बुधबार , भाद्र ३१, २०८३

छिनछिनमा रङ्ग बदल्ने विचित्र ताल शे-फोक्सुन्डोको सुन्दरता

image

शे–फोक्सुन्डो ताल नेपालकै सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिका र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो तालको गहिराई ६ सय ५० मिटर रहेको छ । एक दिनमा दर्जनौंपटक रङ बदल्ने र पानीमा हुने कीरासमेत नपाइने ताल शे-फोक्सुन्डो ताल भएको विज्ञहरू बताउँछन्।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यो ताल तीन हजार पाँच सय ५५ वर्गमिटरमा फैलिएको छ । अंग्रेजी अक्षर Y (वाई) आकारको एक सुन्दर ताल हो शे–फोक्सुन्डो । यही तालबाट एक सय ५० मिटर अग्लो सुलिगाड झरना बग्ने गर्छ। यो ताललाई स्थानीय भाषामा ‘रिग्मा ताल’ पनि भन्दछन् । तालको छेउमा रिग्मा नामको गाउँ रहेकाले स्थानीय वासीले रिग्मा ताल भन्दछन् ।

वरिपरि पहाडले घेरिएको बीचमा रहेको Y (वाई) आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ । तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ ।
पछिल्लो समय शे-फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् ।

सम्बन्धित समाचार