बिहिबार , अषोज ८, २०८३

दुई दर्जन पर्यटक सम्पर्कविहीन

image

काठमाडौं । हिमाली क्षेत्र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा समस्यामा परेका पर्यटकहरूको उद्धार भइरहेको छ । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पदयात्रामा पर्यटक बीचबाटोमै अलपत्र परेका हुन् । पर्यटन व्यवसायीका अनुसार विभिन्न क्षेत्रमा गएका करिब दुई दर्जन पर्यटक सम्पर्कविहीन अवस्थामा छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र एकाइ कार्यालय मुस्ताङका कार्यालय प्रमुख अशोक सुवेदीले धौलागिरि बेस क्याम्प पुगेका पर्यटकहरूको उद्धार कार्य भइरहेको जानकारी दिए ।

“समस्यमा परेकाको उद्धार भइरहेको छ, कार्य भइरहेको छ,’’ उनले भने । जोमसोममा ठाउँठाउँमा गएको पहिरोले पनि पर्यटकलाई असहज बनाएको उनको भनाइ छ । सुवेदीले पहिरोकै कारण पर्यटक अलपत्र भने नपरेको बताए ।

दशैँअघि करिब सात सय पर्यटक विभिन्न कम्पनीमार्फत पश्चिम हिमाली क्षेत्रमा प्रस्थान गरेको भए पनि कुन–कुन क्षेत्रमा कति विदेशी पर्यटक गएका थिए भन्ने यकिन तथ्याङ्क नेपाल टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)सँग पनि छैन । टान गण्डकी अध्यक्ष सुशीलराज पौडेलले धौलागिरिको पदयात्रामा कति जना छन् भन्ने यकिन नभएको जनाए ।

‘‘विभिन्न कम्पनीबाट गएका उनीहरूबारे विस्तृत विवरण कतै छैन । धौलागिरि सर्किटमा गएका विदेशी अप्ठ्यारोमा परेका छन् । उनीहरूसँग सम्पर्क पनि भएको छैन,” उनले भने । उनले कम्पनीबाट गएका तीन जना भारतीय र उनीहरूका पाँच जना नेपाली सहयोगी र एक जना गाइड गरी नौ जना अहिले सम्पर्कमा नरहेको जनाए । उनीहरू आइतबारसम्म पोखरा फर्किसक्नुपर्ने भए पनि सम्पर्कमा नआएको पौडेलको भनाइ छ ।

धौलागिरि पदमार्गको इटालियन क्याम्प र धौलागिरि क्याम्पको बीचमा जापानिज क्याम्प छ, जहाँ कुनै पनि तरिकाबाट सम्पर्क हुँदैन ।

मनासलु, अन्नपूर्ण र धौलागिरि सर्किटमा करिब २०/२५ विदेशी पर्यटक सम्पर्कविहीन भएको अनुमान छ । हिमाली सर्किटमा पुगेका पर्यटकको उद्धारका लागि सिम्रिक एयर, एयर डोइनोस्टिक, कैलाश एयरलगायतका हेली परिचालन गरी केहीलाई उद्धार गरिएको प्रमुख सुवेदीले जानकारी दिए । अविरल वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातलगायतका कारणले पर्यटक अलपत्र र तथा सम्पर्कविहीन भएका हुन् ।

सम्बन्धित समाचार