एजेन्सी । भारतले नवीन श्रीवास्तवलाई नेपालको नयाँ राजदूतको लागि औपचारिक सिफारिस गरेको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि नै श्रीवास्तवलाई राजदूतको रूपमा पठाउन सिफारिस गरेको हो ।
श्रीवास्तव विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजन प्रमुखसमेत हुन् ।
दुई वर्षअघि चीनसँग लद्दाखस्थित लाइनअफ एक्चुअल कन्ट्रोल ९एलओसी०मा भएको लडाइँको मामिला सुल्झाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय पक्षले पठाउने प्रस्ताव गरेपनि उसले नेपालस्थित परराष्ट्र मन्त्रालयसँग सहमति खोजेको टाइम्सले जनाएको छ ।
श्रीवास्ताव अहिले मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला हेर्ने डिभिजनमा छन् ।
उनलाई चीन मामिलाका जानकार व्यक्ति रूपमासमेत हेरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने तयारी छ ।
लुम्बिनीमा बुद्ध जयन्ती मनाउन उनी आउन लागेका हुन् । तर यसबारे नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन।