कर्णाली र सुदूर-पश्चिम प्रदेशले नेपाली धर्म संस्कृतिको संरक्षण मात्रै गरेको छैनन्, नेपाली धर्म, संस्कृतिसँग सम्बन्धित सम्पदाहरूलाई समेत आफ्नो गोदमा सम्हालेर राखेका छन् ।
कर्णाली र सुदूर पश्चिम नाम सुन्ने बित्तिकै नेपाली धर्म, संस्कृतिको हब भनेर पनि चिनिन्छ । यहाँ परम्परागत नेपाली धर्म संस्कृति यद्यपि आफ्नो मौलिक विशेषतासहित जीवित रहेको छ । कर्णाली र सुदूर-पश्चिम प्रदेशले नेपाली धर्म संस्कृतिको संरक्षण मात्रै गरेको छैनन्, नेपाली धर्म, संस्कृतिसँग सम्बन्धित सम्पदाहरूलाई समेत आफ्नो गोदमा सम्हालेर राखेका छन् ।
नेपाली भाषाको उत्पत्ति भएको कर्णाली प्रदेश र आफ्नै परम्परागत धर्म संस्कृतिमा रमिरहेको सुदूर पश्चिम प्रदेश बेलाबेलामा परम्परागत रुढीवादी संस्कृतिको कडा पालनाले विवाद र चर्चामा नआउने पनि होइनन्, तर यी प्रदेशहरूले आफ्नो सौन्दर्यतामा पर्यटकलाई लोभ्याउन सकेका छैनन् ।
समयको गतिसँगै सुदूर-कर्णालीका धर्म संस्कृति र रीतिरिवाजमा परिवर्तन देखा परिरहेका छन् । शिक्षित वर्गको सङ्ख्या बढ्दै जाँदा र सुदूर-कर्णालीवासीले देश-विदेशको धर्म संस्कृतिलाई अँगाल्न पुग्दा एवम् विदेशी तथा स्वदेशी धर्म संस्कृतिको नक्कल गर्दा नेपाली परम्परागत धर्म , संस्कृति र रीतिरिवाज सङ्कटमा पर्ने हो कि भन्ने शङ्का उब्जिएको छ । कर्णालीवासीहरूले आफ्नो परम्परागत धर्म संस्कृतिको संरक्षणमा देखाएको उदासी र सुदूर-कर्णाली बाहेकबाट भएको सुदूर- कर्णालीको संस्कृति र रीतिरिवाजको उपहासपूर्ण उपेक्षाले कर्णाली तथा सुदूर-पश्चिमको पहिचान मात्रै होइन, सम्पूर्ण नेपालको धर्म, संस्कृति र रीतिरिवाजको दिनानुदिन पलायन भइरहेको छ, यसले नेपालित्त्व र कर्णाली तथा सुदूर पश्चिमको पहिचान समेत सङ्कटमा पार्ने निश्चित छ ।
जसरी नेपालको राजधानीले नेपाली मठमन्दिरका विभिन्न कलात्मक व्याख्यालाई आफूमा समेटेर राखेको छ, त्यसैगरी कर्णाली र सुदूर पश्चिमले पनि नेपाली धर्म, संस्कृति र रीतिरिवाजका विभिन्न पाटाहरूलाई आफूमा समाहित गरेको छ । आज विश्व परिवेशमा भएको परिवर्तन र नेपालको वैदेशिक संस्कृतिलाई मान्यता दिने संस्कृतिले कर्णाली र सुदूर पश्चिमलाई समेत प्रभावित पारेको छ । देश विकाससँगै कर्णाली र सुदूर पश्चिम विकास हुनु र त्यहाँका निवासीहरू परिवर्तन हुनु स्वाभाविक र सकारात्मक भएता पनि नेपाली, धर्म, संस्कृति, सभ्यता र नेपाली पहिचानलाई चिनाइरहेको कर्णाली र सुदूर पश्चिम बिदेसिनु अर्थात् विदेशी धर्म, संस्कृतिको प्रभावमा पर्नु दु:खदायक छ ।
कर्णाली र सुदूर पश्चिमले लोप हुने अवस्थामा पुगेको नेपाली धर्म, संस्कृति, परम्परा र नेपाली पहिचानलाई यथावत् राख्नु पर्छ भन्नुको तात्पर्य सुदूर-कर्णाली जस्ताको तस्तै रहनु पर्छ भन्ने कदाचित होइन । हामीले सुदूर-कर्णालीलाई दुनियाँमा चिनाएर एउटा सम्मानित स्थान दिनुपर्छ र नेपाली धर्म, संस्कृति र सभ्यता चिनाउने सङ्ग्रहालयमा परिणत गर्नुपर्छ । परम्परागत रूपमा मान्दै आएका धेरैजसो चाडपर्वहरू र हामीले भव्यताका साथ निभाउँदै आएका हाम्रा सांस्कृतिक परम्पराहरूको आज फरक ढङ्गले प्रस्तुति भइरहेको हामी देख्न सक्छौँ ।
हाम्रा चाडपर्व मान्ने शैलीहरूमा परिवर्तन आएको छ, हामीले हाम्रा परम्परागत रीति, थितिलाई विदेशीको संस्कृति सँग जोडेर तडकभडक पूर्ण बनाएका छौँ । सुदूर-कर्णालीका संस्कृतिहरूमा र परम्परागत रीति, थितिमा के कस्ता परिवर्तनहरू आएका छन् यो प्रस्तुत गर्नु सान्दर्भिक एवम् वस्तुपरक हुनेछ ।
सुदूर-कर्णालीका प्रमुख चाडपर्व र मान्ने शैलीमा आएका परिवर्तनहरू;
१). नयाँ वर्ष:
नयाँ वर्षलाई सुदूर पश्चिम तथा कर्णालीमा चाडकै रूपमा मनाउने गरिन्छ । उसो त नेपाल भरी नै नेपाली नयाँ वर्षलाई विभिन्न कार्यक्रमहरू गरेर मनाउने गरिन्छ । नयाँ वर्षमा नयाँ लुगा लगाउने, खसी बोका काटेर मासु खाने तथा नयाँ वर्षको दिन कसैसँग पनि झैझगडा नगरी हाँसिखुसी क्षमता अनुसार मिष्टान्न भोजन गरेर दिन बिताउने गरिन्छ । नयाँ वर्षको दिनमा मीठो खायो भने, राम्रो लायो भने, हाँसिखुसि रह्यो भने वर्ष भरी नै सुखद हुने मान्यता रहिआएको छ ।
नेपाली नयाँ वर्षलाई धूमधाम सँग मनाउने प्रचलन परम्परागत भए पनि पछिल्लो समय कर्णाली तथा सुदूर पश्चिममा अङ्ग्रेजी नयाँ वर्षलाई पनि मनाउने चलन बढ्दै गएको छ । नेपाली नयाँ वर्षलाई मात्रै चिनेका कर्णाली तथा सुदूर पश्चिमका बुढा-पुरानाहरूले पनि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली नयाँ वर्ष जत्तिकै उत्साहका साथ मनाउँदा नेपालमा चाडको सङ्ख्या बढेको भान हुन्छ ।
२). साउने सङ्क्रान्ति
वर्षाभरी रोपाई गरेर रोपाई सकिएपछि हिलो पखालेर, वर्षामा लागेको लुतो फाल्ने तथा फोहोर पखाल्ने सङ्क्रान्तिको रूपमा साउने सङ्क्रान्तिलाई लिइन्छ । साउने सङ्क्रान्तिको दिनमा घर-घरमा आगोका राँकोहरू जलाएर, कुपिन्ना तथा अमिलाको खुट्टा बनाएर खसी, बोका र राँगोको रूपमा बलि दिएर लुतो फाल्ने गरिन्छ । एक गाउँकाले अर्को गाउँकालाई ठूलो स्वरमा ‘लुतो लैजाऊ’ भनेर पुकारा गरिन्छ । एकैपटक सबैले तुलो फाल्दा, कुपिन्ना र अमिलोको बलि दिँदा निकै रमाइलो हुने गर्दछ । तर, पछिल्लो पटक कर्णाली तथा सुदूर-पश्चिममा यो पर्व मान्ने चलन हराउँदै गएको छ । कर्णाली प्रदेश र सुदूर पश्चिमका केही जिल्ला बाहेक अरू ठाउँमा यो पर्व नाम मात्रैमा सीमित रहेको छ ।
३). रक्षाबन्धन(राखी):
भारत, नेपाल लगायत हिन्दु धर्म मान्ने देशमा राखी बान्ने अथवा रक्षाबन्धनलाई परम्परागत रूपमा विशेष रूपमा मान्दै आएको तथ्य सर्वविदितै छ । यहीँ संस्कृतिलाई सुदूर-कर्णालीमा फरक ढङ्गले मान्ने गरिन्थ्यो । भारत तथा नेपालको तराई र सहरी क्षेत्रमा रक्षाबन्धनमा बहिनिले दाजुभाइलाई राखी बानी मिठाई दिने र दाजुभाइले बहिनिलाई आफ्नो क्षमता अनुसारको दक्षिणा दिने प्रचलन रहेता पनि सुदूर-पश्चिम तथा कर्णालीमा भने दिदीबहिनीले दाजुभाइलाई राखी नबाँनेर बाहुनहरूले आफ्ना जजमानलाई घर-घरमा गएर राखी बान्ने प्रचलन रहेको थियो ।
कर्णाली र सुदूर-पश्चिममा रक्षाबन्धनलाई भारत तथा नेपालको सहरी क्षेत्र र तराई क्षेत्रको जस्तो धूमधामको रूपमा मनाइँदैन थियो तर पछिल्लो समय कर्णाली र सुदूर पश्चिममा पनि अन्य क्षेत्र जस्तै रक्षाबन्धनलाई धूमधामका साथ मनाउने, बहिनीहरूले दाजुभाइलाई राखी बानेर मिठाईहरू दिने र दाजुभाइले दिदिबहिनीहरुलाई दक्षिणा दिने चलन सुरु भएको छ । अहिले पनि कतिपय कर्णालीका जिल्लामा बाहुन द्वारा जजमानहरूले राखी बान्ने चलन कायम नै रहेको छ ।
राँगाको बलि चढाइसकेपछि दिनभरि नचाएका तरबारहरूलाई कालीलाई बलि दिएको राँगाको रगतमा चोपिन्छ । मौलो हान्ने दिन सबैजसो ठाउँमा ठुलै मेला लागेको हुन्छ ।
४). हरितालिका तिज:
हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजको आफ्नै कथन र विशेषताहरू छन् । नेपाल तथा देश विदेशका हिन्दु महिलाहरूले तिजलाई ‘भव्यतव्य’ रूपमा मनाउँदै आएका छन् । बेला-बेलामा तिजको सांस्कृतिक चालचलनमा आएका विकृतिलाई लिएर ठुलै रूपमा बहस समेत हुने गरेको छ । यस्तै विकृति कर्णाली र सुदूर पश्चिममा हुने तिजका कार्यक्रममा पनि देखिन थालेका छन् ।
आफ्ना पारिवारिक र सामाजिक दुख व्यथालाई गीतको भाकामा प्रस्तुत गरि आफ्ना बह खोल्ने र दिदीबहिनीहरू भेटघाट गरि नाच्दै गाउँदै रमाइलो गरि पानी नै नखाई व्रत बस्ने तिजको रूप परिवर्तन भएको छ । आजभोलि तिजमा दर खाने नाममा विभिन्न उग्र र तडकभडक पूर्ण गतिविधिहरू हुने गरेका छन् । अधिकांश महिलाहरूले मदले मात्तिएर विदेशी गीतमा आफूलाई व्यस्त बनाएका दृश्य पनि तिजको वरपर प्रशस्तै मात्रामा देखिन थालेका छन् । यसले गर्दा नेपाली परम्परागत तिजको रौनकलाई पूर्णविराम लगाई दिएर नयाँ विकृत पूर्ण संस्कृतिको विकास गरेको छ ।
५). बडा दशैं :
नेपालीहरूको महान् चाड बडा दशैंलाई नेपालभरि नै मानिने भएता पनि सुदूर पश्चिम र कर्णालीमा बडा दशैंलाई भिन्न तरिकाले मानिने गरिँदै आइएको छ । घटस्थापनाको दिनमा जमरा राखेर आफू भन्दा ठुला बडाबाट टीका थाप्ने प्रचलन नेपाल भरी भएको र यो नै दशैंको मुख्य विशेषता भए पनि दशैंलाई ठाउँ र भूगोल अनुसार भिन्नाभिन्नै रूपमा मनाइन्छ ।
कर्णाली र सुदूर पश्चिमको दशैं विशेष रूपमा अन्य क्षेत्रको दशैं भन्दा भिन्दै छ । सुदूर- कर्णालीका सबैजसो जिल्लामा घटस्थापनाको दिनमा जमरा राखिसकेपछि दुर्गाभवानीको नौ दिनसम्म व्रत गरि परम्परागत नेपाली बाजा दमाई बजाएर बिहान बेलुका पूजा गरिन्छ र आठौँ दिन अर्थात् महाअष्टमीको दिनमा महाकालीको धूमधामसँग पूजा गरि बोकाको बलिदिएर कालरात्रि मनाइन्छ ।
मौलो हान्ने प्रचलन;
घटस्थापनाको ‘नौउँ’ दिन मौलो हान्ने प्रचलन कर्णाली तथा सुदूर पश्चिमका सबैजसो जिल्लामा रहेको छ । मौलो हान्दा कालीलाई बलि दिनको लागि ठुला-ठुला उमेर पुगेका राँगाहरूलाई अगाडि लगाएर, घर-घरबाट जमरा लगेर ‘सरम (तलवार नाँच)’ खेल्दै गाउँभरी राँगालाई घुमाईसकेपछि कालिका मन्दिरमा लगेर राँगालाई बलि चढाउने गरिन्छ । राँगाको बलि चढाइसकेपछि दिनभरि नचाएका तरबारहरूलाई कालीलाई बलि दिएको राँगाको रगतमा चोपिन्छ । मौलो हान्ने दिन सबैजसो ठाउँमा ठुलै मेला लागेको हुन्छ । तर पछिल्लो पटक बाजागाजा बजाएर सरम खेलेर मौलो हान्ने प्रचलनलाई प्रक्रिया मात्र पूरा गरेर मौलो हान्ने गरिएको छ । मौलो हान्नु अघि देखाइने विभिन्न तरबार नाचका (सरमका)कलाकौशलहरू लोप हुने अवस्थामा पुगिसकेका छन् । यसरी परम्परागत सुदूर-कर्णालीका कलाकौशल र पहिचानका आधारहरू लोप हुँदै जाँदा बुढा पुरानाहरू गुनासो व्यक्त गर्दछन् नयाँ वर्ग सँग । मौलो हान्नु अघि देखाइने विभिन्न तरबार नाचहरू अब बुढा-पुरानामा सीमित छन् ।
६). तिहार:
जसरी अन्य क्षेत्रको भन्दा बडादशैंलाई सुदूर-कर्णालीमा फरक रूपमा मानिन्छ त्यसैगरी तिहारलाई पनि सुदूर-कर्णालीमा फरक रूपमा मानिन्छ । सुदूर पश्चिम र कर्णालीमा तिहार वरपर विभिन्न मेलाहरू लाग्ने गर्दछन् । नेपाल भरिनै तिहारलाई हाँसिखुसी र मनोरञ्जनात्मक रूपमा विभिन्न देउसी भैलो खेलेर मनाइने भएता पनि कर्णाली र सुदूर पश्चिमका सबैजसो जिल्लामा चर्तुदशिको दिनमा आगोका राँकोहरू बालेर बाजागाजा बजाएर रातभरि नै ‘भुवाखाडामा (भोसो खेल्ने गडा अर्थात् ठाउँ ) भोसो खेल्ने’ गरिन्छ ।
भोसो विशेष गरेर क्षेत्री परिवारको घरबाट सुरु हुन्छ र त्यसमा सबै वर्गको उत्साह पूर्ण सहभागिता रहन्छ । मदले मात्तिएका भोसो खेल्नेहरू रातभरि भट्याउदै आँगाको राँको हातमा लिएर बाजागाजाको तालमा रातभरि भुवाखाडामा भोसो खेल्छन् र बिहान पख्ख भुवाखाडा भन्दा केही टाढासम्म भोसो खेल्दै गएर भोसो सेलाउने काम भएपछि फेरि अघि भोसो खेलेकै ठाउँमा आएर बाजागाजाको तालमा भट्याउदै भैली खेलिन्छ।
भैली खेलेर समापन भएपछि सबै जनाले सामूहिक रूपमा तास (काट) खेल्ने प्रचलन रहेको छ । भोसो खेलिसकेपछि तास (काट) सुरु हुने र तिहारको दिनसम्म तास खेल्नु पर्छ भन्ने प्रचलन पनि रही आएको छ । यति मात्रै होइन भोसो खेल्नका लागि भुवाखाडामा बालिएको धुनिमा रक्षाबन्धको बेला बाँधिएको राखिलाई चुटालेर आगोमा फालिन्छ । रक्षाबन्धनमा बाँधिएको राखिलाई भोसो खेल्ने समयसम्म राख्नु पर्छ भन्ने प्रचलन पनि रहिआएको छ । भोसोको दिन देखि चिसो सुरु हुन्छ भन्ने मान्यता पनि रहेको छ । क्षेत्री परिवारको भोसो सकिएपछि तिहारको दिनको साँझ बाजागाजा सहित फेरि भैली सुरु हुन्छ र भैलिलाई पनि रातभरि खेलेर उत्साहपूर्वक बिदाइ गरिन्छ तर पछिल्लो समय नयाँ वर्गले यस्ता सांस्कृतिक प्रचलनको संरक्षणमा जोड नदिँदा र नयाँ वर्गको उदासीनताले यस्ता परम्पराहरू लोपोन्मुख अवस्थामा पुगेका छन् ।
पुसको अन्तिम दिनमा विभिन्न परिकारहरू (तरुल, सखरखण्ड, सेलरोटी, अर्सा आदि) बनाएर माघको बिहान रातभरि मुढा तापेर नुहाई वरी राता अक्षताका टीका लगाएर मिष्टान्न परिकारहरू खाने गरिन्छ ।
७). माघे सङ्क्रान्ति:
“पुसमा पाक्य माघमा खाक्य” भन्ने उखानले माघे सङ्क्रान्तिमा खाइने परिकारलाई जोडदार रूपमा उठान गर्दछ । थारु जाति लगायत नेपालभरी नै विभिन्न कार्यक्रम गरेर माघे सङ्क्रान्ति मनाउने भएता पनि कर्णाली र सुदूर पश्चिमका सबैजसो जिल्लामा माघे सङ्क्रान्तिलाई विशेष र फरक रूपमा मनाइन्छ ।
पुसको अन्तिम दिनमा विभिन्न परिकारहरू (तरुल, सखरखण्ड, सेलरोटी, अर्सा आदि) बनाएर माघको बिहान रातभरि मुढा तापेर नुहाई वरी राता अक्षताका टीका लगाएर मिष्टान्न परिकारहरू खाने गरिन्छ । भोसो लगत्तै सुरु भएको चिसो ‘पुसको अन्तिम दिनमा मुढा बालेर रातभरि ताप्यो भने चिसो हट्छ’ भन्ने मान्यता चलिआएको छ ।
रातभरि मुढा तापेकाहरु बिहानीको भोरसँगै चिसो पानीले चिसो नै नभएझैँ गरि नुहाउँछन् र फेरि मुढा ताप्छन् । माघे सङ्क्रान्तिको दिन नुहायो भने चिसो हट्ने मान्यताका कारण केटाकेटी देखि बुढाबुढी सम्मले नुहाउने प्रचलन रहेको छ । पछिल्लो समय विकसित मान्यता र वैदेशीक संस्कृतिको बढ्दो प्रभावले माघे सङ्क्रान्तिलाई पनि अछुतो राखेको छैन । माघे सङ्क्रान्ति पनि एकादेशको कथा हुन बेर लाग्ने छैन, यदि नयाँ वर्गले यसको संरक्षण र निरन्तरतामा ध्यान नदिने हो भने ।
८). चैते दशैं:
अन्य चाड जस्तै चैते दशैंलाई पनि बडा दशैं जत्तिकै मान्ने प्रचलन सुदूर-पश्चिम र कर्णालीका जिल्लाहरूमा रहेको छ । बडादशैं जस्तै सकेकाहरूले घर-घरमा खसी बोका काटेर, मिष्टान्न परिकाहरू बनाएर, रमाइलो गरेर दशैं मान्ने गर्दछन् । कर्णाली भन्दा अझ विशेष रूपमा सुदूर पश्चिममा चैते दशैंलाई मान्ने प्रचलन रहेको छ । विभिन्न झाँकीहरू प्रदर्शन गरेर, मेलाहरू लगाएर सुदूर-पश्चिममा चैते दशैं मनाइन्छ भनेर कर्णालीमा पनि चैते दशैंको दिन सबै कामलाई थाती राखेर उत्साहका साथ चैते दशैं मनाउने प्रचलन रहेको छ । चैते दशैं पनि अन्य चाड जस्तै उपेक्षामा परेको छ । यसको परम्परागत अस्तित्व कायम राख्नु हामी सुदूर-कर्णालीवासीको ठूलो जिम्मेवारी हो ।
अन्य परिवर्तित र लोपोन्मुख संस्कृतिहरू:
सुदूर-कर्णालीले विभिन्न संस्कृतिलाई आफू भित्र सँगालिरहेको सन्दर्भ मैले माथि नै भनिसकेको छु । समयको गति र आधुनिकतावादको आगमनसँगै सुदूर-कर्णालीका संस्कृतिमा विचलन आएको पनि मैले माथि नै उल्लेख गरि सकेको छु । माथि उल्लेख गरेका बाहेक सुदूर-कर्णालीमा पुजिने विभिन्न देवीदेवताहरूको पूजामा पनि बिस्तारै परिवर्तनहरू देखा परेका छन् ।
देवीदेवताहरूको पूजामा सुदूर-कर्णालीवासीहरूले आफूलाई दूर राख्दै गएको महसुस हुने गरेको छ । सुदूर-कर्णालीमा पुजिने विभिन्न देवीदेवताहरूलाई सुदूर-कर्णालीवासी बाटै उपेक्षा हुन थालेको छ । त्यसैगरी पछिल्लो समय सुदूर-कर्णालीका बुढापाकाहरूले चिन्दै नचिनेका र जिन्दगी भरी नमनाएको जन्मदिन मनाउने प्रचलन तीव्र रूपमा बढिरहेको छ । जन्म दिन मनाउन डिजेमा देशी तथा विदेशी गीतमा नाच्ने प्रचलन पनि बढिरहेको छ । यति मात्रै होइन कर्णाली तथा सुदूर- पश्चिममा परम्परागत रूपमा हुँदै आएका बिहे-व्रतवन्धमा पनि परिवर्तन आएका छन् । केही वर्ष अघि सम्म दाइजो बेगर हुने गरेका बिहेहरू पछिल्लो समय अप्रत्यक्ष रूपमा दाइजो बेगर हुन नसक्ने अवस्थामा पुगिसकेका छन् । रत्यौली वेग हुन नसक्ने बिहेहरू अहिले डिजेको तालमा हुने गरेका छन् । केही नकारात्मक प्रभावसँगै सुदूर-कर्णालीमा सकारात्मक प्रभाव पनि पर्दै गएका छन् । सुदूर- कर्णालीमा विकराल रूपमा रहेका छुवाछूत, छाउपडी प्रथामा कमी आएको छ भने बालविवाह र बहुविवाह पनि ह्वात्तै घटेको छ ।
यसरी समयको गतिसँगै आफ्नो स्वरूपमा परिवर्तन ल्याएका हाम्रा परम्परागत धर्म, संस्कृति र हाम्रा प्रथा, प्रचलन र भेषभूषामा आएका विकृत परिवर्तनलाई रोक्ने तर्फ युवा वर्ग, सरकारी पक्ष र जिम्मेवार निकाय लाग्ने होइन भने सुदूर-कर्णालीबाट लोप हुने अवस्थामा पुगि सकेका र अहिलेसम्म केही साख मात्रै भए पनि जीवित नेपाली संस्कृतिहरूको अवसान हुने निश्चित छ । त्यसैले बेलैमा यसको संरक्षण तर्फ सबैको ध्यान जान जरुरी छ ।
(ब्यानरमा प्रयोग गरिएको फोटो कर्णाली आर्ट सेन्टरबाट प्राप्त भएको हो- सम्पादक )