मंगलबार , भाद्र ९, २०८३

‘राप्रपालाई भाेट दिनुस्, नेता र काला व्यापारीले बोरामा राखेको पैसा खोस्टो बनाउँछौँ’-अध्यक्ष लिङ्देन

image

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार बीरगंजमा आयोजना गरेको आमसभामा उनले नेताहरु र काला व्यापारीहरुले घरमा पैसा थन्क्याउँदा  बैंकमा नोट अभाव भएको बताए ।

नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको लिङदेनको भनाई छ ।

उनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए ।
लिङदेनले भने, ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नेताहरुको घरमा । कमिशनको नाममा । भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्यो । यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।’

लिङदेनले भने, ‘एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’ उनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गरे ।

 

 

Tags:

सम्बन्धित समाचार