सोमबार , जेठ १४, २०८१

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

image

कतिपयलाई विभिन्न समयमा लाग्दो हो, दैनिक जीवनको हलचल र कोलाहल वातावरणबाट केही दिन, केही समय टाढै बसौँ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना सबैको हुन्छ ।

शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ । फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ । जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।

सिम्बुकमा होटल छैनन् । तर शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन् । परम्परागत शैलीमा बनेका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ उति नै उनीहरुको जातीय स्वागत सत्कारले हर्षित बनाउँछ । शेर्पा तथा भोटे समुदायले पुगेका पाहुनालाई खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् (सोज्या) पटक पटक थपेर खुवाउँछन् । ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटी लगायतका शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ ।

यस्तै उक्त समुदायमै प्रचलनमा रहेको (धुन्ज्याङ) अर्थात् परम्परागत नाचगान र खानपान सहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ । धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ । सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा सुरु हुन्छ । सिम्बुकका प्रायः मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ । सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पुर्याई दिन्छन् ।

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झैँ लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभाष हुने गर्छ ।

सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्रायः पाटीपौवा भेटिन्छन् । तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ । दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ । दिनभर चरन क्षेत्रमा घुमेर गोठ नजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ आफूलाई नै स्वागत गर्न उभिएका होलान् । याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन् । तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन् ।

करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन् । सुनपोखरी, लामपोखरी, कुहिने पोखरी अर्थात् (छ्योथाङ्गा), हाँस पोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ । पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ । यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन् । हिमाली क्षेत्रमा पाइने धुपी सल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त छँदैछ । तिनै पशुपालकले यार्सागुम्बा सङ्कलनको अनुभवसमेत सुनाउँछन् । सुनपोखरीबाट लाम पोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्रसमेत नियाल्न पाइन्छ । पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो ।

पापुङका उच्च क्षेत्रहरु पोखरीले भरीभराउ छन् । जति जति घुम्यो उति नै सानाठूला पोखरीको अवलोक गर्न पाइने स्थानीय बताउँछन् । सोदु पोखरी र भूत पोखरी पनि पापुङमै अवस्थित छन् । सयजरा, जटामसी, बिखमा, यार्सागुम्बा लगायतका जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन् । लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला जान सकिन्छ । लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ । यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।

प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवद्र्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ । यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ ।

सम्बन्धित समाचार