मंगलबार , जेठ १९, २०८३

युयुत्सु (कथा)

हामीले एक कम्बल बिछ्याउने र दुई कम्बल ओढ्ने निर्णय गर्‍यौँ । हामी दुईको बिचमा कमरेड जलजला सुत्नु भयो । भन्न मिल्छ, 'द्रौपदीको दायाँबायाँ नकुल सहदेव सुतिरहेका छन् ।'

image

– एमपी केयरलेस

मास्टर आफ्ना छोराछोरीलाई लाटिनको उज्यालोमा सुनाइरहेका थिए, ‘यदि ईराभानले आफ्नो शरीरका बत्तिस टुक्रा नचढाएको भए पाण्डवहरूले महाभारत जित्ने नै थिएनन् । माओवादी भनेका ईराभान हुन । अर्जुनको छोरा ईराभान जस्तै आफ्नै बलि चढाउने । उनीहरू महान् छन्, देशका लागि हरदम सहिद हुन तयार छन् ।’

ढोका ढक्ढकियो । मास्टरले ढोका खोल्न छोरालाई पठाए । कमरेड अग्नि र  आवाज कोठा भित्र पसे । उनीहरूको अनुहारमा लामो थकाई देखिन्छ । तर ओठमा एक मीठो मुस्कान छ । मानौँ उनीहरूले क्रान्ति सफल गरी आएका छन् । र, त्यही मुस्कान उनीहरू जनताको ओठमा लगेर राखिदिने छन् ।

त्यही मुस्कान देखेर त होला । ‘लाल सलाम कमरेड’ भन्दै मास्टर जुरुक्क उठे । कमरेड अग्नि र आवाजसँग पालैपालो गरि हात मिलाए । अँगालोमा लिए । कमरेडहरूले मास्टरको हातलाई दरिलो गरी झड्का दिएका थिए । यस्तो लाग्थ्यो, त्यो दरिलो हात मिलाएर कमरेडहरू जनतालाई विश्वास दिलाउन चाहन्छन्, ‘हामी भित्रको साहस, विश्वास र क्षमतामा कुनै कमि आएको छैन । तपाईँको सपना मर्ने छैन ।’

केटाकेटी निस्किए । मास्टरले ढोका ढप्काए, अल्गो लगाए । र बिस्तारै भने (मानौँ कि बाहिर दुस्मन  छन्), “आक्रमण भयो, बैङ्क लुटिए भनेर समाचार आएको दिनदेखि म कमरेडहरूको बाटो हेरिरहेको थिएँ । यसपालि आउन अलि बढी समय लगाउनु भयो । हैन र ? मन खुब अत्तालिएको थियो ! ”
कमरेड अग्निले मुस्कुराउँदै भने, “यसपालि बाचियो भन्नुस् । कन्सिरी छोएर गोली जान्थे ।”

केही समय चुप बसेपछि मास्टरले भने, “कमरेड जलजलाको कुरा के हो ?”
कमरेड अग्निले अलि झिजो मानेझैँ गरी भने, “त्यसको बारे मलाई नसोध्नु । कमरेड आवाजलाई सोध्नुहोला । त्यसका बारे  ।”
“कमरेड द्वन्दले के त्यसो  गर्नु भएकै हो त ?” मास्टरले त्यसो नहोस् भन्ने आश मिश्रित स्वरमा सोधेका थिए ।

यतिकैमा ढोक ढक्ढकियो । कमरेड आवाजले ढोका खोले । दूध ल्याएर मास्टरनी आएकी रहेछन् ।
‘कमरेड लाल सलाम ।’,  कमरेड आवाजले सानो तर दरिलो आवाजमा बोले । मास्टरनीले पनि मसिनो आवाजमा ‘लाल सलाम’ भनिन् । तर त्यो आवाज कसैले सुनेनन् ।
कमरेड अग्निले पनि ‘लाल सलाम कमरेड’ भन्दै दूधको गिलास समाए । यसबेला पनि मास्टरनीले लाल सलाम कमरेड भनेकी हुन् तर अग्निले पनि सुनेनन्, त्यो आवाज ।

‘दुब्लाउनु भए छ त ?’ मास्टरनीले  सोधिन्  । सायद उनले दुवै कमरेडलाई सोधेको हुनुपर्छ ।
तर कमरेड आवाजले मुस्कुराउँदै भने, ‘कमरेडको हातको खान नपाएर होला नि ।’

कोठामा हाँसो गुन्जियो । लाग्थ्यो, क्रान्ति सफल भयो । त्यही हाँसो बिच मास्टरनी बोलिन्, ‘खाने मन भएको मान्छेले जङ्गल छिर्नु हुन्थेन नि कमरेड ।’  फेरि कोठामा हाँसो गुन्जियो ।
मास्टरले बिचमा प्याच्च  बोले, ‘तँ केटाकेटीलाई खाना खुवाउँदै गर् । त्यसपछि कमरेडहरूलाई खुवाउनु पर्छ । कि केही सगुन ल्याउनु भएको छ कमरेड ?’
“छ न त छ, फेरि मान्छेलाई खाएको मन पो नपर्ने हो कि ?’ भनेर कमरेड आवाजका आँखा मास्टरनी तिर गए  ।

मास्टरनीका आँखा र ओठ एकै साथ बोले, “कति न हामीलाई सोधेरै खाने जस्तो ।” फेरि कोठामा हाँसो गुन्जियो ।
कमरेड आवाज र मास्टरनीका आँखा केही बेर जुधिरहे । तर मास्टर हाँसेका थिएनन् । उनले मास्टर्नी तिर हेरिरहेका थिए । खासमा भन्ने हो भने मास्टरलाई कमरेड आवाज र मास्टरनीसँगै हाँसेको मन पर्दैन । फिटिक्कै मन पर्दैन ।

पहिला पहिला त्यस्तो मन नपर्ने हुन्थेन । अचेल चाहिँ मन पर्दैन । बस त्यति हो । यति पनि हैन, यसभन्दा अघिल्लो पाली यसरी नै कमरेड आवाज र अग्नि सगुन बोकेर आएको दिनको कुरा हो । कमरेड आवाज, अग्नि र मास्टर बसेर रक्सी खाइरहेका थिए  । पिसाब फेर्न जान्छु भनेर  कमरेड आवाज  बाहिर गएका थिए । उनी भित्र आएका थिएनन्  । केही बेरपछि मास्टर पिसाब फेर्न भनेर बाहिर निस्केका थिए । त्यही बेला कमरेड आवाज भान्साबाट बाहिर निस्केका थिए । पिसाब गरेर मास्टरले भान्साको ढोका भित्र चिहाएका थिए । केटाकेटी थिएनन् त्यहाँ मास्टरनी मात्रै थिइन । चुला छेउ बसेकी । त्यस दिनदेखि कमरेड आवाजको कुरा सुनेर मास्टरनी हाँसिन भने मास्टरलाई त्यो हाँसो मन पर्दैन ।

मास्टरनीले भुटेका भट्टका गेडा र तरकारी भएको एउटा थाल अनि तीन गिलास ल्याएर राखिदिएपछि कमरेड आवाजले झोलाबाट एक प्लास्टिकको ग्यालेन निकाले ।
ग्यालेनको बिर्को खोल्दै कमरेड अग्निले भने, “एउटा गाउँमा पसेको रक्सी नास गरौँ भनेर । पाँच/पाँच सय दिन सब तयार भए । दस हजार उठ्यो । उनीहरूको रक्सी पनि बच्यो । एक सालेले पैसा दिन मानेन । यही ग्यालेन उठाएर हिँड्यौ, बाँकी पोखिदियौँ ।”

कमरेड अग्निले नै भने, “कोदोको चिजको त्यसरी खोलो बग्दा मन अमिलो भएर आउने ।” कोठाको हाँसोले उग्र रूप लियो ।

त्यसपछि बल्ल सुरु भएको हो,  पार्टीको  भावी योजना र  रणनीतिको कुरा ।  माव, लेलिन, स्टालिन, च्चे ग्वेभाराले श्रमिक  वर्गका लागि के दिए भन्ने कुरा  । कुरै-कुरामा मास्टरले सोधे, “के साँच्चै कमरेड द्वन्दले त्यसो गर्नु भएको हो त ?”
कमरेड अग्निले हाँस्दै भने, “आवाज कमरेड अब त केही बोल्नुस् । जलजला को हो चिनाउनुस् ।”

आवाज सरले बिस्तारै बोल्न सुरु गरे । मास्टरले कान उनको मुख नजिक लगेर राखे । जस्तोकी बन्दुकको अगाडि छाती ।
“सर जलजला होइन, त्यो द्रौपदी हो ।  हाम्रै बटालियनका आधाभन्दा बढीसँग सुत्छे त्यो । कमरेड द्वन्द्व फस्नुभएको हो । उहाँलाई फसाइएको हो। उहाँ निर्दोष हुनुहुन्छ । उहाँले झैँ गरी कसैले हतियार चलाउन नै  सक्दैन ।”
मास्टरले अलिकति लेघ्रो तानेझैँ गरी भने, “ए, त्यस्ती पो हुनुहुन्छ कमरेड जलजला । तपाईँले पनि राइफल चलाउनु भयो कि क्या हो ?”

दारुले हुनुपर्छ (दारुले नै हो) आवाज कमरेडका आँखामा केशरी रङ चढ्न थालेको थियो । रगतको रङ, क्रान्तिको रङ्ग ।
उनले फेरि एक घुट्को लिँदै भने, “एक पुसको चिसो दिन । साँच्चै त्यो दिन असाध्यै चिसो थियो । बाहिर हावा हिउँ बोकेर हिँडिरहेको थियो । दुस्मनको छुराभन्दा पनि तीखो थियो, चिसो  । हामीले खानामा थोरै आलु खान पाएका  थियौं । कति आलु भने, एक जनाले ती सबै आलु खान सक्थेन तर, दुई जनाको पूरा पेट भरिन्थेन । त्यो दिनको दुःख सम्झिने हो भने भोको पेट नै भनौँ ‘हामी सुतेका थियौं ।’ हामी निदाउन पनि सकिरहेका थिएनौँ । दुस्मनले हामी माथि धावा बोल्यो । म ज्यान जोगाउन सफल भएँ । साथीहरू पनि सबै सफल भएका थिए  तर, हामी तितरबितर भयौँ । धेरै साथीहरूले आफूले ओडेको कम्बल समेत टिप्न भ्याउनु भएन । धन्न मैले टर्च र कम्बल दुवै  टिप्न भ्याएछु  । त्यो रात जुन पनि चहकिलो थियो । सायद पूर्णेको दिन हुनुपर्छ त्यो । भाग्दा पनि डर लागिरहेको थियो, कोही देखिहाल्छ कि भनेर।”

उनले अगाडि थपे, “म एक पुरानो भेडी गोठमा पुगेँ । त्यो भेडी गोठमा ढोका थियो तर, कब्जा थिएन । भेडी गोठमा भेडा थिएनन् तर, बड्कुँला थिए । म भेडी गोठको एउटा कुनामा गएर थपक्क बसेँ । सास पनि नफेरी भन्न मिल्छ । म पुगेको केही बेरमा नै, मैले भेडी गोठतिर मान्छे आइरहेको  आभास पाएँ ।  मलाई लागिरहेको  थियो, आज दुस्मनले मलाई फेला पार्छन् । म एकदम डराएको थिएँ । मैले म बाच्ने सम्भावना कतै देखेको थिइनँ । त्यसबेला मैले मेरो कुलदेवतालाई खुब सम्झिएँ । मैले नाम थाहा पाएजतिका सबै देविदेउताको नाम क्रमशः लगिरहेको थिएँ ।”

‘मैले देखेँ, ढोकाबाट अलिकति भित्र पसेको जुनको उज्यालोमा ती मान्छेहरू हतारिँदै भित्र पसेको । मलाई लाग्यो आज मैले सहादत प्राप्त गर्ने भएँ । लाग्यो, क्रान्तिमा धक्का पुग्ने भयो । केही बेरमा उनीहरूमध्ये एक जनाले भन्यो, “कमरेड हामी यहाँ सुरक्षित रहन्छौ सायद । मेरो टर्च उतै छुटेछ । तपाईँसँग टर्च छ ?” त्यो आवाज एकदम सानो थियो । तर, मैले त्यो आवाज एकदम स्पष्टसँग सुने । मैले सुनेको आवाज कमरेड पत्थरको थियो,’ कमरेड आवाज बाँकी कथा सुनाइरहेका छन् ।

“मेरो पनि उतै छुट्यो । मलाई पनि सुरक्षित नै लागिरहेको छ ।” कमरेड जलजलाको पनि बोली सुनेँ, मैले ।

म बसेको विपरीत तिरको अर्को कुनामामा गएर उनीहरू बसे । मभन्दा करिब सात आठ फिट पर । मलाई उनीहरूसँग बोल्न मन लागेन किनकि बाहिर दुस्मन हुन सक्छन् भन्ने डर बाँकी नै  थियो । उनीहरू पनि त चुपचापले नै त बसेका थिए । यदि हाम्रो आवाज बाहिर गयो भने दुस्मनहरू भित्र आउन सक्थे । दुस्मन भित्र आए भने हामी बाहिर जान पाउथेनौँ । तीन योद्धाको एकै चिहान हुनसक्थ्यो ।

केही समयपछि कमरेड पत्थर उठेर ढोका छेउ जानूभयो । ढोकाबाट बाहिर हेर्नूभयो। फेरि फर्केर आएर जलजला छेउ जानूभयो । ढुक्कका साथ भन्नुभयो, ” अब हामी सुरक्षित छौँ । केही समय यतै बसौँ है ?”
” हुन्छ “, कमरेड जलजलाको आवाज आयो ।

मलाई खै किनकिन बोल्नै मन लागेन । मैले भने पनि हुन्थ्यो नि, ” कमरेड म यही छु ।” तर भनिनँ ।

केही बेरमा फाइरिङ सुरु भयो । बाहिर होइन, भेडी गोठ भित्र । दुस्मनले होइन, कमरेड पत्थरले । दुस्मन माथि होइन, कमरेड जलजला माथि । कमरेड जलजलाको माथि हैन, तल ।” कोठामा हाँसो गुन्जियो ।

भट्टका दाना चपाउँदै कमरेड आवाज बोल्न थाले, “फाइरिङ भइरहेको बेला कमरेड जलजलाको मुखबाट निस्केको त्यो आनन्द मिश्रित अनौठो ध्वनिले मभित्र एक युद्ध मैदान निर्माण गर्‍यो । म भित्र एकैपल्ट हजार बम पड्किएझैँ भयो । मेरो जिउ लगलग काँपिरहेको थियो ।”

मेरा काँपिरहेका हातले उनीहरूतिर तेर्साएर टर्च बालेँ । त्यो उज्यालो उनीहरूका लागि कन्चटमा राखिएको बन्दुक जस्तो भयो । तिनीहरू एकाएक रोकिए, जस्तोकी दुस्मनको अघि आत्मसमर्पण गर्ने अवस्था आइलाग्यो । उनीहरू आत्तिए । तर, आत्तिएको देखाएनन् । उनीहरू शान्त थिए । त्यो दृश्य देख्दा यस्तो लाग्थ्यो कि, उनीहरू आदिम तरिकाले सम्भोग गरिरहेको एक मूर्ति हुन् । मेरो टर्च बलिरह्यो । कमरेड  जलजला सामान्य तरिकाले  उठ्न  खोज्नुभयो । कमरेड पत्थरले आधा शरीर दबाइदिएकाले उहाँ उठ्न पाउनुभएन  ।

तर, कमरेड पत्थर एक निडर मान्छे हो  । उनले गर्विलो आवाजमा सोधे, “को हो त्यहाँ ?”
मैले ‘म हुँ’ भन्दै टर्च आफू तिर फर्काएँ ।
कमरेड पत्थर ‘ए कमरेड आवाज  पो’ भनेर चुप लागे । जब मैले टर्च फेरि उता फर्काए कमरेड जलजला हाँसिरहेकी थिइन्।

कमरेड पत्थरलाई केही काम सक्नु थियो, त्यसैले उहाँले भन्नूभयो, “कमरेड आवाज अहिले हजुरको आवाज बन्द राख्नुस् । क्रान्तिमा हजुर पनि हिस्सा लिन पाउनु हुनेछ । नपत्ताए कमरेड जलजलालाई सोध्नुस् ।” मैले आस राख्दै कमरेड जलजलातिर टर्च सोझ्झाएँ । उहाँले मुस्कुराउँदै टाउको तलमाथि गर्नुभयो । अनि  मैले टर्च बन्द गरिदिए । त्यसपछि  उनीहरू सुरु भए । कमरेड पत्थर केही समयपछि बन्द भए । त्यस पछि म सुरु भए । जलजला कमरेड पछि मसँगै बन्द हुनुभयो । धन्न त्यस रात उनीहरूले पनि कम्बल टिप्न भ्याएका रहेछन् । हामीले एक कम्बल बिछ्याउने र दुई कम्बल ओढ्ने निर्णय गर्‍यौ । हामी दुईको बिचमा कमरेड जलजला सुत्नुभयो । भन्न मिल्छ ‘द्रौपदीको दायाँबायाँ नकुल सहदेव सुतिरहेका छन् ।’ कोठामा  हाँसो गुन्जिरह्यो ।

हाँसोको बिचमै  मास्टरनी कोठामा पसिन र भनिन्, “रातभरि हाँस्ने हो कि ? खाना पनि हाल्ने हो, पेटमा ?”
कमरेड आवाजले मायालु तरिकाले बोले -“कमरेड ,  अलि पछि हालौला नि है ? हुँदैन र ?”

मास्टरनी फेरि झर्केझैँ गरी बोलिन्, ” हैन, बरु म यतै ल्याइदिन्छु । अब खान पर्‍यो ।”
मास्टरनी बाहिर निस्किसकेपछि कमरेड आवाजले बाहिर हेर्दै भने, “म पिसाब फेरेरआउँछु हैत।”
कमरेड आवाजको बोली भुईँमा खस्न नपाउँदै मास्टरले भने, “म पनि जान्छु ।”

तिनै जना खाना खाइसकेपछि पहिले नै बसिरहेको कुर्सीमा बसे । मास्टरनी आएर बेडेमा बसिन ।

कमरेड अग्निले कुर्सी छेउमा राखेको आफ्नो ब्याग खोले । एक मुठो पार्टीका पर्चा निकाले, जसमा हाँसी हथौडा अङ्कित छाप थियो । त्यसपछि केही कपडा निकाले । अन्त्यमा एक सानु कपडाको पोको निकाले । पोकालाई आफ्नो काखमा राखेर खोले, त्यसमा पैसाको एक बिटो थियो । उनले त्यो पैसाको बिटो मास्टरतिर बढाए, “गन्नुस् त कमरेड, असी हजार होला !”

मास्टर पैसा गन्न थाले । ‘उनान्असी, असी- अ पूरा असी हजार छ, यसपाला यत्ति हो र क्याँस”, मास्टरले अलि दबेको स्वरमा बोले ।
उनको उत्तर नदी कमरेड अग्निले काखमा राखिएको पोकोबाट तीन वटा तिलहरी निकाले । तिलहरी मास्टरलाई दिँदै भने, “अनि यी तीन तिलहरी पनि ।”
मास्टरले आफ्नो हातको असी हजार मास्टरनी तिर बढाए, मास्टरनीले असी हजारको बिटो समाएर आफ्नो बाँधिएको साह्रीमा कोचिन ।
कमरेड अग्निले फेरि पोका बाट एकएक गरी औँठी उठाए, ती औँठी मास्टर तिर बढाउँदै भने, “चार औँठी ।”
उनको पोकामा एक तिलहरी अझै बाँकी थियो । त्यो तिलहरी कमरेड आवाजले उठाए र मास्टरनीलाई दिँदै भने, “यो एउटा हाम्री भान्से कमरेडलाई ।”

मास्टरनी आफ्नो सक्दो क्षमताका साथ मुस्कुराइन । उनको मुस्कान देखेर मास्टर पनि रातै भए ।
कमरेड अग्निले बिस्तारै भने, “कमरेड क्यास सत्र लाख तीस हजार पुग्यो । तिलहरी एक्काइस वटा । औँठी  एघार ओटा । चाँदीका बाला  उनन्तिस ओटा  पुगे है !”
‘हजुर कमरेड’, मुस्कुराइरहेका मास्टरले भने । मुस्कुराउँदै फेरि थपे, “कमरेड यसपाला अलि कम हात लागे छ है ?”

कमरेड आवाजले बोले,”यसपालि मेरो हात त केही लागेको होइन । सब अग्नि कमरेडको हात लागेको हो । त्यसमा पनि  मैले दौँडिदा हराएछु । कमरेडले मेरो हातमा पोको ‘नबानी’ दिनुभएको रहेछ ।  दौँडिदा चार औँठी, एक तिलहरी र दुई बाला कता हरायो कता ?”

कमरेड आवाजलाई रोक्दै कमरेड अग्नि बोल्नुभयो -“यसपालि बाँचियो यो नै ठुलो कुरा हो । म भित्रै थिएँ । दुस्मनको टार्गेट नै भित्र थियो । बोरामा पैसा कोचिरहेको थिए । डरले गर्दा होला सबै बोरामा कोचे गोजीमा यही एक बिटो मात्र कोच्न पाएछु ।”

कमरेड आवाजले बिस्तारै भने -“यसपालि बोरा पनि बोक्न पाइएन । हिँड्दा हिँड्दै एक दुई बिटो निकाल्न हुन्थ्यो ।”
मास्टरनीले अलि हेपाहा भाषामा भनिन् -“माग्नु पर्थोनी, म बोक्छु भनेर ।”
कमरेड आवाजले हाँस्दै भने -“पैसा बोक्ने रहर गरेको भए बाँच्ने रहर सकिन्थ्यो कमरेड  ।”
मास्टरले कस्तो न कस्तो मुख लगाएर भने -“पैसा अलि बढी नै भइसक्यो । के गर्ने हो भन्नुस् कमरेड ? कसैले यो कुरा चाल पायो भने खतरा हुन्छ ।”

केहिबेर मौनता छायो । मास्टरनीले  जिउ तन्काउँदै भनिन् -“मलाई त निद्रा लाग्यो म सुत्छु, कमरेडहरू कुरा गर्दै गर्नुस् ।”
मास्टर्नी बाहिर के निस्केकी थिइन । आवाज भने -“म पिसाब गरेर आउँछु हैत ।” उनको बोली भुईँमा खस्न पाएकै थिएन । मास्टरले पनि मास्टरनीकै झैँ जिउ तान्दै भने -“कमरेडहरू थाक्नु भयो होला, सुतौँ आजलाई है त । म पनि निस्किए हैत ।” भन्दै मास्टर आवाज कमरेडभन्दा पहिला बाहिर निस्किए ।
मास्टर ढोका बाहिर पुगिसकेका थिए । कमरेड अग्निले भने -“कमरेड त्यो के गर्ने भनेर म र आवाज कमरेड सल्लाह गर्छौ । केही दिन भित्र हामी दुई मध्य एक जना आएर त्यसलाई लिएर जान्छौ ।”

बिहान आँखा खोल्दा माथिल्लो तलाको उत्तर तर्फको कोठाबाट आवाज आइरहेको थियो ।
“लडाइँ सुरु हुने बेला युयुत्सु कौरवदेखि पाण्डवतिर गए । त्यो उनको सही कदम थियो, त्यो समयका लागि । कुर्नुपर्छ सही समय आउनका लागि । हरेक समय सही समय हुँदैन । छापामार भनेका युयुत्सु हुन । उनीहरू सत्यको लडाइँमा जनतासँग आए ।
बिहानै भालेले क्रान्तिको बिगुल फुक्नु भन्दा अगाडी, सुर्यले पूर्वको क्षितिजमा क्रान्तिको रातो झन्डा गाड्नु अगाडि नै कमरेड अग्नि र आवाजले मास्टरको घर छोडिदिए ।

केही समय शान्त बित्यो । खोला नाला पोखरीको पानी सुक्दै गइरहेको थियो । गुराँस फुलिरहेका थिए । ऐँसेँलु, काफल पाकिरहेका थिए । तर पनि समाज शान्त थियो । एकदम  शान्त । मानौँ कि क्रान्ति बन्द भइसक्यो । कोइली सोधिरहेको थियो -“को हो को हो” भनेर  । मान्छे त्यही सुन्दै जौ/गहुँ काटिरहेका थिए  । मान्छे यसैयसै खुसी जस्ता देखिन्थे ।

एक बेलुका सरकारी रेडियोले भन्यो -“आज दिउँसो करिब बाह्र बजेतिर परिवर्तनको उकालोमा  पुलिस र क्रान्तिकारी बिच दोहोरो झडप हुँदा अग्नि नाम गरेको एक माओवादीको मृत्यु भएको छ । सो व्यक्ति माओवादी ठुलो पदको हुनसक्ने आशङ्का पनि  गरिएको छ ।”

समाचार सिङ्गो देशले सुन्यो । कमरेड आवाजले सुने । मास्टर मास्टरनीले सुने । देशमा एक तरङ्ग पैदा भयो । त्यस तरङ्गको केन्द्र बिन्दु कमरेड आवाजको मन थियो । कमरेड अग्नि मास्टरबाट लिएर पैसा र गहनालाई सही ठाउँमा राख्ने सोच सहित परिवर्तनको उकालो उक्लेका थिए । तर अब उनी कहिल्यै तल नझर्ने भए । उकालो चढ्दा चढ्दै मरे । यही सम्झेर कमरेड आवाजको आँखाबाट दुई थोपा आँसु झरे, ‘तप्प…. तप्प…. ।’

त्यसपछिका दिनहरूमा कमरेड आवाज उकालोमा सहिद बनेका कमरेड अग्निलाई सम्झिन थाले । सम्झन थाले, ‘सत्र लाख तीस हजार,  एक्काइस वटा तिलहरी, एघार वटा  औँठी र उनन्तिस वटा चाँदीका बाला ।’

ती दिनहरूमा कमरेड आवाजले मनमनै देशको कसम खाँदै सोचिरहन्थे  -” कमरेड अग्नि देशका खातिर उकालोमा सहादत प्राप्त गरे । त्यो सम्पत्तिको आधा हिस्सा उनी अग्नि कमरेडको घरमा लगेर दिँदै भन्नेछन्, यो हाम्रो  पार्टीको तर्फबाट कमरेड अग्निलाई  समवेदना हो ।”

एक औँसीको रात, कोठा भित्र लालटिनको उज्यालोमा मास्टर आफ्ना छोराछोरीलाई सुनाइरहेका थिए -“शिखण्डी अगाडि नलागेको भए भीष्म पितामाह मर्ने थिएनन् । जनता भनेका शिखण्डी हुन्। माओवादी भनेका अर्जुन हुन् । उनीहरूले तब मात्र हतियार चलाउन सक्छन् जब जनता शिखण्डी भएर अगाडि लाग्छन् ।”

ढोका ढकढकियो । ढक ढक ।
ढोका खुल्यो । कमरेड आवाजले भित्र पस्तै भने -“लालसलाम कमरेड ।” उहीँ दरिलो हातले मास्टरसँग हात मिलाए । हात झड्कारे । त्यो हातको दरिलोपनाले अझै विश्वास दिइरहेको थियो । ‘कमरेड अग्निले उकालोमा सहिद भएर के भो त ? हामी भित्रको साहस, विश्वास र क्षमतामा कुनै कमि आएको छैन । तपाईँको सपना मर्ने छैन ।’

मास्टरनीलाई हेर्दै भने -” लाल सलाम भान्से कमरेड ।” अघिपछिको भन्दा अलि बढी मुस्कान सहित ।
भान्से कमरेड मुस्कुराइन मात्रै । उनको मुस्कान कमरेड आवाजको भन्दा कम भने  थिएन ।

केटाकेटी माथिल्लो तलाको माथिल्लो कोठामा गए । मास्टरले ढोका लगाए ।
कमरेड आवाजले कुरा सुरु गरे -“कमरेड अग्निको सहादतले म मर्माहत भएको छु । कसैले सुराक गरेजस्तो लाग्छ मलाई  त ।”
कसैले केही बोलेन ।

“के  गोली छातीमा हानेका थिए कमरेड ?”- कमरेड आवाज नै बोले ।
मास्टरले ‘हो’ मात्र भने ।

“कति गोली हानेछन् ?”- फेरि कमरेड आवाजले सोधे । यसको उत्तरमा उनी एक गोली भन्दा बढी सुन्न नै चाहन्थेनन् । तर मास्टरले भने -‘तीन।’
कमरेड आवाज नमज्जाले कुर्सीमा अडेस लागे, मानौँ ती तीन गोली उनैलाई लागेको हो । कोठामा सन्नाटा छायो । जस्तो कि कमरेड अग्निको लास उनीहरूको अगाडी पल्टिरहेको छ ।

“कमरेड खाना खाऊ ?” मास्टरनीको मसिनो बोलिले कमरेड आवाजमा ऊर्जा ल्याइदियो । उनले छापामारको शैलीमा सोधे -” दुस्मनहरू यहाँ गाउँ किन आएका रैछन् ?”
मास्टरले भने -” खै किन आउँदै थिए ? त्यही तल्लो थुम्कोमा जम्काभेट भएछ ।”

जम्काभेट यो शब्द सुन्नासाथ आवाजको मनमा डर पस्यो । के कमरेड ओरालो झरिरहेका थिए ? के कमरेड अग्निले सत्र लाख तीस हजार ,  एक्काइस वटा तिलहरी, एघार वटा औँठी लगेर फर्किरहेका थिए ? यदि कमरेड अग्नि ओरालोमा मारिएका हुन् भने पैसा र गहना कहाँ गए ? उनको ओठमुख सुक्यो । उनले आउन सक्ने सम्भावित उत्तरको कल्पना गर्दै सोधे -” अनि पैसा कमरेड ?..”
बाँकी उनले सोध्नै सकेनन् ।

मास्टरले पनि  निदाउरो मुख लगाउँदै  भने -“अग्नि कमरेड सबै लगेर जानुभएको थियो ।”
कमरेड आवाजको रङ्ग उड्यो । उनी एकाएक बेरङ भए । मुखको पानी सुक्यो । मानौँकी उनलाई गोली लाग्यो । गोली लागेको मान्छेझैं गरि उनले सोधे -“के सप्पै लिनुभयो ?”
मास्टरले सान्त्वना दिने स्वरमा भने -” हजुर, सप्पै लिनुभयो । सब गयो कमरेड “

कमरेड आवाजले टाउकोमा यसरी हात लगाउनु भयो कि उनले युद्ध हारे । उनकासामू आत्मसमर्पण बाहेकको अर्को विकल्प छैन । टाउकोमा हात लगाएकै अवस्थामा सोधे -“त्यसो भए के सब पैसा दुस्मनको हातमा पर्यो ?”
मास्टरले केही बोलेनन्, मास्टरनी बोलिन -“त्यो त भन्न सकिन्न कमरेड, तर ओरालोमा मारेका हुन् ।”

लामो सुस्केरा चुटिसकेपछि केहि सम्झे गरि भने -“समाचारमा त ओकालोमा मारेको भनेको जस्तो लाग्छ कमरेड ।”
“हैन कमरेड, अग्नि कमरेडलाई ओरालो झरिरहेको बेला मारिएको हो ।” मास्टरनीले नै भनिन् ।
“उकालोमा भन्या जस्तो लाग्थ्यो ।” भनेर कमरेड आवाज चुप लागे ।
मास्टर बिस्तारै बोले  -” कमरेडले हामी माथी शंका गर्नु भएको हो ?”
कमरेड आवाजले मास्टरतिर हेर्दै भने -“हैन कमरेड, समाचारको कुरा गरेको । समाचारमा बरामद गरेको भनेर पनि भनेन ।”
मास्टरनीको   स्वर सुनियो  -” कमरेड पैसा बरामद भयो कहाँ भन्छन् ? उनीहरु त झन खान पल्केका छन् । हाम्रो युद्ध पनि त्यसैका विरुद्ध त हो ।”

फेरि उहीँ घना शान्ती छाहिरह्यो । कमरेड आवाजले एक अम्खोरा पानी खाए । जुरुक्क उठे र भने -“कमरेड अब म जान्छु, रात पनि ढलिसक्यो ।” कसैले केही भनेन ।

फेरि कमरेड आवाजले नै भने -”  मैले दिएको त सुरक्षित नै छन् नि कमरेड ?”
मास्टर अक्क न बक्क भए । कहिले आवाज कमरेडले उनलिई के राख्न दिए र ? उनी के बोलौँ के बोलौँ भनेर सोचिरहेका थिए । यसै बिचमा  मास्टरनिको आवाज सुनियो  -“हजुर, ल्याई दिम् र  ? ”
कमरेड आवाजले छापामारको शैलीमा भने -“चाडो ल्याउनुस  ।”
मास्टरले एकोहोरो मास्टर्निलाई हेरिरहे । मानौँ, गोप्यताको अनुहार भनेको मास्टरनीको अनुहार हो । पहिलोपल्ट उनलाई मास्ट्र्नी बाहेक अरू पनि केही देखे ।

मास्टरनी खाली हात बाहिर गइन् । दायाँ हातमा एक पोको ल्याएर आइन् । कमरेड आवाजले पोको खोलेर हेरे । उनले देखे, एक बिटो  पैसा  १३ ओटा औँठी, तीन तिलहरी र उन्तीस चाँदीका बाला । जो पटकपटकको युद्धमा हराए भन्दै उनले अग्नि कमरेडलाई झुटो बोल्दै  मास्टरनीलाई लुकाउन दिएका थिए ।

पहिले पहिले त पिसाब फेर्न गएको मौका पारेर एकान्तमा मास्टरनीलाई भेट्थे, त्यसरी नै आफुले लुकाइ राखेको गहना र पैसा दिन्थे । मास्टर मास्टरनी दुबैघरमै भएको दिन उनी पिसाब फेर्ने मौकामा भान्सा पुग्थे ।मास्टरनिको कानमा कति संख्यामा के राख्न दिदै छु भन्ने निउका मास्टरनीको कान टोक्थे । आफूतिर तान्थे । एक चुम्बन दिन्थे  ।

मास्टर घर र मास्टरनी पर सरेको दिन सम्पत्ति राख्न दिए भन्दा अरु नै बढी गर्थे । पाँच छ चोटि हो क्यारे मास्टर घर थिएनन्, कमरेड आवाज घर आएका थिए ।

आवज कमरेड निस्केको आधा घण्टासम्म मास्टर मास्टरनी एकअर्कालाई हेरि मात्र रहे । मास्टरले बोले -“तलाई कस्ले सोध्या थियो र उकालोमा मारेको कि ओरालोमा  भनेर ? जान्ने बन्ने खाली ! रण्डी यत्रो कुरा मदेखि लुकाएर राखेकी छस् । तेरो त पोइ पनि बन्यो कि क्या हो यो आवाज  मुजि ?”
मास्टरनीले चाहेको भए भन्न सक्थिन -“बेलाबेला हजुर घर नभएको मौका पारी अहिलेसम्म पाँच हो कि, छ चोटि हो कमरेड आवाज मेरो पोइ  भइसक्नु भयो  ।” भनेर ।
तर, उनी चुपचाप उभिरहिन्, मानौं कि उनले कुनै उत्तर पाइनन्  ।

मास्टर खाटमाथि बसिसकेका थिए । मास्टर्नी उभिरहेकी थिइन् । मास्टरले मास्टरनीको हात समातेर आफू छेउ ताने । आफ्नो काखमा राखे । चुपचाप मास्टरनीका ब्यालजका टाँक खोले । मास्टर रिसाएको मास्टरनीलाई थाहा छ । मास्टर रिसाए यस्तै गर्छन् । आफू पनि दिगम्बर बन्छन्, मास्टर्निलाई दिगम्बर बनाउँछन् । हुने नहुने सबै गर्न लगाउँछन् । यस्तो गराउनुलाई मास्टर सजाय दिएको ठान्छन । र, त्यो रात पनि त्यस्तै भयो। अन्त्यमा, मास्टरले  मास्टरनीको छेउमा पल्टिदै भने -“अब दु:खका दिन गए ।”
मास्टरनीले -” बिस्तारै भनिन हजुर भोलि नै गएर ब्याँकमा राखेर आउनुस् ।”

मास्टर सोचिरहेका थिए । त्यसैले केही बोलेनन् ।

कमरेड आवाज आएको चार दिन पछिको कुरा हो । मास्टर मास्टरनी बिहानै उठे । उज्यालो हुन  बाँकी थियो । भाले बास्न बाकीनै  थियो । मास्टरनीले  बेलुका ठिक्क पारेका डोरी र एउटा रुमाल समातिन्  । केटाकेटी सुतेकै थिए । एक अर्कासँग पनि नबोली उनीहरु चुपचाप हिँडिरहे । करिब बीस मिनेटपछि मास्टर टक्क अडिए । मास्टरनी पनि रोकिन् । मास्टरले आफ्नो स्विटर खोले, सर्ट खोले, पाईन्ट खोले । मास्टर अन्डरवयर मात्र लगाएर भुँइमा पल्टे । मास्टरनीले एउटा डोरीले मास्टरको खुट्टा बान्न थालिन् । त्यसप्रति मास्टरले दुबै हात पछाडि लगे, मास्टरनीले मास्टरका दुबै हात  बाधिन् । त्यसपछि  रुमालले मास्टरको मुख त्यसरी नै बाँधिन् । अनि मास्टरको कपाल बेसगरी दुई पल्ट भुत्लाई मास्टरको ‘उ उ’ गर्दै आवज निकालेपछि अब ‘म जान्छु’ भन्दै मास्टरको स्विटर, सर्ट र पाईन्ट टिपेर मास्टर्नी सरासर घरतर्फ लागिन् । मास्टर त्यसै लडिरहे ।

मास्टरनी घर पुगेपछि घोप्टाईएको डोकामाथि मास्टरका लुगा राखिन् । त्यसपछि मात्र भाले बासेको हो । बिस्तारै उज्यालो फैँलिदै गयो । मास्टरनीले  गाग्री समाएर धारामा पुगिन् । धारामा पुग्नासाथ धाराका पानी जसरी उनका आखामा आँसु आए । उनी सुँक्क सुँक्क गर्न थालिन् । उनका हात आँखातिर गइरहे । उनकाे हालत देखेर सब छक्क परे । सबै एकअर्काको मुख हेर्न थाले ।

कसैले बिस्तारै सोध्यो-“के भो मास्टरनी ? माइततिर केही भयो कि ?”
मास्टरनीले दबाई राखेको रुवाई एकाएक बाहिर निस्क्यो, अनि उनले रुँदै भनिन् -“हिजो राती तीन चार जना आएर परिवर्तनका बालाई लगेर गए ।” पँधेराको कुरा भन्दा चाँडो हिँड्न सक्ने अरु के हुनसक्छ ? पँधेरोको कुरा सुर्यको किरणभन्दा पहिले घरघर,कोठाकोठामा पुग्यो । आधाअँधुरो निद त त्यही कुराले खोलेको हो । सबैले मास्टरलाई लगे भन्ने थाहा पाएपछि, गाउँमा अनौठो डर आयो । डरको कल्पना यतिसम्म गरियो कि ‘अब कहिल्यै मास्टर आउने छैनन् ।’

सबैले गरेको भविष्यवाणी केहिबेर पनि टिक्न सकेन । लगभग सिङ्गो गाउँको भविष्यवाणी गलत ठहरियो । अचम्मै भयो भन्न मिल्छ । मास्टर जिउँदै भएको खबर आयो । गाउँबाट त्यसरी लिएकामध्ये मास्टर पहिलो हैनन् तर, जिउँदै छोडिनेमा मास्टर पहिलो भए  ।

मास्टर जिउँदै भएको खबर घरघरमा आयो । खबर के थियो भने -“मास्टरका हात खुट्टा बाँधेर मुखमा रुमाल कोचेर सहिद डाँडामा लडाइएका छन् । मान्छे रमिते बनेका छन् तर, डरले गर्दा  मास्टरलाई बाँधिएको डोरी कसैले खोल्ने हिम्मत गरेको छैन । मुखमा बाँधिएको रुमाल पनि कसैले खोल्ने आँट गरेको छैन । कसैले  खोल्ने आँट गरे क्रान्तिकारी अरू जे पनि गर्न सक्नेछन् ।

मास्टर जिउँदै भएको खबर मास्टरनीको कानमा पर्नासाथ उनी अघि डोकामाथि राखेका मास्टरका लुगा टिपेर सहिद डाँडातिर बेतोडले हानिन्, आफ्ना सहिद नभएका श्रीमानलाई भेट्न ।

मास्टरनीले पहिला मुखको रुमाल खोलिन् । त्यसपछि हातमा बाँधिएको डोरी र खुट्टामा बाँधिएको डोरी खोलिन् । आफैँले बाँधेको आफैँले खोलिन् । मास्टर चिसोले हो कि डरले हो वा अभिनय गरेका हुन ? उनी लगलग काँपिरहेका थिए, साँच्चै उनको अवस्था बिग्रिएको जस्तै थियो ।

मान्छेहरू देखिरहेका थिए, मास्टर उदास अनुहार लगाएर बसिरहेका छन् । मास्टरनीले बडो मायालु पाराले मास्टरको कपाल मिलाइदिइन् । बिस्तारै मास्टरलाई उठाइन् । मास्टर बिस्तारै उठे । मास्टरनीले मास्टरका अघि भुईँमा राखेको लुगा उठाइन् । मास्टरले सर्ट, पाइन्ट र स्वेटर लगाए । खोच्याउँदै मास्टरनीको पछिपछि लागे । त्यो दृश्य सबले हेरिरहे । उदाउँदै गरेको सूर्यले त्यो दिन त्यस बस्तीमा ऊर्जाको सञ्चार ल्याउन सकेन ।

मास्टर र केटाकेटी मिलेर लिने मिल्ने सामान पोको  पारिरहेका थिए  । मास्टरनी खाना बनाइरहेकी थिइन  ।

खाना खाइसकेपछि ।
गाउँ भरिका मान्छे मास्टरको आँगनमा उभिरहेका थिए । मास्टर आँसु पुछ्दै अघिअघि लागे  । मास्टरनी गाउँ नै थर्कने गरी डाँको छोडेर एकपल्ट रोइन्, त्यो कहालीलाग्दो रुवाई सुनेर जसको पनि मन चिरिन  सक्थ्यो । आँखा रुन सक्थे । सास एकफेरा टक्क अडिन सक्थ्यो ।  त्यसपछि मास्टरनी  हतारहतार मास्टरको पछाडिपछाडि हिँड्न थालिन । केही मेलो मेसो नपाएका दुई केटाकेटी मास्टर/मास्टरनीको पछिपछि लागे ।  मास्टरको घर उदास भएर सुनिरहेको थियो ।

‘चन्दा दिन सक्दैन भन्दा रातभर बाँधेर लडाई दिएछन् । खाना दिएकै थिए त ।’
‘जाती मान्छे थिए । उठिबास भयो । बिचरा ! जाबो एक मास्टरको कमाई नै कति नै थियो र  ?’

अचेल सहरमा मास्टरको दस ठाउँबाट कमाई छ,  इज्जत छ । सम्पत्ति छ, दबदबा छ । यसपालि मास्टर चुनावमा उठ्दैछन् भन्ने हल्ला छ, उनको पुरानो गाउँमा । कसलाई थाहा छैन र उनी द्वन्द्व पीडित हुन भन्ने ?

अचेल उनका गाउँबाट उनलाई नेता मानी कोही भेट्न सहर आयो भने मास्टर भनिरहन्छ  -“मलाई लखेटेर पठाएका होइन तिनीहरूले , दुर्योधनले पाण्डवलाई लखेटे झैँ गरी ? यहाँ आएर मेहनत गरेर देखाइदिएँ तिनीहरूलाई । तिनीहरूले जनताका छोराको बलि दिएका हुन् । क्रान्तिकारी भनेका कौरव हुन् सत्ताका लागि सत्यलाई मारिदिन्छन् । तिनै चोर/डाँकाहरूलाई देखाइदिएँ, म छोरो पनि कम छैन भनेर । यसपालिको चुनावमा म युयुत्सु बनेर हराउँछु तिनीहरूलाई । ” मास्टरको त्यत्रो घर देखेर उनको मेहनतको नजरअन्दाज गर्न पनि त  मिल्दैन ।

यता, कमरेड आवाज अहिले हर्क भइसकेका छन् । शान्तिपछि रक्सी खादै उनी अशान्त भइरहन्छन् । ठेक्कापट्टाको काम गर्छन् । उनी  कमजोर छन् भन्न त मिल्दैन तर मास्टरसँगै उनलाई पनि सम्झने हो भने मास्टर भारी हुन्छन् । उनी मास्टर उकालो चढेको देख्छन् । आफू  उकालो चढेको  सम्झन्छ, आफू ओरालो झरेको सम्झन्छन् ।

सम्बन्धित समाचार