बिहिबार , जेठ ३१, २०८१

राजा जसुधर र उदयपुरकोट

उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल, पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य, पदसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा थरको रुपमा प्रयोग भएको छ ।

image

प्युठानको ऐतिहासिक राजा जसुधरको दरबार उदयपुरकोट अहिले पर्यटनको स्थल बनेको छ । उदयपुरकोटको इतिहास पर्यटकहरुले जति खोज्दै जान्छन्, त्यतिनै उनीहरुको लागि चाखलाग्दा कुराहरु भेटिन्छन् । नेपालको इतिहासमा भुरेटाकुरे बाइसे–चौबिसे राजाहरुको पालामा १५७ वटा राज्य थिए । इतिहासमा भुरेटाकुरे राजाहरुमा शाह, चन्द, मल्ल, घले, लिम्बु लगायतका जातिहरुले राज्य गरेको पाइन्छ । तर प्युठानको उदयपुरकोटमा भने बाह्मण जातिका अधिकारी वंशजका राजाहरुले राज्य गरेका थिए । उदयपुरकोट राज्यमा नीतिशास्त्र अनुरुप शासन व्यवस्था सञ्चालन हुने गर्दथ्यो । राज्यमा कुनै सेना प्रहरी र हातहतियार समेत थिएन । राज्यको आफ्नो मुद्रा समेत प्रचलन थिएन । उदयपुरकोटमा पुग्ने पर्यटकहरुलाई यस्ता ऐतिहासिक कुराले आश्चर्य लाग्छ । यसरी नीति शास्त्रबाट राज्य सञ्चालन भएको उदयपुरकोट राज्यको इतिहास सुन्दा पर्यटकहरु अचम्म मान्छन् । इतिहास नपढेका कतिपय पर्यटकहरुले यी कुराहरुलाई कथा होला भन्ने गर्दछन् । उदयपुरकोट पुग्ने पर्यटकहरुले अहिले पुरानो दरबार भने देख्न सक्दैनन् । जुन दरबारमा सत्र पुस्तासम्म कश्यप गोत्रीय ब्राह्मण राजाहरुले राज्य गरेका थिए ।

उदयपुरकोट पुगेपछि प्राकृतिक सुन्दरतासँग रमाउने मात्र होइन धेरै पर्यटकहरु उदयपुरकोट राज्यको इतिहास जान्न चाहन्छन् । कतिपय पर्यटक झोलाबाट क्यामेरा झिक्दै कश्यप गोत्रीय बाह्मण राजा अधिकारी वशंहरुको पालामा भएका संरचना जुन अहिले पुनःनिर्माण भइरहेछ त्यसको फोटो लिन थाल्छन् । पर्यटकहरुमा अझ कश्यप गोत्रीय अधिकारी थरको रहेछ भने अन्य पर्यटकहरु भन्दा उसले रुचिपूर्वक उदयपुरकोट राज्यको इतिहासको बारेमा जिज्ञासा राख्दै रैथाने अधिकारीहरुसँग सोधखोज गर्दछ । अधिकारी थरको पर्यटकहरुले त रैथाने अधिकारीहरुलाई बोल्ने क्रममा गोत्रीय र वंशीय नाता समेत जोड्छ । विभिन्न जिल्लाबाट आफ्नो पूर्वजको इतिहास खोज्न उदयपुरकोटमा पुगेका पर्यटक अधिकारीहरुसँग कुराकानी गर्न पाउँदा रैथाने अधिकारीहरु खुशी हुन्छन् । कतिपय रैथाने अधिकारीहरुले पर्यटक अधिकारीहरुलाई आफ्नै घरमा लैजान्छन् । तत्कालीन पाँचसय थुम उदयपुर राज्य भित्र पर्ने मौजा र गाउँहरुको बारेमा बताइदिन्छन् । आफ्नै वंशका मानिसहरुले पुराना कुरा सुनाउँदा कतिले त उनका कुरा भिडिओ रेकर्ड र टिपोट समेत गर्दछन् । अधिकारी वंशका मानिसहरु आफ्नो गाउँमा पर्यटक भएर पुग्दा गाउँलेहरुलाई आफ्नै घरको मानिस झै बोलिचाली र ब्यवहार गर्दछन् । अधिकारी थरका पर्यटकहरुले उदयपुरकोटमा पुग्दा स्तम्भमा राखिएको राजा जसुधरदेखि सत्रौ पुस्ताका राजा शान्तराज अधिकारीको फोटोलाई कैद गर्दै फोटो समेत खिच्छन् ।

पर्यटकहरु उदयपुरकोटमा पुरातात्विक महत्वका अभिलेखहरुको खोज–अनुसन्धान गर्न खोज्छन् । पर्यटकले उदयपुरकोटमा स्थानीयहरुसँग सद्भावना र मित्रता बढाउन खोज्छन् । पर्यटक नै कश्यप गोत्रीय रहेछ भने उसको खोज अनुसन्धान गहिरो हुन्छ । पर्यटकहरुले उदयपुरकोट वरपरका गाउँघरमा संस्कृति, रहनसहन, भेषभूषा, परम्परागत रीतिरिवाज अध्ययन गर्न रुचि राख्छन् । संस्कृतिले आफ्ना पूर्वजदेखि अंगीकार गर्दै आएको भाषा, धर्म र रीतिरिवाजसँग सम्बन्ध राख्छ । यस्ता कुराहरुले खोज अनुसन्धानमा लाग्ने पर्यटकहरुलाई धेरै कुराहरुको जानकारी हुन्छ । उदयपुर क्षेत्रमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य जिल्लाका पर्यटकहरुका लागि अनौठो लाग्छ । कतिपय पर्यटकहरु संस्कृतिकै अध्ययनका लागि पनि उदयपुरकोट पुग्ने गर्दछन् । पर्यटक प्रकृतिप्रेमी हुन्छ, चाहे जुनसुकै भूगोलमा रहोस् । तराईको मैदानी भागमा बस्ने पर्यटकहरुलाई पहाडी भूगोलमा रहेका डाँडाकाँडा मन पर्दछ । हिमाल र समुन्द्र नदेखेका पर्यटकहरुलाई ती ठाउँमा पुग्न मन लाग्छ । यो स्वाभाविक मानवीय गुण पनि हो । पहाडी श्रृंखलामा घुमफिर गर्दा प्रकृतिसँग भावनात्मक संवाद गर्न सक्यो भने त्यो पर्यटक जहाँ पुगेको छ, त्यहाँ रमाइलो लाग्छ । घुमफिर गर्दा रुचि भएका विषयमा अध्ययन, अनुसन्धान र अवलोकन गर्न सकिन्छ ।

उदयपुरकोट राज्यको इतिहासमा प्रथम राजा कश्यप गोत्रीय अधिकारी कार्की थरका जसुधर हुन् । १६ औं शताब्दीको अन्ततिर अर्थात ५०५ वर्ष अगाडि जसुधरले बि.स.१५७५–१६०२ सम्म २७ वर्षसम्म उदयपुरकोटमा राज्य चलाएका थिए । त्यसपछि सत्रौं पुस्तासम्म उदयपुरकोटमा कश्यप गोत्रीय अधिकारी कार्की थरका राजाहरुले राज्य सञ्चालन गरेका थिए । बाह्मण राजा अधिकारीको अस्तित्व मध्यकालदेखि आधुनिक नेपालको राज्य रजौटा उन्मूलन ऐन २०१७ लागु हुनुभन्दा अगाडिसम्म उदयपुरकोटमा थियो । उदयपुरकोटको राज्य बि.स.१८४३ मा नेपालमा एकीकरण भएपछि पनि पर्साराम, रुद्रमणि, जागेश्वर, नरनारायण, दामोदर, हरिप्रसाद र शान्तराजले नेपाल सरकारबाट आजीवन भत्ता पाउँदै आएका थिए ।

जसुधर उदयपुरकोटको राजा हुनुमा पनि रोचक प्रसंग छ । त्यो समयमा दाङको छिल्लीकोटमा चल्ल वंशीय राजाले राज्य चलाएका थिए । राजकाज चलाउन चल्ल वंशका राजालाई चतुर विद्यामा निपुण भएका मानिसको आवश्यकता थियो । बाजुराको ढुंगा जुगाडाबाट आएका जसुधर अधिकारी कार्की ज्योतिषी विद्यामा निपुण थिए । उदयपुरकोट राज्यको राजा हुनु भन्दा पहिले जसुधर शुरुमा छिल्लीकोटको राजाको दरवारमा सम्मानपूर्वक आश्रय पाएका थिए । त्यसै समयमा दाङको भूमि प्युठानका भित्रीकोटे राजाले कब्जा गर्ने योजना बनाएका थिए । राज्य कब्जा गर्ने योजना थाहा पाएपछि दाङका थारुराजा दानसिंह दनुवार छिलीकोटे राजा मेघबहादुर शाहका शरणमा सहयोग माग्न पुगे । दाङ र छिल्लीकोट दुबै राज्य आक्रमण गर्न भित्रीकोटे राजाले फौज पठाए पनि जसुधरको कूटनीतिक प्रयासबाट आक्रमणको प्रयास असफल भयो । जसुधरको प्रयासकै कारण भित्रीकोटका राजाले दाङ र छिल्लीकोटका राजासँग सन्धि गर्न बाध्य भए । त्यसपछि जसुधरको चतर्याइँ कूटनीतिबाट छिल्लीकोट र दाङ राज्य सुरक्षित भएकोले प्युठान र छिल्लीकोटको सिमानामा पर्ने त्यो समयमा पाँचसय थुम उदयपुर राज्यभित्र पर्ने २९ मौजा र गाउँ बिर्ता राज्यको रुपमा कश्यप गोत्रीय ब्राह्मण जसुधरले पाएका  हुन् ।

पर्यटनमा इतिहासको खोज अनुसन्धानसँगै पछिल्लो समय आफ्नो थर गोत्र र पुर्खाको थलो समेत पहिचान गर्ने र पुग्ने पर्यटकहरु पनि धेरै भएका छन् । उदयपुरकोटका राजा जसुधरका सन्तति अधिकारीहरुले खोज अनुसन्धान गर्दै उदयपुर राज्यको इतिहास तथा अधिकारी बंशावलीको दोस्रो संस्करण प्रकाशन गरेका छन् । वंशावली तयार पार्ने काम कठिन मानिन्छ । देश विदेशमा छरिए र रहेका कश्यप गोत्रीय अधिकारी कार्की थरको वंशावलीले खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरुलाई सहयोग पुगेको छ । वंशावलीमा अधिकारी समाज केन्द्रीय समितिका अध्यक्ष रमेशकुमार अधिकारीबाट दोस्रो संस्करणको भूमिका र दोस्रो संस्करण प्रकाशन समितिका संयोजक नारायणप्रसाद अधिकारीको प्रकाशकीय लेखनबाट उदयपुर राज्यको इतिहास र वंशावलीको बारेमा खोजपूर्ण सामग्री दिनुभएको छ ।

वंशावली अधिकारी समाजको आफ्नो पहिचान खोज्ने दस्तावेज हो । कश्यप गोत्रीय अधिकारीको वंशावली जुन प्रकाशनमा आएको छ त्यो अधिकारी वंशको एउटा ठूलो पूँजी हो । वंशावलीले सबै अधिकारी वंशलाई आफ्नो पहिचान स्थापित गरौँ भन्ने प्रेरणा प्रदान गरेको छ । अब जसुधरका सन्ततिहरुले उदयपुरकोट जादा आफ्नो थर, गोत्र, प्रवर र राज्यका बारेमा जान्न इच्छुक पर्यटकहरुलाई सजिलो भएको छ । उदयपुर राज्यका कश्यप गोत्रीय बाह्मण अलिना अधिकारी हुन् । कश्यप गोत्रीय अधिकारी थर भएका पर्यटकले आफू कुन पुस्तामा छु र कुन व्यक्तिसँग के नाता पर्दछ भन्ने कुरा जसुधरका सन्ततिहरुले वंशावली अध्ययनले सजिलै जान्न सक्ने भएका छन् । अर्कोतर्फ वंशावली अध्ययन गरेका पर्यटकहरु कश्यप गोत्रीय वंशको शुरुवात भएको उदयपुरकोट जानको लागि भावनात्मक सोचको विकास भएको छ ।

पर्यटनको क्षेत्र अहिले फराकिलो हुँदै गएको छ । उदयपुरकोटमा पर्यटनको विकासको लागि धेरै पूर्वाधार निर्माण भएका छन् । माण्डवी गाउँपालिकाले उदयपुरकोटका ऐतिहासिक स्थललाई पर्यटनको विकास गर्न गुरुयोजना बनाएको छ । भग्नावशेषका रुपमा रहेको राजाको दरबार पुनःनिर्माण हुँदैछन् । अर्कोतर्फ पर्यटनको लागि नयाँ सम्भावनाको खोजी गरी उदयपुरकोटमा पर्यटनका लागि पूर्वाधारको विकास भएको छ । उदयपुरकोट दरबार नजिकै राजाले पूजाआजा गर्ने मन्दिर पर्दछ । अहिले पूर्वाधारको विकास गर्ने क्रममा धोवाघाटमा रहेको सुन्नानी मन्दिरको नजिकै दरबार निर्माण भएको छ । दरबार अगाडि सत्र पुस्ताका राजाको नाम अंकित स्तम्भ पनि निर्माणको अवस्थामा छ । दरबार नजिकै पार्क र पिकनिक स्पट निर्माण भएको छ । दरबार नजिकै संग्रहालय स्थापना गर्ने उद्देश्य रहेको छ । कश्यप गोत्रीय ब्राह्मण राजाहरुले प्रयोग गरेका विभिन्न सामग्री र राजदरवारमा राजारानी, काजी चौतरिया र भाइभारदारहरुले प्रयोग गरेका विभिन्न वस्तुहरु एवं ऐतिहासिक दस्तावेजहरु समेत संग्रहालयमा रहनेछन् ।

संग्रहालय नजिकमा पार्क र फोहरा निर्माण भएको छ । पर्यटकहरुको सुविधाको लागि भ्यूटावर निर्माण हुन लागेको छ । वनभोजका लागि वनभोजस्थल समेत निर्माण भएको छ । उदयपुरकोटमा इतिहास, संस्कृति र प्रकृतिको समिश्रण रहेको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक घर अनि हेरिरहौं जस्तो लाग्ने गाउँघरको दृश्य र धवलागिरी माछापुच्छे लगायतका हिमश्रृंखलाले पर्यटकहरुको मन लोभ्याउने गर्दछ । कोटबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, माण्डवी नदी किनारका उर्वर खेतीयोग्य फाँट र ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थलले पर्यटकहरु रमाउँछन् ।

थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ र थर पनि । तर थरसँग गोत्र पनि जोडिएको हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ । थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकेका हुन्छन् । हामी कुन ऋषिका सन्तति हौं भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ । गोत्रको अर्थ कूल या वंश भन्ने हुन्छ । गोत्र भन्नाले आदि पुरुष, वंश सञ्चालन व्यक्ति, खलक, कुल, सन्तान भन्ने अर्थ लाग्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरुवात गरेका हुन । गोत्रसँगै महर्षिहरुको नाम पनि सँगै आउने भएकाले पनि विशेषतः संस्कृत शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्वाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । जुन कुरा विभिन्न हिन्दू धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

नेपालमा रहेका जाति र थर गोत्रका बारेमा अध्ययन गर्न जनकलाल शर्माले लेख्नुभएको हाम्रो समाजको एक अध्ययन नामक पुस्तक पढ्नैपर्ने हुन्छ । पुस्तकमा थर के हो ? कसरी थर हुन गयो ? कहाँबाट बसाइ सर्दा के थर भयो आदि कुरा अध्ययनबाट थाहा पाउन सकिन्छ । थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । भण्डारको काम गर्ने भण्डारी, अधिकारको प्रयोग गर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि । उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल, पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य, पदसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा थरको रुपमा प्रयोग भएको छ ।

अधिकारी अलिना र नुनिला हुन्छन् । अधिकारी थर बाह्मण र क्षेत्री समुदायको बहुसंख्यकहरुको थर हो । अधिकारी थर ऐतिहासिक भुरेटाकुरे राजाहरुबाट कर उठाउने पद अर्थात अधिकारको थर हो । कश्यप गोत्रीय वंशका अधिकारीहरु अहिले नेपालका धेरै जिल्लामा छरिएर बसोवास गर्दै आएका छन् । कतिपय अधिकारीहरु भारतमा मात्र नभएर तेस्रो मुलुकमा समेत स्थायी बसोवास गर्दै आएका छन् । थाइल्याण्ड, बर्मा, मलेसिया, क्यानडा, अमेरिका, बेलायत, अष्ट्रेलियामा पनि नेपाली मूलका धेरै मानिसहरु बसोवास गर्दछन् । पछिल्लो समय ती मुलुकमा बस्ने नेपालीहरुमा पनि आफ्नो मूल थलोको खोजी हुन थालेको छ । बेला बखत पर्यटकको रुपमा नेपाल आउने आफ्नो वंश र गोत्रको पहिचान गर्ने काम भएको छ ।

कसरी पुग्ने ?

उदयपुरकोट जान धेरै मार्गहरु छन् । तर मोटरमार्गबाट नै उदयपुरकोट पुग्नै हो भने भालुबाङ–प्युठान–रोल्पाको सडकमा पर्ने नयाँ गाउँ पुग्नै पर्दछ । घोराही–प्युठानको पुरानो सडक मार्ग भएर पनि जान सकिन्छ । यो मार्गमा पहाडी जनजीवन, कोट, लेक र उच्च पहाडी श्रृंखला, सुन्दर हिमाल र तराईको मैदानी भाग पनि यात्रामा अवलोकन गर्न सकिन्छ । यात्रामा मुर्कुटी पुगेपछि बंगलाचुली पनि जान सकिन्छ ।

बंगलाचुली पहाडमाथि मैदानी भाग र त्यसबाट फेरि पहाडको चुचुरो उठेको पर्यटनको लागि रमणीय प्राकृतिक भ्युटावर हो । बंगलाचुली पहाडको चुलीमा पुग्नको लागि मुर्कोटीदेखि सडक मार्ग छुट्टिन्छ । बंगलाचुलीको चुचुरोबाट सिस्ने, जलजला, धौलागिरी, माछापुच्छे हिम श्रृंखलाका साथै दाङ उपत्यका, कपिलवस्तु तथा केही भारतका समथर भू–भागहरु समेत अवलोकन गर्न सकिन्छ । अर्को बाटो हो भालुबाङ–रोल्पा–प्युठानको सडक मार्ग । नयाँ गाउँबाट उदयपुरकोट अर्थात घोवाघाटसम्म पुग्नका लागि १४ कि.मी. मोटरमार्ग यात्रा गर्नुपर्दछ ।

लेखक – केबी मसाल 

सम्बन्धित समाचार