फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटोपत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ । ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ ।
फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्ने भन्दै सबै पत्रकारहरुले पत्रकारको मूल्य मान्यता र आचारसंहिता अनुसार काम गर्नुपर्ने बताए ।
उनले फोटो पत्रकारहरुको सुरक्षालाई काउन्सिलले उच्च प्राथिमकतामा राख्ने र जोखिम न्यूनिकरणका लागि क्लबसँगको सहकार्य गर्दै काम गर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए ।
फोटो पत्रकार क्लब नेपालका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हक हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन् । नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी आज अपरान्ह ५ बजेसम्म चल्नेछ ।