शुक्रबार , अषोज ९, २०८३

चार विदेशीसहित ११ पर्यटक ६ दिनदेखि बेपत्ता

image

काठमाडौं । लगातारको वर्षासँगै ११ जना पर्यटक सम्पर्कविहीन भएका छन् । बाग्लुङको ढोरपाटनबाट रुकुम पूर्व हुँदै डोल्पाको तल्लो सेराका लागि हिँडेका ११ पर्यटक पाँच दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

एकज्योती ट्रेक काठमाडौंका मेनेजर बासु साँखले चार जना विदेशी र सात जना नेपाली पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए ।

चार जना विदेशी पर्यटकहरू नेडरल्याण्डस्का रहेका छन् । गत असोज १२ गते काठमाडौंबाट हिँडेको पर्यटक टोली ढोरपाटन पुगेर अगाडि बढेपछि सम्पर्कविहीन भएको बासुले बताए ।

उक्त टोली म्याग्दीको बेनी, रोल्पाको जलजला हुँदै बाग्लुङको ढोरपाटन पुगेको थियो । पयर्टकहरुको खोजी तथा सूचनाको लागि स्थानीय सरकार, प्रहरी समक्ष खबर गरेको समेत उनले बताए।

रुकुमपूर्वकको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले ट्रेकिङ एजेन्सीबाट आफूलाई पनि पर्यटक हराएको खबर आएको बताए ।

लगातारको वर्षा र विभिन्न स्थानमा आएको पहिरोले रुकुमपूर्वकको माथिल्लो क्षेत्र सञ्चार सम्पर्कविहीन भएकाले कुनै सूचना प्राप्त गर्न नसकेको उनले जनाए ।

माथिल्लो क्षेत्रमा हिमपात समेत हुन थालेकाले त्यहाँ पुग्न र सूचना सङ्कलन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

Tags:

सम्बन्धित समाचार