काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना अभियान सञ्चालन गरी सम्बन्धित विभिन्न संघसंस्थाले जानकारी गराउने कार्यक्रहरू रहेका छन् ।
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको संभाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।
हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ ।
विभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने अनि हानी न्यूनीकरणका लागि यस दिवसको महत्त्व धेरै छ ।
सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चारमाध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।