बुधबार , जेठ ३०, २०८१

नेपालमा पर्यटनको इतिहास, वर्तमान र भविष्य

image

नेपालमा पर्यटनकाे इतिहास

नेपाल पर्यटकीय सम्भावनाले भरिएको देश हो । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपालमा पर्यटन विकासको लामो इतिहास छैन । नेपाल एकीकरण हुनु पूर्व र एकीकरणको क्रममा ब्यहोर्नु परेको क्षति र त्यस पश्चात् लादिएको एकात्मक राजनीतिक, आर्थिक, धार्मिक व्यवस्थाले नेपालको सांस्कृतिक विविधताको विकासमा ठेस पुग्यो । त्यसपश्चात् १०४ वर्षे लामो एकतन्त्रिय शासन व्यवस्थाले केवल सत्तामा रहेका वर्गहरूको विलासिता पुरा गर्ने बाहेक पर्यटन क्षेत्रमा केही उपलब्धि हासिल गरेको देखिन्न । जहाँनिया राणा शासनकालमा नेपाल अन्तर्राष्टिय समुदायबाट सम्पर्कविहीन प्राय थियो । साथै, वि।सं। २००७ सालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात् पञ्चायित व्यवस्थामा जारी भएका आवधिक योजनाहरुमासमेत पर्यटन क्षेत्रको विकासमा बेवास्ता गरेको पाइन्छ।

सन् १९५० मा यूएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित नेपाल–द किङडम इन दि हिमालय पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृत गरी अध्ययन गरेको र नेपाललाई विश्व सामु चिनाउने प्रयास गरेको देखिन्छ । त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उचाइमा मानवले पाइला टेकेको दिन) सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहिहरुको लागि नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्यको रूपमा चिनियो । त्यसपश्चात नेपालको बारेमा अन्तर्राष्टिय समुदायमा चासो बढ्न थालेको देखिन्छ ।

नेपालमा पर्यटन विकासका लागि भएका प्रयासहरु

नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवातसँग पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि।सं। २०१६ मा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रहासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि।सं। २०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो ।

वि.सं. २०३९ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुईवटा विभागहरू हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५८ देखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण गरियो ।

पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्यहरु गर्न नेपाल सरकार –मन्त्रिपरिषद्को मिति २०७१ साउन २ गतेको निर्णयानुसार मिति २०७१ भदौं महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।

नेपालले सन् १९९८ मा नेपाल भ्रमण बर्ष मनाएको थियो । त्यसैगरी सन् २०११ मा पर्यटन बर्ष २०११ मनायो । २० लाख पर्यटक भित्र्याउने उद्धेश्यका साथ नेपाल भ्रमण बर्ष २०२० मनाउन अन्तिम तयारी भएको बेला कोरोना महामारीले वितण्डा मच्चाएपछि नेपालको पर्यटन क्षेत्रको विकासमा अभूतपूर्व संकट उत्पन्न भयो ।

नेपालमा पर्यटनको सम्भावना

नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका शृंखलावद्ध हिमालहरू विभिन्न किसिमका झरनाहरू, पाखा, पखेरा, टाकुरा, हरिया जङ्गल झाडी, यहाँ रहेका नागबेली नदीनालाहरू, यहाँका मानिसहरूमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, भेषभुषा कला संस्कृति आदि कुराहरूले पर्यटन व्यवसायमा विकासका सम्भावनाहरू बढाएका छन् ।

अनुपम प्रकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विवधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित छ । आज संसारमा रहेका १९५ देशमध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर प्राकृतिक रूपमा विशाल राष्ट्र हो । नेपाल सुन्दर र शान्त देश हो । यसले संसारको कुल भूभागको ० दशमलव ०३ प्रतिशत र एसियाको ० दशमलव ३ प्रतिशत भाग ओगटेको छ ।

नेपालले सगरमाथा, शान्तिको अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सत्य र धैर्यताको प्रतीक राजा दशरथ र माता सीताको जन्मस्थान जनकपुर र नेपालमा भएको जल सम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्न सक्छ । यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्नु अति आवश्यक छ । इसाई धर्मावलम्बीहरूको लागि इजरायलको जेरुसेलम, ईस्लाम धर्मावलम्बीहरूको लागि साउदी अरेवियाको मक्का मदिना जस्तै विश्वमा बौद्धमार्गीहरूका प्रोरणाका श्रोत महामानव बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध तीर्थस्थलको रूपमा विकास गरी लाखौं धार्मिक पर्यटकहरू पनि भित्र्याउन सकिन्छ । हुन त सम्पूर्ण नेपाल आफैमा पर्यटकीय स्थल हो । यहाँ रहेका ७७ जिल्लाहरूमा नै पर्यटकीय क्षेत्र रहेका छन् ।

विश्व सम्पदा सूचीमा नेपालका सम्पदा

नेपालका विभिन्न सम्पदाहरु युनेस्कोले विश्वसम्पदा सूचिमा सूचिकृत गरेका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत यी सम्पदाहरु पर्यटकीय आकर्षण हुन् । नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरूमध्ये चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एवम् सांस्कृतिक सम्पदाहरूमध्ये राष्ट्रदेव पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्विनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन् ।

नेपाल पर्वतीय पर्यटनका लागि संसारकै उत्कृष्ट गन्तव्य हो भन्दा अत्युक्ति नहोला । किनकी विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर। संसारभरमा रहेको चौधओटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये आठओटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन, सांस्कृतिक सम्पदाहरू, फरक भौगोलिक वनावट, रीतिरिवाज, चालचलन, सांस्कृतिक कलाशैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न पुगेको छ ।

नेपालमा साँस्कृतिक पर्यटनको सम्भावना

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा (नयाँ) अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । त्यस्ता पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्त्व दर्साउँछ । आर्थिक वृद्धि र विकासमा सहयोग पुग्दछ ।

सांस्कृतिक सम्पदाको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ र आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्नुका साथै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

हालसम्म नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुईपाटाको रूपमा विकास गर्नु जरुरी छ ।

जातिगत विविधता अनुसार सांस्कृतिक संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास गर्न सके नेपालमा पर्यटकीय गन्तव्यको साथै अध्ययन र अनुसन्धान गर्ने थलको रूपमा विकसित हुनेमा चिश्चित छ ।

प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत प्रबर्द्धित पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ । तसर्थ, सांस्कृतिक भेषभुषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधार, सांस्कृतिक पर्यटन सहित विकासको पूर्वाधार सम्भव हुने देखिन्छ ।

हालको अवस्था

सन् २०१९ को अन्यतिर सुरु भएको विश्वव्यापी कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । मानिसहरु एक ठाउँबाट अर्का ठाउँमा जान प्रतिबन्द भएपछि पर्यटनको विकास नहुने नै भयो । व्यापार, मनोरञ्जन, अध्ययन, अनुसन्धानका लागि पर्यटकको रुपमा घुमफिर गर्ने मानिसहरु घर तथा सिमित भूगोलमा थुनिए । जसले गर्दा विश्वभरीकै पर्यटन क्षेत्र तहसनहस बन्यो । पहिलो र दोस्रो लहरको माहामारीबाट भर्खरै तंग्रिन थालेको पर्यटन क्षेत्र तेस्रो लहर (ओमिक्रोन भेरियन्ट) को आतंकले पुन ढलेको छ ।

विगत केही बर्ष यताको तथ्यांक हेर्ने हो भने अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १७ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्याङ्क छ । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपालमा आएको देखिन्छ । त्यसपश्चात सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण बर्ष मनाउने अन्तिम तयारी हुँदै गर्दा कोरोना महामारी देखा पर्यो । नेपालको पर्यटन क्षेत्र ध्वस्त भयो । त्यस बर्ष नेपालमा जम्मा दुई लाख ३० हजार पर्यटक भित्रिएको तथ्यांक छ । यो अघिल्लो बर्षको तुलनामा ८० प्रतिशतले कम हो । त्यसैगरी सन् २०२१ मा जम्मा एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएको देखिनछ । सन् २०२० को तुलनामा ३५ प्रतिशतले कम हो ।

कोरोना महामारीका कारण यसरी पर्यटकको आगमन घट्दै गएको छ । हालको लागि बाह्य पर्यटकको संख्या बढाउन सकिने अवस्था छैन । यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकार र सम्बन्धित निकायबाट पनि कुर्न ठोस योजनाहरु अगाडी सारिएको पाइदैन ।

नेपालमा पर्यटनको भविष्य

नेपाल पर्यटनको हिसाबले संसारका उत्कृष्ट गन्तव्यहरुमध्यमा पर्दछ । विश्वव्यापी कोरोना महामारी नियन्त्रण भएपछि नेपालमा पर्यटनको विकासले फड्को मार्न सक्छ । महामारीका कारण सिमित भूगोलमा थुनिएका मानिसहरु निष्फीक्री घुम्न निस्कने बेला नेपालले यस क्षेत्रलाई व्यवस्थित गर्नसक्नुपर्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी बढाउनुपर्दछ । सुरक्षा व्यवस्था मजबुद बनाउनुपर्दछ । पर्यटकका लागि विषेश योजनाहरु उनीहरुलाई आकर्षित गर्नुपर्दछ ।

नेपालका पर्यटकीय सम्भावना भएका धेरै स्थानहरु अर्झ चर्चामा आउन सकेका छैनन् । ती स्थल, सम्पदाहरुको खोजीनिति गरी प्रचारमा ल्याउनुपर्दछ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राज्यले लगानी बढाउन आवश्यक छ ।

मुलुक संघियतामा गएसँगै स्थानीय सरकारले आ-आफ्नो भूभागमा रहेका पर्यटकीय सम्भावना भएका स्थल, धार्मिक, सांस्कृतिक सम्पदाहरुको खोजी गर्दै प्रचारमा ल्याउने कामको सुरुवात भएको पाइन्छ । यो पर्यटन विकासको राम्रो लक्षण हो । अझ स्थानीय समुदायको विशिष्ट संस्कार, संस्कृति, भाषा, भेषभुषा, सामाजिक परम्परा आदिलाई पनि प्रचारमा ल्याउन सके सांस्कृतिक पर्यटनको विकास हुने देखिन्छ ।

नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्त्व दिएकोमा आन्तरिक पर्यटकहरूप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरूमा आन्तरिक पर्यटकहरूलाई पनि बाह्य पर्यटकहरूलाई जस्तै महत्त्व दिनुपर्छ । पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि निकै ठूलो टेवा पुर्याउन सक्छन् । नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरूले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरी नेपालमा पर्यटन विकासका लागि योगदान पुर्याउनु पर्छ । यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको भविष्य उर्वर देखिन्छ ।

सम्बन्धित समाचार