शनिबार , कार्तिक १५, २०८३

क्लासिक यात्रा : यात्राको उद्देश्य

बेलाइत पुग्यापछि बाह्र टोपी बेलाइतका रजिडन्ड, भारदार, महाजन बस्याका छन् । तिनीहरूसित भेट मुलाकाट हुँदा त्यो मुलुक देखदा धेरै फाइदा हुन्याछ ।

image

  • कमलमणि दीक्षित

स्वस्ति श्रीमद्‍राजकुमार कुमाररात्मज श्री प्राइम्‌मिनिष्टर याण्ड कम्यांडर इनचिफ जनरल जङ्गबहादुर कुँवर राणाजीबाट संवत् १९०६ सालमा तजविज गर्नु भयाको अंग्रेज पात्साहाको र हाम्रो सीवाना जोरियाको छ,  यिनको फौज, पल्टन, खजाना, हातहतियार, मुलुक, दौलथ, आमदानी खर्च, थिति, बन्दोबस्त क्या रहेछ, पात्साहि तखत बेलाइत कहाँ रहेछ, लण्डन शहर कस्तो रहेछ, तहाँका भारदार दुनियाँ गैह्रको मीजायस कस्तो रहेछ, आजतक हिन्दुस्थानका मानिस लण्डन बेलाइतमा पुगी आयाको कोही छैनन्, यिनका मुख जमान अकबारको बेहोरा सुन्दा र सारा हिन्दुस्थानका राजा नवाव पात्साहाका मुलुक लिँदा पनि अंग्रेजका अवस्थान, अंग्रेजका पात्साहाका बल पराक्रम तहकीत गरी चिह्‍न हिन्दुस्थान, मध्येस, पहाड, भोट, चीन कसैले सकेनन् ।

अब श्रीभगवान्‌को कृपा भया चार धाम पनि गरुला । हिन्दुस्थान बेलाइत ११ टापुका पात्साहाहरूका बेहोरा कार्षाना क्या रहेछ बुझुला । बेहोरा बुझी दोस्त पनि गरुला भन्या मनसुवा गर्नुभयो र आफ्ना माहिला भाइ श्रीमद्‌राजकुमारात्मज श्री कम्यांडर इनचिफ जनरल जंगबहादुर कुँवर राणाजीलाई मुल्की कार्षाना जंगी फौज पल्टनको भारा अख्तियार सारिदिया । आफ्ना साथमा भाइ श्रीमद्‍राजकुमार कुमारात्मज श्री कर्णेल जगत्‌ शमशेर जङ्ग कुँवर राणाजी, श्री धीर शमशेर जङ्ग कुवर राणाजी यी दुईजना र बडा कपतान् रणमेहेर अधिकारी, काजी करवीर खत्री, काजी हेमदल थापा, काजी डिल्लीसिं बस्न्यात्, लेफ्टेन् लालसिं खत्री, लेफ्टेन् करवीर खत्री, लेफ्टेन् भिमसिं राणा, सुब्बा सिद्धिमानसिंह राजभण्डारी, सुब्बा शिवनरसिं, षरिदार पृथ्वीधर पाध्या, र औ हुदा सिपाही केटासमेत जम्मा २५ जना आदमी जीलीफमा ली मुलुक सयर गर्नालाई श्रीमद्‍राजकुमार कुमारात्मज श्री प्राइम मिनिष्टर याण्ड कम्यांडर इनचिफ जनरल जङ्गबहादुर कुँवर राणाजीबाट संवत् १९०६ साल माघ मैह्नाका तारिख ४ का दिन चिसापानी किल्लाको बाटो गरी सवारी भै रवाना भै बक्सनुभयो ।

सिकार खेल्दै पथरघटाका जंगलमा पुगी ४ हात्ती पक्रनुभयो । २/४ बाघ र हरिनहरू धेरै मार्नुभयो । तहाँदेखि कडरवना गढी छाउनीमा पाउ लाग्नुभयो र ताहाका रैतीहरू आई सामेल भया । सबैलाई खातिर गर्नुभयो । केही रकम कलम पनि छोडी रैतान राजि राखी तहाँबाट रवाना भै आफ्ना मुलुक छोडी अंग्रेजका मुलुकमा ढाका भन्याको गाउँमा फौज पलटनसमेत ली छाउनी डेरा गरिबक्सनुभयो ।

पटना र कलकत्ता 

तेस्तै रीतले ७ दिनमा पटना शहर किल्ला कमरेमा श्री माहीला साहेबका हवेलीमा वास डेरा पर्‍यो । तहाँबाट दानापुर गोला घर उत्तरतर्फका कोठीमा डेरा पर्‍यो । तहाँका अंग्रेज बडा साहेबहरू आई बडा खातिर गर्‍या । फौज, पल्टन खडा गरी १९ तोपको सलामी गर्‍या । सबै पल्टनिया मुल्कीसाहेवान्‌हरूले खुसी भै मीजायस गर्‍या । अब हजुर बिलायत जान पाउ लाग्नुभयो, अब दुई सरकारको एक चित्त दोस्त रहला फौज, पल्टन, दुनियाँदार सुख भोगनन्, सबै कुराको बढीया होला भनी बडा खुसी भै खातिर गर्‍या ।

अब बाटालाई चाहिन्या मद्दत जो चाहिन्छ फर्माउनु भया, हामी ताकिती गर्छौं भनी बिन्ती गर्‍या । सवारीलाई धुँवाकसको जहाज र रसद चाहिन्या सराजाम तयार गरी १ कपतान् पाउ रखवारी खटाइ दी रवाना गरिदिया । अग्निबोटमा सवारि भै सुन्दरवनाको बाटो गरी कलकत्तातर्फ पाउ लाग्नुभयो ।

११ दिनमा कलकत्ता शहरका चानपाल घाटमा उत्रनुभयो । तेस बखतमा कस्तो भयो भन्या कलकत्ता शहरका फौज पल्टनको परेठ खडा थियो, पातसाही बाजा बजाउन लाग्याका थिया र तोपका बढाइ हुन लाग्याको थियो । अंग्रेजी मुल्की साहेबान, मीमसाहेब, लेडि साहेबहरू बग्गीमा सवारी भै आयाका थिया । शहरवासी छोटा, बडा बिलकुल सामेल थिया । सवा लाख आदमीको भिड थियो । त्यसै बखतमा बडा साहेबहरू आई टोप उतारी खातिर गर्‍या । बडा खुसिनामा भयो । अब हजुर लंडन बेलाइत पाउ लाग्नुभया पछि दुवै सरकारको बढिया भयो ।

पछि पर्यन्तसम्म एक चित्त रहनजाला, दोस्तानमा खलबल हवैन । २ तर्फका भारदार, फौजी, पल्टन, महाजन, दुनियाँदार सबै राजी रहनन् । आजसम्म हिन्दूस्थानका पातसाहा, नवाव, राजा, भारदार कसैले बेलाइत जानाको मनसुवा गर्‍याका थिएन । आज हजुर बडा प्रतापी अकलमन्द हुनाले बेलाइत जानको मनसुवा राख्नुभयो । बडा फाइदा हुन्याछ । क्या अर्थले भन्या, जस्तै महतारीका गर्भमा दस मास रहँदा केही देखिँदैन, जन्म भयापछि नजर खुल्दा पृथ्वी, आकाश, चन्द्र, सूर्यको दर्शन पाउँदा त्यो बालखलाई बडा आश्चार्य हुन्छ, त्यस्तै गरि पाउ लाग्नुहुँदा बाटामा समुद्रको बाहाड हुन्छ, नाना तह्रको जानवर देखिन्छन् । समुद्रको स्वभाव बुझ्दा आफुलाई धेरै अकल बढ्छ । बीचमा ५/६ पातसाहाको मुलुक देखिन्छन् ।

बेलाइत पुग्यापछि बाह्र टोपी बेलाइतका रजिडन्ड, भारदार, महाजन बस्याका छन् । तिनीहरूसित भेट मुलाकाट हुँदा त्यो मुलुक देखदा धेरै फाइदा हुन्याछ । अब उप्रान्त हजुरलाई जो चाहिन्छ सो माफिक फर्माउनु भया हामी ताकिती गरुँला । सहर कलकत्तामा भयाको चिजबिज नजर हुन्छ भन्या नजर गराउँला औ गढी, किल्ला, फौज, पल्टन, खर्खजना, हातहतियार, कलघर, नाच, तमासा, नजर गराउँला । हजुर जाहाँ पाउ लाग्नुहोला साहेवानहरू बडो खातिर गर्नन् ।

बेलायत जाँदा बाटामा बडाबडा सहर छन् । तहाँ बडाबडा साहाबान् लाठ डुक, जर्णेल, कर्णेल, जग्गा बीच जग्गाका, पातसाहासित भेट् मुलाकात होला । हजुरलाई १९ तोपको सलामी दिनन् । गढी, किल्ला, नाच तमासा, फौज, पल्टन नजर गराउनन् । जग्गा जगामा जाफत गर्नन् बडा खातिर गर्नन् भनी लाठ डिपटी पारमिन्ट कोसिलिया साहाबान गैह्रले बिन्ती गर्‍या । डेरासम्म पुर्‍याई डेरामा झारू बढारू गर्न्या टहलुवा र ड्यौडीमा पहरा राखी बिदा भै गया ।

भोलिबेर असी गोटा खसी, १० मुरी चावल, यही भन्सार च्युरा, नुन, घ्यू, तेल, बेसार, हलवाईका रोटी, मोरवा, अचार, दही, केराउ, खोरसानी, तमाखु, पान, सुपारी, फलफूल, मसला, जो चाहीन्या सारजामसँग भारी ज्याफत, दिया । नेपालदेखि पाउ रखबारी गयाका रैफल पल्टन बादसाही बाजा बजाउन्या बाजावाल लाजिमा गैह्र, ताहाँ रह्याका टहलुवा ड्यौडीदार वारिका माली ६०/५० जना सबैलाई २०/२५ दिनसम्म खान्या सारजाम पुग्यो खाँदै रह्या । तहाँदेखि २ घडी रात जाँदा श्री प्राइम मिनिष्टर साहेब उनैका २ भाइ पगरि गैह्रलाई नाच तमासा हेर्न आउनु भन्या लाठबाट निमता पठाया र पाउ लाग्नुभयो ।

सबै पगरीसमेत दरबारमा पाउ लाग्नुभयो । तहाँका साहाबानहरू तिनका मीम लेडी साहेबहरू भारि गहना पोसाक लाई हजार बाह्र सय पातसाहि बाजका चालमा बैठकमा नाच तमासा गर्न लाग्याका थिया । तेस बीचमा श्री प्राइम मिनिष्टर साहेब पुग्नुभयो र लाठ साहेब लेडी साहेबहरूले गुडुमानी खातीर गरी कुर्सिमा बसाई नाच तमासा देखाया । ताहाँ खान्या सराजाम तयार थियो र ली खान बस्या र सबैले हातमा श्रापका (रक्सी) प्याला ली बस्या । एक साहेब उठ्या र कुइन वीकटुरियाकी जैरहे, प्रिन्सालट (प्रिन्स अलवर्ट) की जैरहे, लाठ रिलहुसि (डलहाउसी) की जैरहे, नेपालका श्री प्राइम मिनिष्टर याण्ड कम्यांडर इनचिफ जनरल जङ्गबहादुर कुँवर राणाजीकी जैरहे भनी चारका नाउँ प्याला उठाई सबैले खाया, भोज खादामा यस्तो रीत रहेछ ।

भोलिबेर कलकत्ता सहर छाउनी, अड्दा, किल्ला, वागबगैँचा, तलाउ, सहर, बजार, पानीमा कलघर, कपडा बन्या, केप बन्या, रुपैयाँका टक मार्न्या, पैसाका टक मार्न्या, चिठ्ठी-कागजमा छाप मार्न्या, कलले गर्‍या काम भित्र-बाहिर सबै अनौठा काम देखाया । ताहदेखि श्री प्राइम मिनिष्टर साहेबबाट म श्री जंगनाथको दर्शन गर्न जान्छु जग्गा-जगामा मियानाको डाक बसाई देऊ भनी मर्जी भयो र उही घडी डाकको खाना भयो ।

कलकत्तादेखि ४ दिनमा ठाकुरका पुरिमा पुगी दर्शन गरी नित्य पूजालाई चार हजार रुपैयाँ अठका राखी चार दिनमा कलकत्ता दाखिल हुनुभयो । ताहाँदेखि २०/२२ दिन मुकाम भयो । जो चाहिन्या सराजाम असबाब हटन भंन्या धुँवाकसको जहाजमा भर्ना गरी त्यसै जहाजमा सबार भै बेलाइततर्फ पाउ लागनुभयो ।

(कमल दीक्षित सम्पादित ‘जंगबहादुरको बेलाइत यात्रा’बाट ।)

सम्बन्धित समाचार