सोमबार , साउन ११, २०८३

अब मेलम्चीको पानी हिउँद लागेपछि मात्रै आउने, मुलढोका बन्द गरियो

मेलम्ची खानेपानीको मुलढोका बन्द गरिएको छ ।

image

काठमाडौं । मेलम्ची खानेपानीको मुलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुलढोका बन्द गरिएको हो ।

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मुलढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।

बन्द गरिएको सुरुङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो ।

मर्मतसम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरुङमा पथान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार