शुक्रबार , जेठ ८, २०८३

कविता- यस धर्तीको पानीमा

image

विजय मल्लको जन्म वि.सं. १९८२ असार १० गते ओमबहाल काठमाडौँमा भएको थियो ।  विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । उनले वि.सं. २०२७ सालमा एक बाटो अनेक मोड कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका हुन् । नेपाली आधुनिक कथामा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । आज उनै कविको कविता यहाँ प्रस्तुत छ:

यस धर्तीको पानीमा

एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लान्छु बागमतीको
अकस्मात् बज्र गिरेझैँ आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैँ,
या छली रामले बालीलाई हानेझैँ वाण
या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा !

तप्कन्छ यही औँलाको काप कापबाट
त्यही रक्त विस्तारै धरतीमा ।
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु,
अभिशप्त, विवश, व्याकुल ।

किन आकाशका ताराहरू
हेर्दैनन् अहिले अनुहार आफ्नो
यस धरतीको पानीमा ?
किन नारसिस हुँदैन मोहित
आफ्नो छायाँको सौन्दर्यमा?
के भो यस धरतीको पानीमा
अचानक यस बीसौँ शताव्दीमा ?
म खोज्दै खोज्दै पुग्दछु,
विक्षिप्त पागलझैँ
पृथ्वीका सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपी, अम्याजाँ, नाइल,
जताततै बदलिन्छ पानी,
अकस्मात् रक्तमा!
मानौँ चन्द्रावतीले सराप पाएझैँ!
तिर्खाएको तिर्खायै
पानी खोज्दै छु यस बीसौँ शताब्दीमा
म विष पिएझैँ एउटा मानिस
अभिशप्त, विवश, व्याकुल ।

गुलाफको फूलमा अहिले
किन बारुदको गन्ध आउँछ ?
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाजझैँ
किन हरेक झाँग झाँगबाट
चितुवा लुकेझैँ शङ्का चिच्याउँछ ?
हरेक क्षण किन त्रास ओसारिएर
यस धरतीमा लहराउँछ?
के भो यस धरतीको पानीमा?
बाघले मृगलाई मार्दै पछारेझैँ
नदीका किनार किनारमा,
रगत त्यसैको मुछिई बगेझैँ,
किन रातोपन छ यस पानीमा ?

कुनै सुनकेशरी मैयाँ नुहाउँदिनन् अब
यस बीसौँ शताब्दीको जलमा ।
बगरेखानाबाट धारो छुटेझैँ
के सारा नदीका मुहान भए रक्तरञ्जित ?
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली,
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु
अभिशप्त, विवश, व्याकुल!
के भो आज यस धरतीको पानीमा
अचानक यस व्यापक महान्
बीसौँ शताब्दीमा ?

Tags:

सम्बन्धित समाचार