बुधबार , अषोज ७, २०८३

“पर्या-पर्यटनलाई प्राथमिकता दिन जरुरी छ”, -राष्ट्रपति भण्डारी

image

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरूको पहिचान गरी व्यवस्थित रूपबाट संरक्षण र प्रवर्द्धन गरी पर्यापर्यटनको माध्यमबाट स्थानीय जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताएकी छन् ।

पर्वतको जलजला गाउँपालिका–२ पूर्णस्थित वराह तालमा निर्माण गरिएको आदिवराह कुलमन्दिरको बुधवार उद्घाटनपछि राष्ट्रपति भण्डारीले प्रशस्त सम्भावना भएका ऐतिहासिक धार्मिक मठमन्दिर र सांस्कृतिक महìवका स्थललाई पहिचान गरी प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएकी छन् ।

जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरण माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरेकी छन् । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताका माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवं रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड थियो।

जलजलाको जैविक विविधतायुक्त कालन्जर पहाड, जलजला क्षेत्र, फलामे डाँडा, मल्लाज दरबारलगायत पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरूको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताइन् । प्रसिद्ध वराह ताल संरक्षणका लागि स्थानीयस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिइन् ।

साथै राष्ट्रपति भण्डारीले धार्मिक एवं पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालन्जरलाई हेलिकोप्टरबाट अवलोकन गरेकी छन् । उक्त कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागी, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गाउँपालिकाका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको विकासका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच राष्ट्रपति भण्डारीले बागलुङ कालीका भगवती मन्दिरमा पूजा गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोही दिन बिहान बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब आधा घण्टा मन्दिरमा पूजा गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको पूजामा कालीका भगवती मन्दिरका मुख्य पुजारी र नेपाली सेनाका पुजारीले सहयोग गरेकी थिइन् । उनको साथमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि मन्दिर पुगेका थिए । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालीका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि राष्ट्रपति बागलुङ आएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । राष्ट्रपति भण्डारीलाई कालीका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेश सभा सदस्यहरू कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए ।

कालीका भगवती मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले कालीका मन्दिरको संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गर्न आग्रह गरिन् । राष्ट्रपति भण्डारीले विशेष आगन्तुक पुस्तिकामा “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालीका भगवतीको दर्शन गर्ने सुअवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालीका भगवती गुठीका संरक्षक तथा पदाधिकारीहरू, कर्मचारी एवं नागरिक समाजलाई विशेष धन्यवाद दिन चाहन्छु”, लेखेकी छन् ।

Tags:

सम्बन्धित समाचार