविधा माग गर्न मिल्दैन । वादविवाद र होहल्ला गर्नु हुँदैन । होमस्टेमा होस्ट फेमिलीलाई खाना पकाउन, बगैंचामा तरकारी गोडमेल गर्न वा सरसफाइमा सहयोग गरेमा आत्मीयता गाढा बन्छ । धार्मिकस्थलका नियम पालना गर्नुपर्छ । गुम्बा तथा मन्दिरमा जुत्ता फुकालेर प्रवेश गर्नुपर्छ । गाउँलेको जीवनशैली, लवज र संस्कृतिको सम्मान गर्नुपर्छ ।
दुई रात बस्ने गरी ताङतिङ घुम्ने योजना बनाउनु बेस हुन्छ । गाउँ घुम्दा वा सेरोफेरोमा हाइकिङ गर्दा स्थानीय गाइडको सहयोग लिनुपर्छ । यसबाट यात्रा सहज बन्छ । गाउँबाट फर्कंदा स्थानीय उत्पादन हस्तकला, गेडागुडी, तरकारी वा फलफूल कोसेली ल्याउँदा ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ। र, आफूले ल्याएको कोसेली आफन्तलाई दिँदा आत्मीयता बढ्छ ।
काठमाडौं–पोखरा २०० किमि, गाडीमा ६ घन्टा । अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा । पोखराको काहुँखोलादेखि ताङतिङ २१ किमि, मोटरबाइकमा गाउँसम्मै जान सकिन्छ । काहुँखोलामा ताङतिङ जाने बस र जीप पाइन्छन् । काहुँखोलाबाट बिहान ८ र दिउँसो ४ बजे बस छुट्छन् । ताङतिङ पुग्न बसमा २.५ घन्टा लाग्छ भने जीपमा डेढ घन्टा ।