म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर)। प्रकृति र अध्यात्मको दोभान। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा । मोहितै तुल्याउने सौन्दर्य । डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन् । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुन्छ । बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीले अति राम्रा देखिन्छन् हिमालहरू ।
टोड्केको रोमान्टिक वातावरणमा तन र मन रिचार्ज हुन्छ । ऊर्जा बढ्छ । हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ । बर्सात्मा भुइँकुहिरोले लुकामारी खेल्छ । जमिन भुइँफूलले रंगीन बन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्छ । फागुन–चैतमा लालीगुराँसको बैंस चढ्छ । त्यतिबेला मन उज्यालो बन्छ ।
टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ । आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ । पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ । टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ । स्वर्गद्वारी महाप्रभु लगायत धेरैले यहाँ तपस्या गरेका थिए । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ ।
बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के । टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन् । पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । मगर बाहुल्य गाउँमा होमस्टे सुविधा पाइन्छ ।
पहिलापहिला टोड्केमा झीँ र पूर्णगाउँको गाईगोठ राखिन्थ्यो । आलु र मुला खेती गरिन्थ्यो । डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ । टोड्केको अर्थ प्वाल हो । जंगलमा ५० मिटर लामो सुरुङ छ । त्यो प्वालमा गाईवस्तु अड्किन्थे । तिनलाई बाघभालुले खाइदिन्थे । गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो ।
डाँडामा दुई रात बसेर रमाउन सकिन्छ । मधुमास मनाउन टोड्के उत्तम गन्तव्य बन्न सक्छ । त्यसैले डाँडालाई ‘हनिमुन डेस्टिनेशन’का रूपमा ब्राण्डिङ गर्ने कि ? टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो । आज यहाँ एउटा रिसोर्ट खुलेको छ । भोलि अरू पनि खुल्नेछन् । टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँको पनि कायाकल्प हुनेछ । त्यसैले बेनीदेखि टोड्के जोड्ने सडक कालोपत्रे गरिहाल्नुपर्ने देखिन्छ ।
टोड्केको थाप्लोमा तपोवन शिवालय संन्यास आश्रम छ । आश्रममा मन्दिर, गाईगोठ र सन्त निवास छन् । यहाँ नित्य शिव पाञ्चायनको पूजा गरिन्छ । शिवलिंग, त्रिशूल, खराउ लगायतलाई पूजिन्छ । शिवालयमा साउन महिनामा गाउँलेले रुद्री पूजा लगाउँछन् । राम नवमीमा हवन गरिन्छ ।
शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । यहाँको खराउ स्वर्गद्वारी महाप्रभुको भएको मानिन्छ । विसं १९१६ मा रोल्पाको रुम्टीमा जन्मेका महाप्रभु २० वर्षको उमेरमा जन्मस्थलबाट हराए । विभिन्न ठाउँमा ध्यान र तपस्यामा बसेर उनी ३५ वर्षको उमेरमा गाउँ फर्के । त्यो बीचमा टोड्केमा बसेर उनले साधना गरेका थिए ।
विसं १९६० को दशकदेखि टोड्केमा महाप्रभुका शिष्यले योग तथा ध्यान गर्दै आएका छन् । यहाँ विसं १९७० को दशकबाट महात्माहरू स्थायी रूपमा बस्न थालेका हुन् । महाप्रभुका शिष्य थन्थापे महाराज (महेश्वरानन्द गिरि) र त्रिशूली महाराज (परमानन्द गिरि)को तपस्थल पनि टोड्के हो । तिनै थन्थापेले विसं १९७० को दशकमा कुटी र शिवालय स्थापना गरेका । शिवालयका नाउँमा १५ रोपनी जमिन छ । स्वर्गद्वारी आश्रमका आध्यात्मिक चिन्तक ध्रुुवश्रीका अनुसार टोड्केमा मन्दिर बनाउने योजना छ । अनि त्यहाँ महाप्रभु र उनका दुई शिष्यहरू पूजारी महाराज र रखाल महाराजका मूर्ति पनि राखिनेछ ।
दुवै शिष्य स्वर्गद्वारी महाप्रभु समान सिद्ध थिए । उनलाई थन्थापे र त्रिशूली महाराजले पनि गुरुतुल्य मान्थे । हाल आश्रममा एक बाबा र उनका सहयोगी बस्छन् । गाई पनि पालिएको छ । जीवनशैली टोड्के क्षेत्रमा ग्रामीण सौन्दर्यको सुवास पाइन्छ । गाउँहरूमा मगर, क्षेत्री, बाहुन र दलित समुदायको संस्कृति पाइन्छ । गाउँको जीवनशैली कृषिकर्म र पशुपालनमा केन्द्रित छ । ढुंगा, माटो र काठबाट बनेका परम्परागत शैलीका घर छन् । कतैकतै घुमाउने घर पनि देखिन्छ । गाउँहरूमा जौ, उवा, कोदो, मकै, आलु र सागसब्जी उत्पादन गरिन्छ । गाउँमा गाइभैंसी दुहेको, ठेकीमा मोही पारेको, खेतीपाती गरेको, ढिकीजाँतो चलाएको, डोको, स्याखु, भकारी र नाम्ला बुनेको, भेडाबाख्रा पालन गरेको, ठेकी बुनेको, मौरीपालन गरेको, भांग्रा र झोला बुनेको दृश्य सामान्य हुन् ।
गाउँलेहरू आत्मीय छन् । पाहुनाको सत्कार गर्छन् । धूमधामसँग चाडपर्व मनाउँछन् । उनीहरूले परम्परागत नाचगान संरक्षण गरेका छन् ।
टोड्के क्षेत्रका मगरको आफ्नै संस्कृति छ । उनीहरूको पुख्र्यौली (सोरठी) नाचले जीवनशैली, संस्कार र संस्कृति झल्काउँछ । यस लोकनाचमा मादल र झ्याली बाजा बजाइन्छ । पुरुष नै महिलाको भेषमा हुन्छन् । महिलाको भेषमा नाच्नेलाई ‘मारुनी’ भनिन्छ भने मादल बजाउनेलाई ‘मादले’ ।
रमाइलो गर्न पुख्र्यौली नाचिन्छ । खासमा पुख्र्यौली नाचमा गाइने गीतले मगर सभ्यताको अलिखित इतिहास बोकेको हुन्छ । यसमा राजारानी, करबाकेली बाबा, पुर्खाहरू, जीवनशैली, प्राचीन गाउँ, वनजंगल, खोलानाला, पशुपन्छी, वन्यजन्तु आदिको वर्णन गरिन्छ ।
विवाह, व्रतबन्ध, भोजभतेर, भूमे पूजा आदिमा पुख्र्यौली नाच्ने चलन छ । अचेल पाहुनाको माग अनुसार टोड्केका काखमा रहेका गाउँ र टोड्के हिल रिसोर्टमा पुख्र्यौली नाच देखाइन्छ ।
बेनीबाट हिँडेर टोड्के पुग्ने पदमार्गलाई ‘टोड्के ट्रेल’ भनिन्छ । बेनीको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के पुगिन्छ । स्थानीय पथप्रदर्शकको सहयोगमा पदयात्रा गर्नु बुद्धिमानी हुनेछ । बेनी–टोड्के १४ किमि पदयात्रा गर्न करीब ८ घन्टा लाग्छ । पदमार्ग क्षेत्रको पुलाश्रममा शिवालय छन् । पुलाश्रम लंकापति रावणको जन्मथलो मानिन्छ । रामायणअनुसार पुलस्त्य ऋषिका नाति हुन्, रावण । पुलस्त्यले यहाँ तपस्या गरेका थिए । उनले रावणसहित नाति–नातिना विभीषण, कुम्भकर्ण र शुपर्णखालाई यहीँको आश्रममा हुर्काए । उनीहरू आश्रम क्षेत्रमै जन्मेको विश्वास गरिन्छ ।
पुलाश्रम मास्तिर घतान छ । घतानमाथि ढोलथान । ढोलथान चौबिसे राज्य पर्वत राज्यको बर्से राजधानी थियो । हाल यहाँ दरबारका भग्नावशेष छन् । ढोलथानमा ठकुरी बस्ती पनि छ । ढोलथानबाट हिमालको दृश्य पनि देखिन्छ ।
ढोलथान मास्तिर केभहिल छ । केभहिल हिमाली सौन्दर्यका लागि प्रख्यात छ । यहाँ भ्यूटावर बनाइएको छ । केभहिलको काखमा शिखर शैलीको आकर्षक जगन्नाथ मन्दिर छ ।
केभहिलभन्दा माथि ४ घन्टाको बाटोमा वस्ती छैन । त्यसैले आवश्यक खाना बोकेर हिँड्नुपर्छ । चराको चिर्बिर र जंगली जनावरको आवाज सुन्दै गुराँसे जंगल छिचोल्दै टोड्के पुग्दा आनन्द मिल्छ ।
मालिकाधुरी (३,३५० मिटर)मा एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको । त्रिदेवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ । गणेशको पूजापछि क्रमशः कालिका, मालिका र जालिका(जाल्पादेवी)को पूजा गरिन्छ । मालिकालाई सम्झेर जे भाकल ग¥यो त्यो पूरा हुन्छ । कोही वैदेशिक रोजगारीमा जान पाइयोस् भनेर भाक्छन् । धेरैजसो सन्तान प्राप्ति, समृद्धि र निरोगीताको कामना गर्छन् । उनीहरू भाकल पूरा भएपछि मन्दिरमा पुग्छन् ।
मालिकामा वर्षका तीन पटक वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकामा मेला लाग्छ । हजारौं भक्तजन मेला भर्छन् । तीर्थालुहरू कालिकालाई बोका, परेवा, पाठी र नरिवल चढाउँछन् । मालिका र जालिकालाई ध्वजा, अक्षता र धूपबत्ती चढाउँछन् ।
मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । कथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ ।
मालिका गाउँपालिका–७, म्याग्दीमा पर्छ मालिकाधुरी । यस क्षेत्रको विकासमा मालिका क्षेत्र विकास समिति क्रियाशील छ । यस पावन भूमिबाट हिमालको सुन्दर दृश्य पनि देखिन्छ । चुरेन, धौलागिरि, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कन देख्दा मनमा ऊर्जा बढ्छ ।
टोड्केबाट मालिकाधुरीको पदयात्रा रोचक बन्छ । पदयात्रा दूरी ९ किमि मात्र हो, उकालो भएकाले मालिका पुग्न ६ घन्टा लाग्छ । टोड्के मास्तिर मालिकासम्म कुनै वस्ती छैन । त्यसैले आवश्यक पानी र खानेकुरा बोकेर पदयात्रा गर्नुपर्छ । मालिका पुगेर टोड्के फर्कन ५ घन्टा लाग्छ। मालिकाबाट अर्कोतिर विम गाउँसम्म पनि पदयात्रा गर्न सकिन्छ, त्यहाँ पुग्न पनि ५ घन्टा नै लाग्छ ।
बेनी बजारबाट ९ किमि पश्चिम म्याग्दी खोलाको किनारमा सिंगा तातोपानी कुण्ड छ । प्राकृतिक कुण्डमा पानीको तापक्रम ४५ देखि ४८ डिग्रीसम्म हुन्छ । पानीको मूलमा चाहिँ ५४ देखि ५७ डिग्री सेल्सियससम्म हुन्छ ।
तातोपानीमा हुने गन्धक एन्टिबायोटिक मानिन्छ । यस्तो कुण्डमा डुबुल्की मार्दा श्वासप्रश्वास, रक्तसञ्चार र नसाको चाल सजिलो हुन्छ । विशेषतः ग्यास्टिक, ढाडको दुखाइ, बाथ, नसा च्यापिएको र चोटपटकको दुखाइमा आराम मिल्छ ।
मंसिरदेखि चैतसम्म तातोपानी कुण्डमा मेला लाग्छ। त्यहाँ दुइटा कुण्ड छन् । ठूलोमा ३०० जना अटाउँछन् भने सानोमा २० जना । तातोपानीमा घाँटीसम्म मात्र डुबाउनुपर्छ । टाउको डुबाउनु हुन्न । अर्को कुरा, क्षयरोगी, जन्डिस, ब्लड प्रेसर हाइ र महिनावारी भएकाले डुब्नु हुँदैन ।
खाना र बासका लागि तातोपानी क्षेत्रमा होटल र होमस्टे सुविधा छ ।
कालीगण्डकी किनारको गलेश्वरधाम श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । कथाअनुसार श्रीमहादेवले मृत सतीदेवीलाई बोकेर कालीगण्डकी किनारैकिनार हिमालय पर्वततिर जाँदा उनको गला पतन भएको ठाउँमा ज्योर्तिलिंगेश्वर महादेव उत्पन्न भए । सतीदेवीको गला पतन भएर महादेव उत्पन्न भएकाले गलेश्वर भनिएको । कालीगण्डकी नदीमा नुहाएर गलेश्वरको दर्शन गरेमा मोक्ष प्राप्त हुने हिन्दू समुदायको विश्वास छ ।
अचम्मको कुरा, नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै गोलाकार चक्रशिलामा गलेश्वर मन्दिर छ । प्यागोडा शैलीको शिवालयमा दुइटा छाना छन् । मन्दिरभित्र प्राकृतिक शिवलिंग, त्रिशूल, घण्ट आदि छन् । बाहिर चक्रशिलामाथि लक्ष्मी–नारायण, पाञ्चायन, १०८ शिवलिंग, यज्ञमण्डप, बुढानिलकण्ठ, हवनकुण्ड, राधाकृष्ण, जडभरतका मूर्ति लगायत मठमन्दिर छन् ।
शिवालय क्षेत्र ६० रोपनीमा फैलिएको छ । यहाँ वृद्धाश्रम, धर्मशाला, पाहुनाघर, संस्कृत विद्यालय, गौशाला, पुस्तकालय, बगैंचा लगायत सम्पदा छन् । गलेश्वरधामको व्यवस्थापन गलेश्वर शिवालय क्षेत्र विकास कोषले गर्दै आएको छ ।
यहाँ वर्षैभरि रुद्राभिषेक, पाठपूजा, भाकलअनुसारका यज्ञ गरिन्छ । विशेषत: साउने सोमबार, बालाचर्तुदशी र महाशिवरात्रिमा भव्य मेला लाग्छ । गलेश्वर दर्शन गरेर मुक्तिनाथ जाने चलन छ । बेनी बजारबाट ३ किमि उत्तर मुक्तिनाथ जाने सडकसँगै गलेश्वरधाम छ ।
बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो । कालीगण्डकी नदी र म्याग्दी खोलाको किनारमा उत्तरपश्चिम फैलिएको छ बेनी बजार । मिश्रित जातिको साझा फूलबारी बेनीमा क्षेत्री, मगर, नेवार, छन्त्याल, बाहुन, विक, थकाली लगायत जातजातिको बसोबास छ ।
बेनी आफैंमा पर्यटकीय गन्तव्य हो । बेनी नगरपालिका क्षेत्रमा ढोलथान, कोट भण्डार, सिंगा तातोपानी कुण्ड, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, टोड्के लगायत सम्पदा छन् । धार्मिक सम्पदाहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी चैत्य, नवदुर्गा मन्दिर, भद्रिवम शिवालय, पुलत्स्य पुलाश्रम र लक्ष्मीनारायण मन्दिर लगायत छन् ।
बेनी बजार मुक्तिनाथ, लो–मन्थाङ, धौलागिरि पदमार्ग, ढोरपाटन, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग र गुरिल्ला पदमार्गको प्रवेशद्वार पनि हो । बजारमा पर्यटकीय सुविधाका होटल तथा रेष्टुराँ छन् ।
कतै घुमेर फर्कनुअघि परिवार र इष्टमित्रका लागि कोसेली किन्नुपर्छ । मुला र आलुका लागि टोड्के प्रख्यात छ । टोड्केहिल रिसोर्ट र बेनी बजारमा अर्गानिक परिकार र हस्तकलाका सामाग्री पाइन्छ । त्यहाँ फापर, कोदो र मकैको पीठो, सिमी, मास, भटमास, बोडी, मुरली मकै लगायत गेडागुडी पाइन्छ । त्यस्तै टिम्मुर, भाँगो, मह, स्याउको जुस, ब्राण्डी, स्याउ, ओखर, स्याउको सुकुटी, गुन्द्रुक, च्याउको सुकुटी, चुक अमिलो, तोरीको तेल, जिम्बु, बेसार, सातु, बदाम पनि पाइन्छ । साथै अल्लोबाट बनेका कपडा पनि किन्न सकिन्छ ।
काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट । पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा । बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ किमि । केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ ।
रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ किमि ।
रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ किमि ।
रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि ।
रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ किमि ।
रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ किमि ।