बुधबार , भाद्र १०, २०८३

व्योमकोट अर्थात् स्वामी परमानन्दको गाउँ

पहिले व्योमकोट (बिहूँकोट) गा.वि.स थियो, अहिले काठेखोला गाउँपालिका अन्तर्गत बिहूँकोट भएको छ । स्थानीय बासिन्दाहरूबाट बुझिरहँदा यस क्षेत्रलाई स्वामी परमानन्दको गाउँ पनि भन्ने गर्दारहेछन् ।

image

बागलुङ जिल्लामा स्थित व्योमकोट साँच्चै नै व्योमकोट छ ।  व्योमकोट अहिले बिहूँकोट भएको छ । तर मलाई चाहिँ ‘व्योमकोट’ यही नाम नै प्रिय लाग्दो छ । पहिले व्योमकोट (बिहूँकोट) गा.वि.स थियो, अहिले काठेखोला गाउँपालिका अन्तर्गत बिहूँकोट भएको छ । स्थानीय बासिन्दाहरूबाट बुझिरहँदा यस क्षेत्रलाई स्वामी परमानन्दको गाउँ पनि भन्ने गर्दारहेछन् ।

रामकोटधाम

व्योमकोटको चुलीमा रामकोटधाम छ, जहाँ स्वामी परमानन्द सरस्वति महाराजजीले वि.सं. २०२९ सालमा स्थापना गर्नुभएको त्रिपुरेश्वर महादेव मन्दिर विराजमान छ, जसको सुवासले सारा व्योमकोट सुगन्धित छ । स्वामी परमानन्दकै अनुकम्पाले, छविले, शक्तिले, पहलले आज व्योमकोट प्राकृतिक, धार्मिक, सांस्कृतिक र अन्य दृष्टिले सुरक्षित र संरक्षित छ । आज भन्दा सात वर्ष अघि म परमपूज्य डा. स्वामी राजेश्वरानन्द गुरुदेवको कृपाले उहाँको अभिभावकत्वमा यस्तो पवित्र धाममा पुगेर अध्ययन गर्ने, रम्ने सौभाग्य पाएको थिएँ । त्यतिबेलाको मेरो मन-मस्तिष्कले जे जति अनुभव गर्न पाएँ त्यो यथावत् नै छ । पुन: परमपूज्य ब्रह्मचारी सुभाव चैतन्य गुरुदेवको अभिभावकत्वमा सात वर्ष पछि यहाँको रसास्वादन गर्ने सुअवसर पाएँ । संक्षिप्तमा यस क्षेत्रको वर्णन गर्दै गर्दा प्रकृतिको अनुपम छटा यहाँनेर विशेषरूपले कोरिएको छ भन्ने खालको वर्णन खुलेआम, दिल खोलेर गर्न सक्छु।

रामकोटधामको डिलमा बसेर यसो नजरलाई वरपर डुलाएर हेरिरहँदा लाग्छ, मानौँधवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र अन्य विभिन्न हिमशृङ्खलाहरू शिवपुरी र रामकोटको सुरक्षाका लागि तैनाथ भएर बसेका हुन् कि भन्ने भान हुन्छ ।

शिवपुरी(शिवधुरी)

व्योमकोटको अर्को चुलीको नाम हो-  शिवपुरीधाम ।

रामकोटधामबाट लगभग तीन घन्टाको पैदलयात्रा पश्चात् शिवपुरी आउँछ । शिवपुरीलाई शिवधुरी पनि भन्ने गरेको पाइयो । तर मलाई चाहिँ त्यो पूरै पहाड शिवको पुर लाग्यो, शिवपुरी लाग्यो । त्यसैले शिवपुरी नै भनिहालूँ। जसको काखमा रामकोट छ। जहाँ स्वामी परमानन्द सरस्वतिले थुप्रै वर्ष तपस्या गर्नुभयो र शिवपुरीलाई तीर्थसमान बनाउनुभयो ।

त्यसैले शास्त्रमा भनिएको पनि छ:- “तीर्थी कुर्वन्ति तीर्थानि स्वान्त: स्वेन गदाभृता”

महान् तपस्वीहरूको तपोबलले गर्दा ओझेलमा परेका तीर्थहरू पनि देखिने गर्छन्, प्रकाशित हुने गर्छन् ।

शिवपुरीमा पुग्दा आँफू आकाशमा खेलिरहेको अनुभव हुन्छ ।

शिवधुरीलाई ‘विभिन्न जडीबुटीहरूको खजाना भएको ठाउँ’ भने पनि कुनै शंका हुँदैन । जे होस्, समग्रमा जडीबुटीको संग्रह छ शिवपुरीमा ।

जहाँबाट बादलहरू तल खेलिरहेका देखिन्छन् । जहाँबाट प्रकृतिको अनुपम कलाको भरभरके दृश्यावलोकन गर्न पाइन्छ । जहाँबाट सूर्यको पहिलो किरणले आफ्नो देह सेचन गर्न पाइन्छ। शिवपुरीमा पुग्दै गर्दा यस्तो लाग्छ,स्वर्गको अमरावतीतिर लम्कँदै छु ।

वास्तवमा भन्नुपर्दा समग्र व्योमकोट प्राकृतिक, धार्मिक, सांस्कृतिक ऐतिहासिक, भौगोलिक र अन्य विविध दृष्टिले भरिपूर्ण, सुन्दर त छ नै, अब यसलाई अझ सुपरिचित बनाउन र यस क्षेत्रलाई अझै सुव्यवस्थित बनाउन उच्च तहबाट विशेष ध्यानाकर्षण हुन जरुरी छ। विकासका सम्भावनाहरू अझै धेरै छन् ।

हामी पुग्यौँ व्योमकोट । अब तपाईँहरू पनि एकपटक अवश्य पुग्नुस् र त्यहाँको महिमा जान्नुहोस् ।

  • संगम संयोग

सम्बन्धित समाचार