नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ मा रा.प्र. पा. बाट वडा अध्यक्षका उम्मेदवार बनेका विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । स्थानीय स्तरमा समाजसेवीको रूपमा समेत परिचय बनाएका पाण्डेले राजनीतिलाई जनताको सेवाको रूपमा लिएका छन् ।
पछिल्लो समय नेपालका राजनीतिक दलहरूले यसैलाई कमाइ खाने भाँडो बनाएकोले राजनीति दिन प्रतिदिन बिग्रँदै गएको उनले बताए । रा.प्र.पा देशप्रति इमानदार र नैतिकता भएको पार्टी भएकोले आसन्न स्थानीय निर्वाचनमा आफ्नो दलले धेरै स्थानमा जित्ने दाबी समेत उनले गरे ।
आमा नानीमैया पाण्डे र बुवा नानीकृष्ण पाण्डेबाट लिखु गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका पाण्डेले काठमाडौंको सिद्धिगणेश माध्यमिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन गरेका हुन् भने प्लस टू आशीर्वाद कलेज सामाखुसीबाट उत्तीर्ण गरेका छन् । अध्ययनमा अत्यन्तै अब्बल उनले मोर्गन अन्तर्राष्ट्रिय क्याम्पस वसुन्धरा क्याम्पसबाट प्रथम श्रेणीमा डिप्लोमा पास गरेका हुन् भने काठमाडौंको शङ्करदेव क्याम्पसबाट २ वर्ष अघि मात्र मास्टर डिग्री प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । उनले यसपालि नेपाल कानुन क्याम्पसबाट एलएलबीको परीक्षा दिएका छन् । सबैसँग सहजै घुलमिल हुने स्वभावका पाण्डे अत्यन्तै सरल, निडर, हँसिलो, फरासिलो खुलेर बोल्ने स्वभावका छन् ।
अध्यक्षका प्रत्याशी पाण्डे आ.व. ०७५–०७६ देखि निरन्तर लिखु ३ लगायत समग्र लिखु गाउँपालिकामा सामाजिक कार्य गरिरहेका छन् । उनले विभिन्न राजनीतिक दल र तिनका गुट–उपगुटका स्वार्थका कारण लिखु गाउँपालिका नै बन्न नदिने भएपछि त्यसको व्यापक विरोध गर्दै लिखु आन्दोलनको नेतृत्वहरूमध्ये एउटा नेतृत्व गरेर लिखु गाउँपालिका ल्याउन अग्रपङ्क्तिमा रहेर भूमिका समेत निर्वाह गरेका थिए । आन्दोलनकै कारण यस गाउँपालिका बन्न सफल भएको उनले बताए ।
लिखु गाउँपालिकाको विकास र समृद्धिको लागि अहोरात्र खटेर काम गरिरहेका पाण्डेले दुई गाउँपालिका (लिखु गा.पा. र ककनी गा.पा., दुई नगरपालिका (बेल्कोटगढी न.पा. विदुर न.पा. जोड्ने कृषि सडक तथा वैकल्पिक मार्ग (Connectivity)को लागि जोड दिएका छन् । आफैँ नेतृत्वमा नगएसम्म लिखु ३ को समग्र विकास सहज हुने नदेखिरहेका पाण्डेलाई स्थानीय युवाहरूले लिखु ३ बाट नेतृत्व लिन व्यापक दबाब दिनुका साथै लिखु ३ का समग्र दाजुभाइ तथा दिदीबहिनीको सुझाव तथा वृद्ध बा –आमाहरूको आशीर्वादलाई शिरोधार्य गर्दै लिखु ३ मा रा.प्र.पा. बाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले स्थानीय निर्वाचन २०७४ मा पनि स्वतन्त्रबाट गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएर ८०० भन्दा बढी मत प्राप्त गरेका थिए । आफू विजयी भएमा यस वडालाई विकासको मोडलको रूपमा लगेर नुवाकोट जिल्लाकै नमुना वडा बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
आफ्नो पढाइ बाहेक सम्पूर्ण समय आफ्नै वडा लिखु ३ (सूर्यमती) तथा समग्र लिखु गाउँपालिको वडा ३ को विकासको लागि युवा जनजागरण अभियानका सयौँ युवाहरूसँग हातमा हात र काँधमा काँध मिलाई समग्र लिखुको सेवामा समर्पित पाण्डेले (पुरै) लिखु गाउँपालिकाको भौगोलिक सामाजिक, धार्मिक, सांस्कृतिक राजनीतिक अवस्थालाई नजिकबाट बुझेका छन् । लिखु ३ का अपाङ्ग, दलित, महिला, जनजाति लगायतको उत्थान नगरिकन लिखु ३ को समग्र विकास सम्भव नहुने कुरा उनले आफ्नो घोषणापत्रमा सार्वजनिक गरेका छन् ।
‘विकासको निम्ति युवा जनजागरण अभियान’ का सदस्य (शङ्कर घले ,माधव बोगटी, अच्युत पाण्डे, नवराज पाण्डे लगायत अभियानका युवाहरू लिखु गाउँपालिकाको होनहार शिक्षित, क्षमतावान् तथा अत्यन्तै सरल विक्रम पाण्डे लिखु गाउँपालिका वडा न ३ लाई मात्र नभई पुरै लिखु गाउँपालिका तथा समग्र नुवाकोट जिल्लालाई चाहिने व्यक्ति भएको उनीहरूको मत छ । लिखु ३ केन्द्र काठमाडौँबाट ३२ किलोमिटर नजिक भए पनि विकासको हिसाबले अति बिकट लिखु गाउँपालिकाकै कर्णाली उपनामले चिनिने ठाउँमा नेतृत्व लिन आउनु लिखु ३ र समग्र लिखुवासीहरूको लागि गौरवको कुरा भएको स्थानीयवासीहरूको भनाइ छ ।
अध्ययनशील विक्रम पाण्डे नुवाकोटको अत्यन्तै विकट क्षेत्र लिखु ३ बाट उदाउँदै गरेको एउटा तारा हो । पढाइमा अब्बल तथा मिलनसार उनी रोजगारी र व्यवसाय दुवै क्षेत्रमा अनगिन्ती अवसर हुँदाहुँदै पनि आफ्नो जीवनको ऊर्जाशील समय समाजमा समर्पित गर्न आफ्नो जन्मस्थान लिखु ३ आउनु आफैँमा गौरवपूर्ण भएको धेरैको भनाइ छ । आफ्नो अध्ययन लगनशीलता र नेपाली मातृभूमि प्रतिको गहिरो मायाले आफ्नो जन्मभूमि फर्केको उनले उल्लेख गरेका छन् । ‘सामाजिक सेवाबाट प्राप्त हुने सन्तुष्टि भन्दा अरू ठुलो कमाइ केही होइन, भ्रष्टाचार गर्नु आमाको रगत खानु हो’ भन्ने नारा उनको प्रमुख मान्यता छ ।
यस्तो छ वडालाई समृद्ध बनाऊन उनको भावी योजना
- भ्रष्टाचारमुक्त तथा सामाजिक भेदभावरहित वडा ३ (सूर्यमती) निर्माण गर्ने ।
- यातायात : आगामी ३ वर्षभित्र लिखु वडा ३ को चक्रपथ ग्राभेल सम्पन्न गर्ने
‘कटरबोट (चालिसे फाँट पुछार) मालकोट–सेपगाउँ –चौखुडा–ढिकुरे पुल–पट्टबारी – कट्टीछाप – बागे भन्ज्याङ- चक्रपथ’ ७ मिटरको सडक आगामी ३ वर्षभित्र, कल्भर्ट, स्ल्याब, पक्की साइड ड्रेन, ग्राभेल, र हेमपाइप सहित हिउँद वर्षा चल्नेगरि निर्माण सम्पन्न गर्ने ।
- चक्रपथ पिचको लागि गुरु योजना
आगामी चौथो र पाँचौँ वर्षमा चक्रपथ पिचको लागि धेरै ठुलो बजेटको आवश्यकता पर्ने हुँदा सम्बन्धित माथिल्लो निकाय प्रदेश सरकार वा सङ्घीय सरकारको बजेटमा पार्नको लागि सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय गरी सडक पिच सम्पन्न गर्नको लागि कुनै कसरत बाँकी नराख्ने ।
- ४. बागे भन्ज्याङ –कटरबोट (चालिसे फाँट) सडक – कल्भर्ट, स्ल्याब, पक्की ड्रेन, ग्राभेल र हेम पाइपसहित हिउँद वर्षा नै सञ्चालन हुनेगरि सडक स्तरोन्नति गर्ने
- ५. बागे भन्ज्याङ – पाण्डे गाउँ – भलाद्मी डाँडा – निर्वाचन केन्द्र सडक कल्भर्ट, स्ल्याब, पक्की ड्रेन, ग्राभेल र हेम पाइपसहित राखेर हिउँद वर्षा नै सञ्चालन हुनेगरी सडक स्तरोन्नति गर्ने
- वैकल्पिक मार्ग : दुई गाउँपालिका र दुई नगरपालिका जोड्नको लागि स्टिमेट तयार गरी प्रदेश सरकार वा सङ्घीय सरकारमा माग गर्ने
- लिखु गाउँपालिका ५ अमिली बोट, लिखु गाउँपालिका ३ बागे भन्ज्याङ , कटरबोट (चालिसे फाँट) – ककनी गाउँपालिका ०७ (मुलबाटे चोक) – बेलकोटगढी नगरपालिका १३ कृषि सडक बासुकी फाँट, घोडघाट पक्की पुलबाट – विदुर नगरपालिका जोड्नको लागि सम्बन्धित निकायसँग छलफल गरी स्टिमेट तयारी गरी प्रदेश सरकार र सङ्घीय सरकारको बजेटमा पार्नको लागि सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय गरी गहन छलफल गरेर हरसम्भव प्रयास गर्ने ।
- कटरबोट (चालिसे फाँट) लिखु गा. पा. ३ ककनी गा. पा. ०७ (मूलबाटो चोक) जोड्ने पक्की मोटरेबल पुल निर्माण गर्नको प्रदेश सरकार तथा सङ्घीय सरकारसँग समन्वय गर्ने ।
- ढिकुरे पुल – वडा कार्यालय – निर्वाचन केन्द्रबाट बगरबारी सडक पक्की ड्रेन सहित सडकको स्तर उन्नति गर्ने ।
- वडा ३ का सबै कृषि सडक सरसफाइ तथा स्तर उन्नति गर्ने ।
शिक्षा:
- वडा न ३ का सबै विद्यालयमा इन्टरनेटको निःशुल्क व्यवस्था वडामार्फत गर्ने
- यस सूर्यमतीमा रहेको एक मात्र स्कुल “नव प्रकाश माध्यमिक विद्यालय“ मा दक्ष शिक्षक राखी कक्षा १२ सम्म सञ्चालन गरी नमुना स्कुलको लागि पहल गर्ने
- लिखु ३ का सम्पूर्ण विद्यालयहरूमा गुणस्तरीय शिक्षा डिजिटल प्रणालीबाट सञ्चालन गर्न सम्बन्धित निकाय, सामाजिक व्यक्तित्व तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समन्वय गरी समयसापेक्ष शिक्षा प्रदान गर्ने
- ५ वर्षभन्दा मुनिका बालबालिकाहरूको लागि टाढाको स्कुलसम्म जान नसक्ने भएको हुँदा बालकोटा सञ्चालन गर्ने
- आगामी ३ वर्षपछि वडाका सम्पूर्ण बालबालिकाहरू बस चढेर स्कुल जान सक्ने व्यवस्था गर्ने (स्थानीय व्यवसायीहरू, सङ्घ, वडाले समन्वय गरी सहुलियत भाडा दरमा स्कुल बसको व्यवस्था गर्ने
- आर्थिक रूपले विपन्न, गरिब एवं जेहेन्दार दलित छात्र छात्रालाई वडाको तर्फबाट छात्रवृत्ति कार्यक्रमको व्यवस्था गर्ने
कृषि:
- यस वडामा आलु जोन, धान जोन र तरकारी पकेट कार्यक्रम सञ्चालन गर्ने
- लिखु ३ को सबै कृषियोग्य भूमिमा वडाको प्राविधिक मार्फत सम्बन्धित ठाउँको निरीक्षण गरी पक्की बाँध र कुलो निर्माण गरी सबै कृषियोग्य भूमिमा आवश्यकता अनुसार सिँचाइको व्यवस्था गर्ने
- कृषि प्राविधिक मार्फत किसानको भूमिको माटो परीक्षण गरी कुन भूमिमा कुन खेती उपयुक्त हो ? जेटीए मार्फत पहिचान गरी, मल, बिउ विजन, किट नाशक औषधी सहुलियत दरमा व्यवस्था गर्ने
- कृषिको लागि अति आवश्यक पम्प, ट्याक्टर तथा अन्य औजारहरू निःशुल्क तथा अधिकतम अनुदानमा उपलब्ध गराउने
- ठाउँ – ठाउँमा तरकारी तथा कृषिबाट उत्पादित वस्तु सङ्कलन केन्द्रको निर्माण गर्ने
- कृषि उत्पादित आलु लगायतको लागि हाम्रो प्रदेश १ ख को चिस्यान केन्द्रमा समन्वय गर्ने तथा सहुलियत दरमा व्यवस्था गर्ने
- उत्पादन वृद्धिको लागि विविध कार्यक्रम सञ्चालन गर्ने र उत्पादित कृषि उपजहरूको बजारीकरणको व्यवस्था मिलाउने
- प्रक्रिया पुर्याएर सञ्चालनमा रहेका कृषि फर्म, पशु फर्म लगायतलाई फर्महरूलाई अनुदानको व्यवस्था गर्ने
- कृषिमा तालिमको व्यवस्था गर्ने
- वडाले पशु प्राविधिकको व्यवस्था गरी, कुन ठाउँमा कस्तो जातको पशुपक्षी पाल्न उपयुक्त हो ? सो को पहिचान गरेर सोही अनुसार किसान तथा उद्यमीलाई प्रोत्साहित गर्ने
- सहकारी तथा बैङ्कहरूसँग वडाले समन्वय गरी किसान तथा उद्यमीलाई सहुलियत दरमा रिन उपलब्ध गराउन वडाले भूमिका निर्माण गर्ने
स्वास्थ्य
- स्वास्थ्य चौकी आफ्नै वडामा निर्माण गरी दक्ष प्राविधिक राखेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने
- आगामी ३ वर्षभित्र वडा मार्फत एम्बुलेन्स सञ्चालन गर्ने
- स्वास्थ्य सुधार कार्यक्रम : लिखु ३ का सम्पूर्ण जनताको लागि विभिन्न सामाजिक सङ्घ सङ्गठनहरूसँग समन्वय गरी स्वास्थ्य सम्बन्धी
- चेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वस्थ जनशक्ति उत्पादनमा जोड दिने
- लिखु ३ का प्रत्येक जनताको स्वास्थ्य बिमा सम्बन्धित निकायसँग समन्वय गरी सहुलियत दरमा गर्ने
- स्वयंसेवकहरूको लागि भत्ताको व्यवस्था गर्ने
- टोल –टोलमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने
अन्य:
- वडाको सबै जनताको लागि गाँस, बास र कपासको ग्यारेन्टी गर्ने
- १३ अव्यवस्थित बसोबास भएकाहरूको लागि व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने
- वडा ३ का भूमिहीन तथा अव्यवस्थित बसोबास भएकाहरूको लागि व्यवस्थित बसोबासको लागि सम्बन्धित निकाय, भूमि आयोग तथा सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थित गर्ने
- वडामा सम्पूर्ण घर घरमा इन्टरनेट सुविधाको लागि –इन्टरनेट कम्पनी हरूसँग समन्वय गरी सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराउने
- सुशासन तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने
- महिला हिंसाको अन्त्य गर्ने
- एक घर एक रोजगारको व्यवस्था गर्ने
- महिला सीप विकासको लागि महिला जागरण कोषको स्थापना गर्ने
- लगानीमैत्री वातावरण सृजना गरी वडा ३ –लिखुमा बाह्य लगानी ल्याउन प्रोत्साहन गर्ने