सोमबार , फागुण २१, २०८०

धादिङ त्रिपुरासुन्दरी मेला: जहाँ देवीको मूर्ति हेर्न र छुन पाइँदैन

तर भगवतीको माइतीका रूपमा परिचित माईथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित (डुबान पर्ने) बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गाबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।

image

त्रिपुरासुन्दरी माईकी जय
त्रिपुरासुन्दरी माईकी जय

अघि अघि नाङ्गो खुँडा, खुकुरी बोकेका युवाका साथै पञ्चेबाजा । त्यसको पछिपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । साथै, बाटोको दायाँबायाँ हजारौं मानिस बसेर फुल अबिरसहितको पूजापाठ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ४ सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं. ६ हाँसेबजारस्थित माईथानबेंसी (माईथान मेला/जात्रा) सारिदाको तामझाम ।

यस ठाउँमा भगवतिको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा सारी पूजापाठ गर्ने रमाइलो र अनौठौ परम्परा रहेको छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपले चिनिने माईथानबेंसीको मन्दिरमा सारिएको छ । अझ यसमा अनौठो के छ भने बाकसभित्र रहेको भगवतिको मूर्ति रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु भक्तजनहरू कसैले हेर्न र छुन नपाउने परम्परा छ ।

भगवती माईको दर्शनका लागि बाटो कुरेर बस्नुभएका स्थानीयबासीहरू भन्छन्, “पहिलेदेखिकै परम्परा यही हो । भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो ।” मूर्ति हेर्न र छुन नपाएपनि भक्तजनहरू बिहान सबेरैबाट ठाउँ-ठाउँमा फूल अक्षेता बोकेर प्रतिक्षा गरिरहेका हुन्छन् । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षेताले पूजा गर्ने गर्दछन् ।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरी भगवतीमाईको मूर्तिलाई पिँठ्युँमा बोक्ने गर्दछ । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ ।

स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रूपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिने चलन छ ।

मङ्सिर महिनाको विशेष तिथि पारेर आइतबार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई तामझाम बाजागाजाका साथ झारिन्छ । पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् ।

नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रूपमा परिचित माईथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित (डुबान पर्ने) बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गाबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यस मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौंलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युँमा बोकेर करिब चार घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेंसीको मन्दिरमा ल्याइन्छ ।

यसरी देवीलाई माइती झारेसँगै यस वर्षको जात्रा सम्पन्न हुन्छ ।

सम्बन्धित समाचार