काठमाडाैं । ग्यालेक्सी फोर-के टेलिभिजनका धादिङ सम्वाददाता विकास रौनियार माथि साङ्घातिक हमला भएको छ । प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाएको विषयलाई लिएर गजुरी-१ का दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १० : १५ बजेतिर पत्रकार राैनियारमाथि हमला गरेका हुन् ।
शनिवार राती उनकै निजी निवास, गजुरी बजार परिसरमा स्थानीय दिनेश भण्डारी र रोशन गुरुङले पत्रकार रौनियार माथि हमला गरेका हुन् ।
उनीहरूले सुरुमा आफ्नो क्षेत्रमा बोलाएको र रौनियार त्यहाँ नपुगेपछि घर परिसरमै आएर बाहिर बोलाएर जथाभाबी आक्रमण गरेको पीडित रौनियारले जानकारी दिएका छन् । उनीहरूको आक्रमणबाट रौनियारको मुख र अनुहारमा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाैं जान लागिएको रौनियारले जानकारी दिए ।
आफूमाथि हमला गर्ने दिनेश भण्डारी र राेशन गुरुङलाई आफैँले समातेर इलाका प्रहरी कार्यालय गजुरीमा बुझाएकाे राैनियारले जानकारी दिएका छन् ।
रौनियारमाथि भएको हमलाको घटनाप्रति पत्रकार महासङ्घ धादिङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले शनिवार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्य समिति सदस्य एवम् ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ सम्वाददाता विकास रौनियारलाई टेलिभिजनका लागि प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाउने क्रममा गजुरी गाउँपालिका वडा नं. १ बस्ने दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १० : १५ बजेतिर उनीहरूको शक्ति भएको ठाउँमा बोलाउने र त्यहाँ नजाँदा घर नजिकमै गई घर अगाडी बोलाई साङ्घातिक हमला गरी घाइते बनाएको घटनाप्रति यस शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।”
नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्न समाचार संकलन गर्ने र प्रकाशन / प्रशारण गर्ने कार्यमा पत्रकारलाई रोक लगाउनु कुनै पनि प्रकारले क्षम्य नभएको महासङ्घ जिल्ला शाखाले बताएकाे छ । प्रकाशित/प्रसारित समाचारमा चित्त नबुझे वा गुनासो भए त्यस उपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै ज्यानै दिने गरी आक्रमण गर्ने र आत्म सम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासङ्घ जिल्ला शाखाकाे ठहर छ ।
घटनाप्रति नेपाल पत्रकार महासङ्घ धादिङ शाखाले घोर निन्दा र भर्त्सना गरेको छ । साथै घटनाको छानविन गरी आक्रमण गर्ने दुइजनालाई तत्काल पक्राउ गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।
महासङ्घको धादिङ शाखाले पत्रकारको मर्यादित पेशा प्रति सम्मान गर्न सचेत गराउँदै पत्रकारलाई निर्वाण र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन / प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग माग गरेको छ ।
विगत लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा रहेर विकृति, विसङ्गति तथा बेथिति विरुद्ध खरो उत्रिँदै आएका सञ्चारकर्मी रौनियारले विगतमा पनि पटक-पटक आक्रमणको सामना गरेका छन् । आफ्नो स्वतन्त्र पत्रकारितालाई कसैले पनि रोक्न नसक्ने र कोहीसँग नतर्सिने पत्रकार रौनियारले बताएका छन् ।