शुक्रबार , जेठ ८, २०८३

एमालेका यी हस्तीहरू, जसलाई जनताले पत्याएनन् 

अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमालेका शीर्षस्थ नेताहरू नै यस पटकको निर्वाचनमा जनताद्वारा अस्वीकृत भएका छन् ।

image

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमालेका शीर्षस्थ नेताहरू नै यस पटकको निर्वाचनमा जनताद्वारा अस्वीकृत भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग काठमाडौं ५ मा पराजित भए । पौडेलले एमालेका इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका हुन् । मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन ।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् । एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्।

२०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले(माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए ।

उनी एक पटक सञ्चार मन्त्री भइसकेका छन् । पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत हुन् ।

त्यस्तै भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका छन् ।

 नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । मतगणना अनुसार थापाले महेश बस्नेतलाई नौ सय ५७ को मतान्तरले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३९ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी काठमाडौं ४ मा नेकपा एमालेका राजन भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएका छन् ।   थापाले शानदार मतले विजय हासिल गरेका छन् ।

गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिस्पर्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे ।

सम्बन्धित समाचार