पोखरीको उत्खननमा तामाको अभिलेखसहितका मुद्रा, विभिन्न कालका नारीका मूर्ति, जनावरका प्रतिमा, माला, चुरा, विभिन्न कालका भाँडा, काला चम्किला माटाका भाँडाका टुक्रा, सुंगाकालीन नारी मूर्ति, पाषाण तीरलगायतका महत्त्वपूर्ण वस्तु भेटएका हुन् ।
काठमाडौँ । कपिलवस्तुको तिलौराकोटमा मौर्यकालीन सामग्री फेला परेका छन् ।
तिलौराकोटमा अवस्थित मौर्यकालीन पोखरीमा उत्खनन गर्दा पञ्च मार्क मुद्रा (आहात मुद्रा)लगायतका मौर्यकालीन सामग्री भेटिएका हुन् । तिलौराकोटको मध्य भागमा रहेको उक्त पोखरीको उत्खनन विगतदेखि नै भए पनि अहिलेसम्म पञ्चमार्क मुद्रा भने भेटिएको थिएन । अन्य स्थानमा फेला परेको भए पनि भने पोखरीमै फेला परेको यो पहिलोपटक हो ।
सन् २०१४ मा युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा पुरातत्व विभाग, दुरह्याम विश्वविद्यालय, बेलयात, लुम्बिनी विकास कोषलगायतको टोलीले उक्त क्षेत्रमा भू–भौतिक सर्वेक्षण गर्दा पोखरी फेला परेको थियो । सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० गुणा ३० मिटर क्षेत्रफलको एउटा संरचना फेला परेको थियो । उत्खननबाट नगरभित्र इँटाको गारो लगाइएको ठूलो पोखरी भेटिएको हो ।
सो क्षेत्रको सन् २०१५ मा उत्खनन गर्दा जोगिएका २६ तहका इँटा भेटिएको र ती इँटाका तहहरू क्रम मिलाएर राखिएको पुरातत्वविद्ले बताएका छन् । पोखरीमा प्रयोग भएका कतपय इँटा ४५ सेन्टिमिटरसम्म लामा पाइएका थिए । पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा पोखरी मौर्यकालीन समयमा बनेको पुष्टि भएको हो ।
पोखरीको उत्खननमा तामाको अभिलेखसहितका मुद्रा, विभिन्न कालका नारीका मूर्ति, जनावरका प्रतिमा, माला, चुरा, विभिन्न कालका भाँडा, काला चम्किला माटाका भाँडाका टुक्रा, खैरा माटाका भाँडाका टुक्रा, सुंगाकालीन नारी मूर्ति, पाषाण तीर र लोहोरो–सिलौटोलगायतका महत्त्वपूर्ण वस्तु भेटिएको पुरातत्व अधिकृत ज्ञवालीले बताए ।
गत वर्ष दक्षिणतर्फ रहेको पर्खालको करिब १२ मिटरमा उत्खनन गरेकोमा यस वर्ष बाँकी रहेको ११ मिटर उत्खनन गरिएको हो । दक्षिणतर्फको पर्खालको लम्बाइ २७ मिटर रहेको पाइएको छ । विगतमा पोखरीको उत्खनन गर्दा २६ तहको इँटा भेटिएका थिए भने यस वर्ष गरिएको अध्ययन अनुसन्धानबाट यो पोखरी विभिन्न समयमा बनेको पाइएको हो ।
ज्ञवालीका अनुसार प्राप्त पुरातात्त्विक सामग्रीका आधारमा उक्त क्षेत्र इसापूर्वमा नै व्यापारिक केन्द्रका रूपमा विकास भइसकेको थियो । त्यस कारण व्यापार विनिमयको प्रमुख माध्यमका रूपमा रहेको मुद्राको प्रचलन नेपालमा पनि इसापूर्व कालदेखि नै रहेको मान्न सकिन्छ । तर, नेपालमै बनेका त्यस समयका मुद्रा हालसम्म प्राप्त भएका छैनन् । नेपालमा हालसम्म प्राप्त कानुनग्राह्य सर्वप्राचीन धातु मुद्रा नै आहात मुद्रा हो ।
लुम्बिनी, प्राचीन कपिलवस्तु राज्यको राजधानी हालको तिलौराकोट र काठमाडौँ उपत्यकाका विभिन्न ठाउँको पुरातात्त्विक उत्खननमा आहात मुद्रा प्रशस्त मात्रामा प्राप्त भएको पुरातत्वविद् बताउँछन् । इसापूर्व ७/८औँ शताब्दीतिरबाट सुरु भएको मौर्यकालसम्म प्रचलनमा रहेका यी मुद्रा भारतीय भू-भागबाट व्यापारको सिलसिलामा नेपाल आएको पुरातत्वविद्हरूको भनाइ छ ।
सन् २०१८ मा पुरातत्व विभाग, लुम्बिनी विकास कोष तथा दुरह्याम विश्वविद्यालय यूकेको संयुक्त विज्ञ टोलीले तिलौराकोट कन्थक स्तूप क्षेत्रमा गरिएको उत्खननमा ४९७ आहात मुद्रा प्राप्त भएका छन् । साथै, तिलौराकोट पुरातात्त्विक उत्खननमा कुषाणकालीन केही मुद्रा पनि प्राप्त भएका छन् । यी मुद्रा पनि व्यापारिक सिलसिलामा भारतबाट आएको मानिएको छ ।
तिलौराकोट राजा शुद्धोधनको राजदरबार भएको एवं सिद्धार्थ गौतमले जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएको प्राचीन ऐतिहासिक स्थान हो ।