काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई चुनावमा मतदान गर्नुको कुनै अर्थ नभएको बताएका छन् । देउवाले ओलीले पटक पटक संसद विघटन गरेको र अदालत पुनस्र्थापना गरेको संसदलाई पनि चल्न नदिएको भन्दै ओलीको पार्टीलाई मतदान गर्नुको अर्थ नभएको बताएका हुन् ।
उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्यो तर चल्न दिएको छैन ।’
गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।
‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, रुपन्देहीको बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’
देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।