सोमबार , जेठ १४, २०८१

सांस्कृतिक शहर तानसेन उर्फ ‘काठमाडौंको भाइ’

image

परबाट पाल्पा तानसेनलाई चिनाउन पर्दा, तानसेनलाई ‘काठमाडौंको भाइ’ पनि भनिन्छ । त्यसैगरी तानसेनलाई नेपालको दार्जीलिङको उपमा पनि दिइएको छ । आधुनिक पाल्पालाई चिनाउँदा ‘नेपालको ताजमहल’ भनेर चिनिने रानीमहलको साहारा पनि लिन सकिन्छ । नेपालीको गौरव मानिने पाल्पाली ढाकाको टोपी प्राय नेपालीको शिरले स्वीकार गरिसकेको कुरा हो । घरमा सजाउन प्रयोग गर्ने पाल्पाली करुवा उत्तिकै प्रसिद्ध छ ।

यी त भए पाल्पालाई परबाट चिनाउने प्रयास । पाल्पालाई नजिकबाट हेर्ने र खोतल्ने भने यति धेरै ऐतिहासिक कुराहरूको उत्खनन् हुन्छ कि त्यति धेरै पाल्पाको विषयमा स्वयं पाल्पाली पनि जानकार नहुन सक्छन् ।

पाल्पाको अस्तित्व अहिले देखिको होइन, यसको अस्तित्व त बुद्ध जन्मिनुपूर्व पनि थियो ।  बुद्धभन्दा धेरै समयअघि नै तराइको घना वनको उत्तरतर्फ पहाडी इलाकामा समानान्तर पाल्पाली सभ्यताको विकास भइसकेको थियो । मगर सभ्यताले उत्कृष्टता हासिल गरेको त्यस समयमा प्राचीन मगर भाषाको वर्चस्व रहेको अनुमान गर्न सकिन्छ । प्रसिद्ध इटालियन इतिहासकार तथा खोजकर्ता जोसेफ टुचीको भनाइअनुसार मंगोलियन भाषामा ‘बाल्बा’ शब्दको अर्थ ‘सीप र कलाले भरिपूर्ण’ भन्ने बुझिन्छ । इतिहासले राम्रोसँग भेट्टाउन नसकेको त्यस बखतमा पाल्पाली कला र समृद्धिको प्रभाव भोट र चीनसम्म फैलिएको अनुमान छ । पाल्पा शब्द क्रमशः बाल्बा, बालुपा र पालुबा हुँदै कायम भएको अड्कल काट्न कठिन छैन।

गण्डकी र कर्णाली परिभ्रमण क्षेत्रमा फैलिएको मगर साम्राज्यमा समयक्रममा स-साना स्थानीय विद्रोही मगर सरदारहरूले अधिपत्य कायम गर्दै गए । विक्रमको चौधौं शताब्दीतिर बाहिरी दुनियाँबाट आएका स-साना समूहले पहाडी भागमा विस्तारै आफ्नो सभ्यता, धर्म र संस्कृति फैलाउँदै थिए । राजा चन्द्र सेनका छोरा राजा रुद्र सेनले आफ्नो राज्यको राजधानी रिब्दीकोटबाट पूर्वतर्फ पाल्पा भन्ने ठाउँमा सारेका थिए । 

तानसेनबाट पश्चिमतर्फ करिब पाँच किलोमिटरदेखि १२ किलोमिटरभित्र अवस्थित भू-भाग हो- पाल्पा । राजा रुद्र सेनले स्थापना गरेको राजधानी कालभैरवको प्रसिद्ध मन्दिरको पश्चिम र हार्थोक बजारबाट पूर्वतर्फ रहेको हाल ‘पुरानाकोट’ भनिने डाँडो हो । राजधानी तानसेन सारिएपछि स्थानीय जनताले साबिकमा पाल्पाली राजाको निवासस्थान रहेको टाकुरोलाई पुरानाकोट भन्न थालेका हुन् ।

मानिसको मात्र नभई भू-भागको पनि भाग्य हुन्छ । हजारौं वर्षअघि उन्नतिको शिखरमा पुगेको सभ्यतालाई आफ्नो न्यानो काखमा राखेका भू-भाग आज त्यो वैभव र समृद्धिलाई माटोमुनि धारण गरेर बसेका छन् । त्यस्ता कतिपय स्थान मानवले भेट्टाउन पनि नसक्ने गरी लुकेर बसेका होलान् । विकसित र वैभवशाली गाउँ, सहर र सभ्यता विलीन भएर जानुमा भूकम्प, जलवायु, बाढी, सुक्खा, युद्ध र राजनीति आदिमध्ये कुनै कारणले काम गरेको हुन सक्छ । कतिपय परित्याग गरिएका ठाउँमा मानिसको बसोबास भए तापनि पुरानो जीवन्तता हुँदैन ।

पाल्पा रुद्र सेनले राजधानी सारेको कारणले मात्र समुन्नत भएको होइन । त्यो सयौं वर्षदेखि आफैं समुन्नत थियो । सामरिक कारणले त्यही समुन्नत भू-भागको एउटा टाकुरोमा रुद्र् सेनले आफ्नो राजधानी कायम गरेका मात्र हुन् । त्यही टाकुरोमा बसेर रुद्र सेनका छोरा मुकुन्द सेन (प्रथम)ले आफ्नो राज्य विस्तार गर्ने सपना देख्दै टाकुराको पश्चिममा रहेको ‘कोत्रे डाँडा’को समथर जमिनमा सिपाहीलाई तालिम दिए । त्यही टाकुरोमा उनले पर्वते राजा प्रतापी नारायण मल्ललाई आफ्नी छोरीको कन्यादान गरेर दिए । तिनै पाल्पाली राजकुमारी विश्रवा देवीले दाइजो लगेकी ‘पाल्पाली कालिका’ अहिले बाग्लुङकी कालिकाको नामले प्रसिद्ध छन् ।

मुकुन्द सेनले राज्य विस्तार मात्र गरेनन् । काठमाडौं उपत्यकामा भीषण आक्रमण गरेर मत्स्येन्द्रनाथको यात्रामा निकालेको कालभैरवको मूर्ति पाल्पा ल्याएर स्थापना गरे । आक्रमण र लुटपाट गरे तापनि राजा मुकुन्द सेन काठमाडौं उपत्यकालाई कब्जा गरेर बसेनन् । बरु उनले उपत्यका आक्रमण गर्ने तिब्बती भोटेलाई लखेट्ने काममा सहयोग पुर्याए । उनले राजा रत्न मल्लसँग सल्लाह गरी नेवारलगायत विभिन्न जातिका २ सय १ जना मानिस ल्याएर पाल्पामा बसाले (निर्मल श्रेष्ठ– सेनकालीन इतिहास …।)

विक्रम संवत् १५६० को दशकदेखि १८४० को दशकसम्म करिब पौने ३ सय वर्ष राजधानी रहेको पाल्पा दिनप्रतिदिन झनै समृद्ध हुँदै गयो । पाल्पाली राजा गन्धर्भ सेनले छोरी कौशल्यावतीको विवाह गोर्खाली राजा नरभूपाल शाहसँग गरिदिएका थिए । तिनै राजकुमारीबाट पृथ्वीनारायण शाहको जन्म भयो । पछि मुकुन्द सेन (द्वितीय)की छोरी राजेन्द्रलक्ष्मीको विवाह युवराज प्रतापसिंह शाहसँग भयो । राजा रणबहादुर शाह तिनै राजकुमारीका छोरा थिए । प्रतापसिंह शाहका भाइ बहादुर शाहले महादत्त सेनकी छोरी विद्यालक्ष्मीसँग विवाह गरे । महादत्त सेनले राजधानी तानसेन सारेको दुई दशक पनि नबित्दै उनका छोरा राजा पृथ्वीपाल सेनलाई भीमसेन थापाले काठमाडौंमा हत्या गराएका हुन् ।

पाल्पाली राजाहरूको अवैधका बजिरसँग राम्रो सम्बन्ध र संगत थियो । काठमाडौंबाट कारिगर, शिल्पी तथा व्यापारीको आगमन र शीतकालीन राजधानी बुटवल हुँदै हिन्दूस्तानतिरबाट मालमत्ता झिकाउन थालिएको हुँदा परम्परागत मगर शिल्पविलीन हुँदै गयो । राजकुमार, राजकुमारी र राजपरिवारका मानिस मात्र नभई दरबारी कर्मचारीको जीवनसमेत ‘ठस्सापूर्ण’ हुँदै गयो । राजधानी इलाकाभित्र पर्ने जोगेपानी, सामाकोट, मसुरे, भारकोट, हटिया, ढ्याकुलडाँडा, रानीठाटी, हार्थोक, डुमृका र खस्यौली आदि गाउँहरू त्यस बखतको सन्दर्भमा सभ्य, सुकिला, शिक्षित र सम्पन्न मानिस बसोबास गर्ने स्थानका रूपमा कहलिन पुगे ।

त्यही क्रममा पाल्पालीको जीवनशैली र आडम्बरलाई लिएर अनेकौं लोकोक्ति विकसित भए । ‘आफूलाई ओढ्न पछ्यौरी छैन पाल्पालीलाई खोल (पछ्यौरीमा मलमलको खोल हाल्ने हुँदा)’, ‘पाल्पाली नानीको मुखै चहकिलो’, ‘पाल्पाली जमै कुप्रेतान पर्वते जमै लम्बेतान (पाल्पालीहरू पाखी काम्ला बोकेर नहिँड्ने ठस्सावाल हुँदा बास बस्ने ठाउँमा जाडाले कक्रक्क पर्ने प्रसंग )’जस्ता उखानले पाल्पाली जीवनपद्धतिलाई उजागर गर्छन् ।

विशेष गरेर सेनवंशीय शासनको पतन र अमरसिंह थापा तैनाथवाला भएर तानसेनमा बसेपछि पाल्पाको पतन सुरु भयो । त्यस समयपछि पाल्पा भन्नाले तानसेन बजार बुझिन थाल्यो ।

पाल्पाका ऐतिहासिक सम्पदाहरू 

पाल्पाको भैरवस्थान, रुरु र अर्गली क्षेत्र तीर्थाटन एवं ऐतिहासिक खोज अनुसन्धान गर्ने पर्यटकहरुको लागि महत्वपुर्ण स्थल भएको छ । प्रदेश नम्बर ५ मा पर्ने पाल्पाका ऐतिहासिक पुरातात्विक सम्पदाहरु अहिले पर्यटकिय स्थलको रुपमा विकास हुन थालेका छन । तानसेनको श्रीनगर, अंग्रेजसँगको लडाइमा विजयको उत्सवमा उजीर शमसेरले निर्माण गर्न लगाएका भगवतीको मन्दिर, खडक शमसेरद्धारा हावाखान र सैनिकहरुको जमघट गराउन निर्माण गरिएको शितलपाटी, एशियाकै ठुलो मानिने काठबाट निर्मीत शितलपाटीको मुलढोका, अमरनारायणको मन्दिर, दरवार जस्ता ऐतिहासिक स्थलले पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र दृष्यावलोकनका स्थलहरु वनेका छन ।

रुरु क्षेत्र ( रिडी)

विक्रम सम्वत् १५७५ देखि १६१० सम्म पाल्पामा मणिमुकुन्द सेनले शासन गरेका थिए । त्यस बेला पाल्पा राज्यको राजधानी भैरवस्थानमा थियो । राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशको शिलाले निधारमा ठोकिन पुग्यो । त्यसै दिन राती सपनामा ‘स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर’ भनेपछि मणिमुकुन्द सेनले भेटिएको शिलालाई कालिगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

नेपालमा हिन्दुका चारधाम अर्थात चार मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्र (अन्य, सप्तकोशी किनारको वराहक्षेत्र, बागमती नदि किनारको पाशुपात क्षेत्र कालीगण्डकीको शीर मुक्तिक्षेत्र) को पौराणिक इतिहास र महत्व धेरै छ । पाल्पा, गुल्मी र स्याङजा जिल्ला सिमाक्षेत्रको बिचमा पर्ने रुरु क्षेत्र तीर्थाटनको लागि मात्र नभएर इतिहास र पुरातात्विक अध्यनको लागि पर्यटकहरु पुग्ने गर्दछन् । रुरु क्षेत्रमा देवदत्तमुनिले तपस्या गरी शिवत्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए । उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन् । 

संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो । ऋषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरुप मानेर पूजा गर्दै आएका छन् । रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन् । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रुरु अर्थात रिडीमा पितृमोक्षका लागि अन्तिम संस्कार, श्राद्धजस्ता कार्य मात्र होइन, विवाह/ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन् ।

मणिमुकुन्द सेनले रुरुमा ऋषिकेशको मन्दिर निर्माण गरेपछि पूजाआजाको लागि अक्षता आवश्यक भयो । अर्गलीमा त्यस समयमा सबै पाखो जमिन रहेछ । मणिमुकुन्द सेनकै निर्देशनमा धान उत्पादन गर्न र ऋषिकेशको मन्दिरमा अक्षता बनाउनका लागि ‘जोर्ते खोला’को कुलुङबाट अर्गलीसम्म तीन किलोमिटर दुरीको कुलो निर्माण भएको छ । निर्माण भएको कुलोमा करिब एक किलोमिटर लम्बाई कुलोमा सुरुङ रहेको छ । जुन कुलोलाई ‘राजकुलो’ र ‘जेठी कुलो’को नामबाट प्रचलित छ । विभिन्न ठाउँमा सुरुङको भाग छुट्टाएर चट्टानको बीचबाट लगिएको कुलो हेर्न, ऐतिहासिक खोजअनुसन्धान गर्न आजभोलि पर्यटकहरु पुग्ने गर्दछन् । स्थानिय कालगिढले उत्पादन गरेका छिनो, कोदाला र गल जस्ता औजारबाट खनिएको अर्गलीको सुरुङ कुलो आज भन्दा चार सय ६७ वर्ष अगाडी खनिएको हो ।

भैरवस्थान 

मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा काठमाडौं आक्रमण गर्दा मच्छिन्द्रनाथको पटांगिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका हुन । पर्यटकहरुले भैरवस्थानमा तले शैलीको मन्दिर, सेनकालीन प्रसाद ब्लाइन्ड विन्डो, राणाकालीन, मल्लकालीन स्थापत्य कलाहरु एकै ठाउँमा देख्न सक्दछन् । मन्दिरमा चारैतिर घेरिएको चोक छ । चोकमा एसियाकै ठूलो ऐतिहासिक १६ औं शताब्दी निर्माण गरिएको सुनौलो त्रिशूल र मल्लकालीन कलाले निर्माण गरिएको गजुर छ । मन्दिरको माथिल्लो तलामा भैरवको मूर्ति स्थापना गरिएको छ । मुख्य भैरवलाई हेर्न नहुने विश्वासले मूर्तिलाई मन्दिरको भुइँतलामा राखिएको छ । भुइँतलाको अर्को कोठामा कालीको मूर्ति छ । अखण्ड धुनी चल्ने भैरवको मन्दिरमा पूजा गोरक्षनाथ सम्प्रदायका योगीबाट हुन्छ ।

अमरनारायण मन्दिर

नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए ।  यिनैले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । यो मन्दिर बनाउन काठमाडौंका नेवार कालीगढहरू झिकाएका कारण पनि तानसेनमा काठमाडौंमा जस्तै असन, टुँडिखेल, मखन, वसन्तपुर आदि नामका ठाउँहरु छन् । यहाँ पनि कीर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरू कुँदिएका छन् । यसो गरे चिर्को वा बज्र पर्दैन भन्ने मान्यता छ । दु:खद कुरा केही हप्ता पहिले छाना अड्याउने काठहरू खसेर जीर्ण अवस्थामा पुगेको छ ।

तानसेन दरबार

तानसेन दरबार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरबार हो। पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि वि.सं. १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरबारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कक्ष र २ बुर्जा समेत छन् । शसत्र द्वन्द्वकालमा तानसेन दरबारलाई पूर्ण रुपमा जलाइएपछि यसको पुनर्निर्माण गरिएको हो । अहिले यस दरबारलाई संग्रहालयमा रुपान्तरण गरिएको छ । संग्राहलय भित्र पाल्पाका प्राचीन कुराहरू राखिएको छ ।

रानीमहल

रानीमहल  वि.सं. १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको साविक बौघागुम्बा गाविस- २  र अहिले तानसेन नगरपालिका वार्ड नं. १३ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलाका रूपमा कालीगण्डकी  नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको छ ।  रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ । 

दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी  नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इ.स. १८९३ मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै रहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई, ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम साढे दुई घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्त्व राखेको छ । अहिले रानीमहलसम्म बस, जिप, भ्यान कारलाई कुनै अप्ठ्यारो पर्दैन ।

वि.सं. १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमसेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय बासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’ का रूपमा लिइने गरिन्छ । अहिले रानीमहलको संरक्षण र व्यवस्थापन  नगरपालिकाले गरिरहेको र आन्तरिक पर्यटनको घुइँचो लाग्ने गर्छ ।

रानीमहलः नेपालको ताजमहल « News of Nepal

शितलपाटी

शितलपाटी तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यसलाई जनरल खड्ग  शमशेर  जंगबहादुर  राणाले सन् १८९१ देखि १९०२ सम्मको उनको कार्यकालमा बनाएका थिए । यो भवन मुगल शैलीमा तयार गरिएको मौलिक संरचना हो । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना अष्ठभुज आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ ।

रणउजीश्वरी भगवती मन्दिर

उजीरिसंह थापाले बनाएको यो मन्दिरको छुट्टै विशेषता छ । आफ्ना साना फौजको प्रयोगद्वारा ब्रिटिस इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल गरी युद्धमा होमिएका उजिरिसंह थापाको फौजले तत्कालिन पाल्पाको जीतगढीमा अंग्रेजहरूलाई परास्त गर्न सफल भए पछि बनाइएको यो मन्दिरमा विजयउत्सवकै प्रतिकस्वरूप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन विशाल रथयात्रा उत्सव मनाइन्छ । वि.सं १९९० मा पुरानो मन्दिर भत्किकोले यसको पुनः निर्माण गरिएको हो ।

मामाघर हामी सबैलाई प्यारो हुन्छ । पृथ्वीनारायण शाहको मामाघर पाल्पालाई हामी सबै नेपालीको मामाघर बनाउन सकिने सम्भवाना धेरै छ । यसलाई ‘मामाघर पर्यटकीय क्षेत्र’मा थप विकास गर्ने हो भने आन्तरिक पर्यटनबाटै नेपालीहरूले आफ्नो मामाघरको बारेमा ऐतिहासिक घटाना र संस्कृतिसँग साक्षात्कार हुने अवसर पाउने छन् ।

यो सानो लेखमा पाल्पालाई समेट्न कदापी सकिँदैन । यो एउटा सानो परिचय मात्र हो । पाल्पाका विविध संस्कृति, इतिहास, परम्परा, भुगोल, सम्पदा आउने दिनमा विस्तृत जानकारी दिँदै जानेछु ।

जानेबेलामा `तानसेन घमाइलो जता निरमाया उतै रमाइलो ।´ झलकमान गन्धर्वको सारङ्गी झलझल्ती रेटोयो मनैमा ।

  • जनक कार्की

सम्बन्धित समाचार