सोमबार , भाद्र ८, २०८३

खाटमुनि लुकेको अवस्थामा तेह्रथुममा वडाध्यक्षका उम्मेदवार पक्राउ

उनको खोजीमा प्रहरी आउँदा उनी खाटमुनि लुकेको अवस्थामा फेला परेका थिए ।

image

काठमाडौं । तेह्रथुममा एमालेका वडाध्यक्षका एक उम्मेदवार नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तामाथि आक्रमण गर्न लगाएको आरोपमा पक्राउ परेका छन् । उनले युवाहरूद्वारा उक्त हमला गराएको आरोप छ ।

उनको खोजीमा प्रहरी आउँदा उनी खाटमुनि लुकेको अवस्थामा फेला परेका थिए । छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का तथा एमाले कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी छे फिन्जो भोटेले जनाएका छन् ।

जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा मङ्गलवार राति काँग्रेस र एमाले कार्यकर्ताहरूबिच झडप भएको थियो । जहाँ नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको प्रहरीले बताएको छ ।

घटनाको मुख्य जिम्मेवार वडाध्यक्ष रहेको बताउँदै तरुण दल तेह्रथुमले घोर भर्त्सना गरेको छ । साथै एक विज्ञप्तिमार्फत घटनाको दोषी खड्कालाई कडा कारबाही गर्न आग्रह समेत गरेको छ ।

धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा तीन घाइतेहरूको उपचार भइरहेको छ । त्यसैगरि काँग्रेसका कार्यकर्ताहरू राति आएर अपशब्द बोल्दै वडाध्यक्षका उम्मेदवार खड्कामाथि हमला गरेको छथर एमालेले बताएको छ । साथै विज्ञप्तिमार्फत पक्राउ परका खड्कासहित अन्य कार्यकर्ताहरूलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

Tags:

सम्बन्धित समाचार