शुक्रबार , मंग्सिर २३, २०७९

दशैं नमनाउने खोकनाको सिकाली जात्रा (फोटो फिचर)

खोकनाका ज्यापुहरूको कथनअनुसार पचली भैरवका ज्यापुले 'रोई रोई' अर्थात् 'ख्वःया ख्वःया' आफ्नो व्यथा सुनाएको र देवीको अनुग्रहबाट यहाँ बस्ती बसालेकाले यस ठाउँको नाम 'खोना अर्थात् खोकना' रहन पुगेको विश्वास गरिन्छ ।

image

दुर्गापक्षका अनुसार आज फूलपाती । आधा काठमाडौं रित्तिइसकेको छ । चकपथका थोत्रा बसहरूसमेत अगाडी रिजर्भ लेखेर गाउँ-गाउँतिर रवाना भइसकेका छन् । तर, उपत्यकाको एउटा गाउँ (हाल शहरभित्रको गाउँ)मा भने दशैंको रौनक छैन । यसपालि मात्रै होइन, कुनै पनि वर्ष यहाँ दशैंको रौनक हुँदैन । वृद्धवृद्धादेखि अहिलेका साना बालबालिकासम्ममा दशैंको कुनै क्रेज देखिंदैन । यस गाउँमा न जमरा राखिन्छ, न टीका थापिन्छ ।

उसो त, धर्म, जात, भूगोल पिच्छे यस समयमा विभिन्न उत्सवहरू देशभर नै भइरहेको पाइन्छ । धर्म निरपेक्ष राष्ट्र भएता पनि व्यवहारमा सो देख्न नपाइएका कारण ‘सिकाली जात्रा’को चर्चापर्चा देख्न, भेट्न पाइदैन । हो, ललितपुरको खोकना गाउँका बासिन्दा हिन्दूहरूले झैँ दशैँ मनाउँदैनन् । उपत्यकाको अन्य नेवा: समुदायले झैँ मोहनी नख: पनि मनाउँदैनन् । उनीहरू आश्विन शुक्लपक्ष तृतीयाको दिनदेखि नवमीसम्म ‘सिकाली जात्रा (सिद्धिकाली जात्रा)’ मनाउँछन् । सिखालीबाट सिकाली भएको हुनुपर्छ ।

मुलुकमा मुख्यत: बडा दशैँ र त्यसपश्चात्- दुर्गापक्ष, दसे, डसिया, मोहनी नख: लगायतका चाडवाडहरूको चहलपहल भइरहँदा यस गाउँका बासिन्दा ‘सिकाली जात्रा’ मनाइरहेका छन् । अहिले खोकनावासीलाई यो जात्रा भ्याइनभ्याइ छ ।  खोकनावासीहरू यस पर्वलाई ‘रुद्रायणी पर्व’ समेत भन्ने गर्छन् । रुद्रायणी देवी  खोकाना गाउँ (कुदेश समेत भनिएको) संरक्षक देवता तथा देवी हुन् ।

नेपाल संवत् ३३६ देखि जात्रा प्रचलित भएको विश्वास गरिन्छ । नेपाल मण्डलका भक्तपुर, कीर्तिपुर र ललितपुरको जस्तै खोकनाको पनि छुट्टै पहिचान छ, त्यो मध्ये प्रमुख विशेषता यो जात्रा हो । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले  ललितपुर राज्यका सात ग्रामप्रदेशमध्ये जितापुर पनि एक रहेको र सो राज्य हालको खोकना रहेको बताएका छन् । श्रेष्ठ भन्छन्, ‘भक्तपुरको नवदुर्गा र कीर्तिपुरको बाघभैरव नाच भनेजस्तै जितापुर अर्थात् खोकनाको शिकाली नाच ऐतिहासिक महत्वको छ ।’

हेर्नुहोस् फोटोहरू;

तस्बीर : PhotoKhichuwa

सम्बन्धित समाचार