शुक्रबार , अषोज २, २०८३

बोलिभियाकी पूर्वराष्ट्रपतिलाई १० वर्ष जेल सजायको फैसला

image

एजेन्सी । बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो ।
उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झूटा आरोपहरू लगाइएको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरे पनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।

उनले संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ ।

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनमाथि राष्ट्रपति हुनुअघि सिनेटर भएको बेलादेखिकै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् । त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन् ।

उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गराएकी थिइन् । मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन् । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो ।

अनेज राजनीतिमा आउनुभन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन् ।

Tags:

सम्बन्धित समाचार