टानका निवर्तमान अध्यक्ष खुम बहादुर सुवेदीले खुसी व्यक्त गर्दै भनेका छन्, "सम्पूर्ण पर्यटन व्यवसायीहरूलाई खुसीको खबर !! हाललाई कम्पनीको चुक्ता पुँजी रु. पच्चीस लाख नै कायम भएको जानकारी आएकोले प्रदेश पर्यटन मन्त्रालयलाई विशेष धन्यवाद!"
काठमाडौं । बागमती प्रदेश सरकारले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी रु २५ लाख नै कायम गरेको छ । प्रदेश पर्यटन ऐन २०७८ ले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी २५ लाखबाट दोब्बर बढाएर ५० लाख रुपैयाँ बनाएको थियो । ऐन जारी भएदेखि नै पर्यटन व्यवसायीहरूले चुक्ता पुँजी घटाउनुपर्ने माग गर्दै आएका थिए ।
कोरोना महामारीबाट थला परेको पर्यटनलाई उठाउन सहजीकरण गर्नुको सट्टा चुक्ता पुँजीको रकम बढाएर व्यवसायीहरूलाई निरुत्साहित बनाउने काम भएको भन्दै व्यवसायीहरू आन्दोलित थिए ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिले पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्न सङ्घ र प्रदेश सरकारलाई दबाब बढाएका थिए । टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोला नेतृत्वको टोलीले केहीदिन अघि पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि साक्षात्कार गरेका थिए । उक्त भेटमा पर्यटन क्षेत्रका थुप्रै समस्याहरूको बारेमा टानको टोली र मन्त्री श्रेष्ठबीच छलफल भएको थियो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्दै पर्यटनको विकास र विस्तार गर्न मन्त्रालय र आफू प्रतिबद्ध रहेको बताएका थिए ।
टानका पदाधिकारीहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठसँग पनि विभिन्न चरणमा छलफल गरेका थिए । टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोलाले आफू निर्वाचित भएपछि चुक्ता पुँजी घटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सरकारले चुक्ता पुँजी घटाएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
टानका निवर्तमान अध्यक्ष खुम बहादुर सुवेदीले खुसी व्यक्त गर्दै भनेका छन्, “सम्पूर्ण पर्यटन व्यवसायीहरूलाई खुसीको खबर !! हाललाई कम्पनीको चुक्ता पुँजी रु. पच्चीस लाख नै कायम भएको जानकारी आएकोले प्रदेश पर्यटन मन्त्रालयलाई विशेष धन्यवाद!”
त्यसैगरी टानको नवनिर्वाचित कार्यसमितिका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी घटाएको बागमती प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्रालयलाई धन्यवाद दिँदै भनेका छन्, “ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कार्यसमिति को बिशेस अनुरोध लाई स्वीकार गर्दै ट्रेकिङ कम्पनीको चुक्ता पुँजी ५० लाख बाट घटाएर २५ लाख कायम गरिदिनु भएकोमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डे ज्यु लाई विशेष धन्यवाद। यससँगै निलहरि बास्तोला समूह ले टान चुनाव को समयमा गरेको एउटा बाचा पुरा गरेको छ।”