काठमाडौं । कोरोना महामारी शान्त हुन थालेसँगै पर्यटन क्षेत्र पनि गतिशील बन्न थालेको छ । विश्वभर पर्यटकीय गतिविधिहरू बढ्न थालेका छन् । नेपाल भित्रिने पर्यटकको संख्या पनि बढ्न थालेका छन् । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् ।
समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ ।