शनिबार , भाद्र २७, २०८३

नेपाली चलचित्र ‘लोरी’लाई ‘कान्स फिल्म फेस्टिभल’मा अवार्ड

नेपाली चलचित्र 'लोरी' विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक 'कान्स फिल्म फेस्टिभल'मा अवार्ड जित्ने पहिलो चलचित्र बनेको छ

image

काठमाडौं । नेपाली चलचित्र ‘लोरी’ विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक ‘कान्स फिल्म फेस्टिभल’मा अवार्ड जित्ने पहिलो चलचित्र बनेको छ ।  अविनाश विक्रम शाहको निर्देशनमा बनेको चलचित्रले महोत्सवमा  लघु चलचित्र विधातर्फ ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेको हो ।

यही विधा अन्तर्गतको मुख्य अवार्ड ‘पाम दे ओर’ भने चीनको लघु चलचित्र ‘द वाटर मर्मस’ले जितेको हो । चलचित्र १५ मिनेट लम्बाइको रहेको छ । नेपाली चलचित्रले पहिलो पटक कान्समा औपचारिक रूपमा भाग लिएर अवार्ड जितेको हो । नेपालको पितृसत्तात्मक समाजले थिलथिलो बनाएको समयलाई चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा निर्देशक शाहकै स्क्रिप्ट र डायलग रहेको छ भने उज्वलकुमार बस्ताकोटीको छायाङ्कन रहेको छ । अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्त रूपमा बनाएको चलचित्रमा अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय रहेको छ ।

मुख्य प्रतिस्पर्धातर्फको अवार्ड पाम दे ओर भने रुबेन ओस्टलन्डलाई ‘ट्रयांगल अफ स्याडनेस’का लागि दिइएको छ । उनको यो दोस्रो पाम दे ओर रहेको छ । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड हात पारेका थिए । बेल्जियन चलचित्र ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दै अभिनेत्री सुरक्षा पन्त पनि कान्सको रेडकार्पेट हिँडेकी थिइन् । महोत्सव ११ दिनसम्म चलेको थियो ।

Tags:

सम्बन्धित समाचार