रामले रावणमाथि विजय हासिल गरेको दशैको दशौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारुहरूले महाभारत महाकाव्यमा आधारित बड्किमार थारु लोक महाकाव्यको गीत गाएर दशैं मनाउँछन् ।
थारु समुदाय नेपालको आदिम जातिको रूपमा पहिचान भएको जाति हो । सबै जाति र समुदायलाई सहर्ष आफ्नो समुदायमा नश्ल, संस्कार र परम्परा भित्र अँगाल्न सक्ने दिलदार जाति हो यो समुदाय । त्यसैले थारु जातिहरू आफूलाई थारु समुदाय भनेर परिचय गराउन चाहन्छन् । मङ्गोल अर्यान, द्रविण, मिश्रण थारुहरूको शारीरिक बनोट, भाषा र संस्कृतिमा समाहित भएको पाउन सकिन्छ । आफ्नै भाषा, संस्कृति भएको यो जाति हिन्दु, बौद्ध, क्रिश्चियन, गुवाबा र अन्य धार्मिक सम्प्रदायको रूपमा परिचित छन् । धर्म व्यक्तिको व्यक्तिगत आस्था र विश्वास हो । यसमा कसैको जबरजस्ती हुनु हुँदैन । प्राकृत धर्म अर्थात् प्रकृतिको पूजा गर्ने यो जातिको संस्कार र परम्परा आज पनि यसका गुणहरू देख्न पाइन्छ ।
गुर्वावा जसले थारु रीति र परम्परा बसाल्न दिएको योगदानलाई थारु समाजका संस्थापकको संज्ञा दिएका छन्– जर्मन मानव शास्त्री जिजलले । गुवविक जन्मौटी थारु भाषाको प्रथम र अद्वितीय लोकमहाकाव्य हो जुन महाकाव्यले पृथ्वी र जीवको उत्पत्ति र विकासको भौतिकवादी व्याख्या गरेको छ । जुन कृतिले हिन्दुग्रन्थ चार वेद र अठार पुराणको मिथकीय व्याख्या आफूमा समेटेको छ । पहिले हिमाल, पहाड र भित्री तराईमा बसोबास गर्ने थारु जाति समयान्तरमा भित्री तराई र चुरेको समथर भावर क्षेत्रमा मूल रैथाने भए । यस उसले नेपाल भूमिको रीति र संस्कृतिको प्रभाव र झलक पाइनु स्वाभाविक नै हुनजान्छ । यस सानो आलेकमा थारु समुदायले मनाउने बडा दशैंको शैली, विधि, अभ्यासहरू र यसले पार्ने सामाजिक र सांस्कृतिक प्रभावका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।
थारु समुदायले दशैं धूमधामसँग मनाउँछन् । दशहराको पहिलो दिन घटस्थापनालाई जिउरा ढना दिन भनिन्छ । त्यसदिन बिहान घरमुली जसलाई गरढुरिया मनिन्रो नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर देउथान (डिउह्रार कोन्टी)को प्रकाश कम लाग्ने छायाँमा मकै छोडाएर जमरा राखिन्छ । दैनिक रूपमा पानीले सिञ्चित गरिन्छ । कतिपय दोस्रो दिन डुटिया हेरेर पनि जमरा राख्दछन् । तेस्रो दिन टेरो कुल थरका थारुहरूले पितृलाई विधिपूर्वक पूजा गरेर दशैं मनाउँछन् । चौथो दिनमा खासै केही हुँदैन । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृ पूजा गर्दछन् जसलाई सराढक दिन दिन्छन् । यस दिनलाई महत्त्वपूर्ण दिन मानिन्छ । गाउँका सुखिया वा हुर्डुगवा नाचका टोलीहरूले दहितको आँगनमा गएर नाचगान गर्दछन्, खान्छन्, पिउँछन् रमाउँछन् । षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, परिकार तरकारी जुटाउने गरिन्छ ।
अष्टमीको दिनको विशेषता ढिकुरी रोटी पुजिन्छ । त्यसैले यस दिनलाई ढिक्रहवक दिन भनिन्छ । यस दिन सुँगुरको मार हानिन्छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझ गोधुली साँझमा खास गरी चर्न गएका वन गाई, वस्तु, भेडाबाख्रा घर फर्केपछि डिउह्रारमा पितृ, कुलदेवी पटनही भवानी घोडा, खड्ग, बिहान स्थापना गरिएको कुभिन्डोको भेडालाई ढिकुरी पूजा गरिन्छ । त्यस क्रममा मादलको शास्त्रीय धुन बजाइन्छ । भरलाको पातमा सातु, जमरा र बाबरीको फूलसँगै ढिकुरी बेरेर घरका मझेरी, ढोका र छानाहरूमा घुसारिन्छ । पितृहरू रातमा खान आउने विश्वासले ती ठाउँमा ती खानेकुरा राखिन्छ । सपरिवार ढोगभेट गरी बनेका विभिन्न परिकारको खानपिन गरिन्छ । गाउँको बरघरको घरमा सखिया, डुर्डुंगवा, छोक्रा नाच नाचिन्छ । यी रात नाचगान गरेर जाग्राम बसिन्छ ।
नवमीको दिन अलि महत्त्वपूर्ण हुन्छ । यस दिनलाई मुर्गैहवा भनिन्छ । पितृ पूजा गर्दा भालेबोली दिने भएकाले मुर्गेहवक दिन भनिएको हो । कुल अनुसार मुर्गाको सङ्ख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग पितृपुजन गर्न अनिवार्य खाना हुन् । पितृलाई पूजा गरिएको खाना छोराहरूले खाने चलन रहेकामा आजकल छोरीहरूले पनि खान थालेको देखिन्छ । बिहानको खानापछि देउथानमा रहेको पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा अस्राउने गरिन्छ । यो कार्यलाई पिट्टर पुहैना भनिन्छ । गाउँभरीका महिलाहरू राम्रा राम्रा परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीहरू सहित पिट्टर अस्राउन निस्कन्छन् । नाचटोली पनि बढघरको घरबाट सँगैसँगै नाच्दै जान्छन् । केटाकेटीहरू पनि रमाउँछन् ।
दशमीको दिन बिहान भुइहार ठनवामा गाउँभरीका घर कुरियाहरू एक पाउ रक्सी, जमरा र बाबरीको फुल लिएर आउँछन् । बडकिमार गीत महाभारत महाकाव्यमा आधारित लोक महाकाव्य गाउँदै रमाउँदै गाउँ देवतालाई टिका लगाएर घर फर्कन्छन् । घरघरमा पारिवारिक टीका लगाएपछि गाउँका बडघरको घरमा गाउँटीका अर्थात् राज टीका लगाउन जान्छन् । दिनभर टीका चल्दछ । गाउँमा नाचगान चल्दछ, यसरी दशैं सकिन्छ ।
रामले रावणमाथि विजय हासिल गरेको दशैको दशौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारुहरूले महाभारत महाकाव्यमा आधारित बड्किमार थारु लोक महाकाव्यको गीत गाएर दशैं मनाउँछन् । शक्तिपूजाको पर्वको रूपमा पुजिए पनि दशैं विशेषतः पितृपूजाको पावन पर्वको रूपमा स्थापित छ थारु समुदायमा । त्यसो त रामविगहग्रा गीत र कृष्णचरित्र र शिवपार्वती माहात्म्य पनि नगाइने होइन थारु समाजमा । सकुनी मामाको षडयन्त्र, भीमको पराक्रम, विराट राजाको ऐस, द्रौपदीको चीर हरणको सन्दर्भ सबैभन्दा बढी चर्चित रहेका छन् ।
आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई बर्का डस्इा भनिन्छ । बडा दशैंमा पूजा गर्न सकिएन भने चैते दशैंमा विधिवत् रूपमा दशैं मान्न सकिन्छ । पहिले पहिले गाउँ“को सल्लाह गरेर कात्तिके दशैं पनि मान्ने चलन रहेको थियो । दशैं थारु समुदायमा माघी पछिको ठुलो चाड हो । विवाहित जोडीको लागि दशैंमा विशेष पाहुर लिएर ससुरालीमा टिका थाप्न जानुपर्दछ । बडघर प्रणालीमा आएको अव्यवस्था, अन्य समुदायको प्रभाव र समुदायको सचेतनाको अभावका कारण दशैं विस्तारै औपचारिकता र अनावश्यक तडकभडक हुँदै गएको देखिन्छ । उपयोगी संस्कृतिको संरक्षण तथा कुरीतिहरूको अन्त्य गर्न सांस्कृतिक सचेतना र सहकार्य हुन जरुरी भइसकेको छ ।