आइतबार , साउन १७, २०८३

श्रीलंकामा भिडन्त हुँदा सांसदसहित ५ जनाको मृत्यु

image

एजेन्सी । श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ ।

समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन् ।

सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा जानकारी दिएका छन् ।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ ।

कोलम्बोमा भएको झडपका घाइतेको उपचार भइरहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन् ।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन् ।

त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन । आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन् ।

सम्बन्धित समाचार