जनयुद्धको क्रममा आफ्नै परिवारबाट बुबा, दाइ र भाइ सहित तीन जना सदस्य गुमाएका थपलियाले आफ्नो कार्यकालको पहिलो निर्णयबाट नै सहिद परिवार लक्षित कार्यक्रम अगाडि सारेका छन् ।
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बुधबार पदभार ग्रहण गरेका छन् । धादिङकै सबैभन्दा कम उमेरका पालिका प्रमुख समेत रहेका थपलियाले पदभार ग्रहण गरेसँगै तीन महत्त्वपूर्ण निर्णय समेत गरेका छन् ।
जनयुद्धको क्रममा आफ्नै परिवारबाट बुबा, दाइ र भाइ सहित तीन जना सदस्य गुमाएका थपलियाले आफ्नो कार्यकालको पहिलो निर्णयबाट नै सहिद परिवार लक्षित कार्यक्रम अगाडि सारेका छन् । थपलियाले सहिद तथा वेपत्ता परिवारको आयआर्जनका लागि सीपमूलक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।
यस्तै गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि गाउँपालिकाभित्रका बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्ने र पालिकाको सबै वडामा मेलमिलाप केन्द्र सवलीकरण तथा अन्य आवश्यक पूर्वाधार तयार गरी महिला तथा घरेलु हिंसामूक्त गाउँपालिका निर्माण गर्ने निर्णय गरेका छन् ।
थपलिया सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् । थपलिया ७ हजार ६ सय ८० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देव प्रसाद त्रिपाठी जम्मा ५ हजार ७२ मत ल्याएका थिए ।
जनयुद्धकालदेखि नै संघर्ष गर्दै आएका थपलिया पालिका प्रमुखमा निर्वाचित भएसँगै बेनीघाट रोराङका बासिन्दा निकै आशावादी देखिएका छन् । उनी संघर्षको मैदानबाटै आएको हुनाले जनताको लागि काम गर्नैमा पालिकाबासी विश्वस्त छन् । थपलियाले पनि आफू सामान्य गरिब किसान परिवारबाटै आएको हुनाले करिब, किसान र मजदुरवर्गको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
गाउँपालिकामा १० वटा वडामध्ये माओवादी केन्द्रले ६ वडामा जित हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले २/२ वडामा जित हासिल गरेका छन् ।
