सोमबार , बैसाख २८, २०८३

काठमाडौंका यी ३० वटा पुराना दरबारहरू अहिले कहाँ छन् ?

image

– सुनिल उलक

१. बबर महल

रनसुर विष्टले डिजाइन गरेको र ई. कुमार नरसिंह र किशोर नरसिंहद्वारा वि.सं १९६६-६७ मा बनेको यो दरबार सुरुमा थापाथली दरबारकै एउटा हिस्सा थियो । चन्द्रशम्शेरले यो दरबार माहिलो छोरा बबरशम्शेरलाई उपहार दिएपछि ‘बबरमहल’ नाम रहन गयो ।

पछि नेपाल सरकारले किन्यो, हाल यस महलमा सडक विभागको कार्यालय रहेको छ ।

२. बाग दरबार

अमरसिंह थापाले बनाएको पुरानो दरबार भएकै ठाउँमा भीमसेन थापाले दरबार बनाए । भीमसेन थापाको अन्त्यपछि सरकारीकरण भएको सम्पत्ति माथवर सिंह थापाले फिर्ता गराइ त्यस दरबारमा पाटे बाघ खोरमा राखी पाले । जसले गर्दा यो दरबारको नाम बाघ दरबार रहन गयो ।

माथवर सिंह थापाको हत्यापछि शाह खलकका राजकुमारको दरबार बन्न पुग्यो । पछि, कसैकसैको भनाइमा ‘बाग’ अर्थात् बगैँचा बनाइएको भएर ‘बागदरबार’ नामाकरण भएको भन्ने पनि भन्दछन् । तर, वास्तवमा ‘बाघदरबार’ नै अपभ्रंश भएर बागदरबार हुन गएको हो ।

थापाको पतन पछि आएका राणाहरूले थापाहरूको अस्तित्वमा रहेको बाघदरबारको नाम स्विकार्न नचाहेकोले नै ‘बागदरबार’ भन्न थालिएको हो । १९९० को भूकम्पमा आंशिक क्षति पुगेको भवन मर्मत पछि जुद्धशम्शेरले आफ्नो अधीनमा लिई छोरा हरिशम्शेरलाई दिए । हरिशम्शेरको मृत्युपछि उनका छोराहरूले फेरी नेपाल सरकारलाई बेचे ।

हाल यस महलमा काठमाडौं महानगरपालिकाको कार्यालय रहेको छ ।

३. भिमसेन स्तम्भ

सुरुमा दुई स्तम्भको निर्माण भएकोमा वि. सं. १८९० को भूकम्पले एउटा स्तम्भ पूर्ण रूपमा भत्किएको र अर्को ११ तले स्तम्भलाई ९ तले बनाई त्यसलाई ‘भीमसेन स्तम्भ’ भन्ने गरियो । फेरी १९९० को भूकम्पले पूर्ण क्षति पुगेपछि जुद्ध शम्शेरले पुनः निर्माण गरेका थिए । २०७२ को भूकम्पले यसलाई फेरी पूर्ण रूपले क्षति पुर्‍याएपश्चात् पुनर्निर्माण गरिँदै छ । यो तस्बिर १९९० को भूकम्प अगाडिको हो ।

४. घन्टाघर

लन्डनको बिग बेनबाट प्रभावित भएर वीरशम्शेरले बनाउन लगाएको घण्टाघर वि.सं. १९९० को भूकम्पले ध्वस्त बनाएपछि जुद्धशम्शेरले पुनर्निर्माण गराउँदा स्वरूप नै परिवर्तन गराए ।

यो तस्बिर १९९० को भूकम्प अगाडिको हो ।

 

 

 

 

५.हरीहर भवन

चन्द्रशम्शेरले छोरा शंकरशम्शेरको लागि निर्माण गराएका यस भवनमा सन १९५० सम्म शंकरशम्शेर बसेका थिए तर, राजदूत भएर विदेश गएका उनी नेपाल फर्केनन् । प्रजातन्त्रपछि नेपाल सरकारले जफत गरी सरकारी भवनको रूपमा कृषि विभागको कार्यालय राख्यो ।

६.केशर महल

नारायण हिटी दरबारको पश्चिममा जीतशम्शेरको सानो घर थियो । चन्द्रशम्शेरले सो किनेर वि.सं. १९५१ मा छोरा केशरशम्शेरको लागी महल बनाइदिए । यस दरबार क्षेत्र भित्रको बगैँचा काठमाडौंका अन्य महलको तुलनामा निकै नै आकर्षक थियो । तसर्थ, यसलाई गार्डेन अफ ड्रिम्स (Garden of Dreams) भन्ने गरिन्छ ।

प्रजातन्त्रको आगमन पछि पनि यो महल उनकै परिवारमा निहित थियो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले २००८ र २०१६ को नेपाल भ्रमणको समयमा यस महलमा रहेका पुस्तकालयको भ्रमण गरेका थिए । २०२१ मा केशरशम्शेरको स्वर्गारोहणपछि रानी कृष्ण चन्द्रदेवी राणा तथा छोराहरू केयुरशम्शेर र लाेकभक्तशम्शेर राणाले नेपाल सरकारलाई हस्तान्तरण गर्न सहमत भएपछि वि.सं. २०२५ भाद्र २७ गते भव्य समारोह बिच नेपाल सरकारले यस भवनलाई आफ्नो बनाएको हो । यस महलमा २०२६ साउन १ गतेबाट केशर पुस्तकालयको नामबाट पुस्तकालय सञ्चालन गर्नुको साथै शिक्षा मन्त्रालय पनि यसै महलमा सारिएको थियो । हाल भूकम्पले अस्तव्यस्त रहेको यस महलमा नेपाल सरकारको लापरबाही देखिएको छ ।

७. लाल दरबार

वि.सं. १९४६ मा वीरशम्शेरले आफ्नो कान्छी रानी टोपकुमारी देवीको लागी यो दरबार बनाइदिएका थिए । १९५७ मा यो दरबार उनका छोरा तेजशम्शेरको नाममा आयो । १९९० मा तेजशम्शेरलाई धपाएर जुद्धशम्शेरले आफ्नो कब्जामा लिए । देशमा प्रजातन्त्र आएपछि तेजशम्शेरका छोराहरूले यो दरबार फिर्ता पाए ।

हाल यो दरबारमा ‘होटेल याक एन्ड यती’ रहेको छ ।

८. लक्ष्मी निवास

वि.सं. १९६१ मा चन्द्रशम्शेरले आफ्नो जेठा छोरा मोहनशम्शेरको लागि यो दरबार बनाइदिन नेपालको पहिलो इन्जिनियरहरू कुमार नरसिंह राणा र किशोर नरसिंह राणालाई जिम्मा दिएका थिए । बाबु चन्द्रशम्शेर प्रधानमन्त्री रहुन्जेल मोहनशम्शेर सिंहदरबारमै बसे तर, बाबुको मृत्युपश्चात् यता सरे । १९८५ बाट २००२ सम्म यही दरबारमा बसेका उनी आफू प्रधानमन्त्री बनेपछि सिंहदरबारमा सरे । देशमा प्रजातन्त्र आए पनि सिंह दरबार नछोडेका यिनलाई नेपाल सरकारले जबर्जस्ती हटाएको थियो ।

केही समय यस दरबारमा बसेका यिनी देश छोडेर बाङ्ग्लोर बस्न गएपछि सरकारले यस दरबारलाई सेनाको कार्यालय बनाएको छ ।

९. सेतो दरबार

वि.सं. १९४९ मा वीरशम्शेरले छोरा गेहेन्द्रशम्शेरको लागि यो दरबार बनाइदिएका थिए । यस भव्य दरबारमा वैज्ञानिक गेहेन्द्रशम्शेरले प्रयोगशाला (ज्यासल) पनि स्थापना गरेका थिए । भनिन्छ, ‘गेहेन्द्रशम्शेरले ठुला-ठुला पवन चक्कीबाट ज्यासलको लागी आवश्यक बिजुली उत्पादन पनि गरेका थिए ।’ १९६१ मा गेहेन्द्रशम्शेरको मृत्युपछि उनका छोरा लीलाशम्शेर यस दरबारमा बसेका थिए । तर, अफसोस वि.सं. १९९० मा भएको ठुलो आगलागीले यो भवनको अधिकांश भाग जलेर नष्ट भयो । केही भाग बचेको थियो भने विशाल प्रवेशद्वारको पिलर आज पनि जमलको बाटोमा देख्न सकिन्छ ।

१०. टंगाल दरबार

वि.सं. १९४६ मा वीरशम्शेरले भाइ भीमशम्शेरको लागी वास्तुविद् जोगलाल स्थापितद्वारा यस दरबार बनाउन लगाएका हुन् । भीमशम्शेर करिब ४० वर्ष यस दरबारमा बसे । प्रधानमन्त्री भएपछि सिंहदरबार सर्नुपरेको हुँदा यस दरबार छोरा रामशम्शेरला दिए । २०२९ मा रामशम्शेरको मृत्यु पछि छोराहरूको भागमा पर्‍यो । पछि छोराहरूले यो दरबार बिक्री गरे ।

११. शितल निवास

वि.सं. १९८० मा चन्द्रशम्शेरले छोरा कृष्णशम्शेरको लागी यस दरबार बनाएका थिए । तर, २००४ मा ठुलो दबाब पछि कृष्णशम्शेरले नेपाल सरकारलाई हस्तान्तरण गराई आफू बाङ्ग्लोर बस्न गए । २००४ पछि केही वर्ष भारतीय राजदूतावास रहेको यो दरबारलाई हाल राष्ट्रपति भवन बनाइएको छ ।

१२. सिंह दरबार

वि.सं. १९६० मा चन्द्रशम्शेरले बनाएका यस दरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । दरबार तैयार भएपछि चन्द्र शम्शेरले रु. दुई करोडमा नेपाल सरकारलाई बिक्री गराई यसलाई प्रधानमन्त्री निवास बनाए । पद्माशम्शेर बाहेक सबै राणा प्रधानमन्त्रीहरू आफ्नो कार्यकालमा यही दरबारमा नै बसे ।

१३. थापाथली दरबार

भीमसेन थापाको समयमा बागमती किनारमा रहेको गरिबहरूको बस्तीलाई जबर्जस्ती हटाई थापाहरूले यसलाई आफ्नो निवासस्थान बनाए ।

थापाहरूको थलो भएकोले यसलाई ‘थापाथली’ भन्ने गरियो । थापाको पतनपछि यस स्थानलाई जङ्गबहादुरले आफ्नो बनाए । ‘थापाहरू भेटेसम्म काट्नु’ भन्ने आदेश भएकोले कतिपय काटिए, कतिपय भागेर विभिन्न स्थान बस्न पुगे । पोखराका ‘बगाले थापाहरू’ यसैकालका पीडितहरू हुन ।

यसरी थापाथलीबाट थापा लखेटे पनि नाम भने काटिएन (मेटिएन) । जङ्गबहादुरले दरबारको नाम ‘थापाथली दरबार’ नै राखे । ४२ साल पर्वपश्चात्, फेरी शम्शेर राणाले जङ्ग राणाहरूलाई त्यसरी नै लखेटे । शम्शेर राणाले पनि उस्तै उर्दी जारी गरे, ‘जङ्गहरू भेटेसम्म काट्नु’ भनेपछि कति काटिए, कति भागेर गए । पोखरामा भएका राणाहरू पनि यही समय लखेटिएका जङ्गबहादुरका सन्ततिहरू हुन् । जङ्गबहादुरका माहिलो भाइ बमबहादुरका सन्तान मिरुवामा बस्ने विक्रम राणा खलक हुन भने अन्य जङ्गबहादुरकै सन्ततिहरू जङ्गबहादुर राणा लेख्ने गर्दछन् ।

रनसुर विष्टको डिजाइनमा बनाइएको यो दरबारमा चन्द्रशम्शेर वि.सं. १९६० सम्म नै बसे । चन्द्रशम्शेर सिंहदरबारको निर्माणपछि सिंहदरबार बस्न गए । पछि, यो दरबार छोरा सिंहशम्शेरको लागि मर्मत गरिएकाले ‘सिंह महल’ भनेर नामाकरण गराए । तर, सिंहशम्शेर भने चन्द्रशम्शेरको मृत्युपछि मात्र सिंहमहलमा बस्न आएका थिए । हाल सो दरबारमा नेपाल राष्ट्र बैङ्कको भवन रहेको छ ।

१४. श्री दरबार

वि.सं. १९८३ मा चन्द्रशम्शेरले आफ्नी कान्छी श्रीमती बालकुमारीदेवी तथा छोराहरू मदनशम्शेर र विष्णुशम्शेरको लागि तैयार गरिदिएको दरबार हो यो। १९८६ मङ्सिरमा चन्द्रशम्शेरको मृत्युपछि बालकुमारी देवी बनारस बस्न गए । विष्णुशम्शेर पनि नेपाल छोडेर लन्डन पुगे । मदनशम्शेरको पनि छिट्टै मृत्यु भएपछि रानी जगदम्बा कुमारी देवीले दरबारको अधिकांश भाग कुनै बिक्री गरिन्, कुनै दान गरिन् । मदनशम्शेरका छोरा गोपालशम्शेर पनि देहरादून बस्न गए ।

हाल मदन पुरस्कार पुस्तकालय यही श्री दरबारमा नै रहेको छ ।

१५. त्रिचन्द्र कलेज

वि.सं. १९७४ मा चन्द्रशम्शेरले यस भवनको निर्माण गराई कलेज स्थापना गराएका थिए । त्रिचन्द्रमा ‘त्रि’ भन्नाले त्रिभुवन र ‘चन्द्र’ले चन्द्रशम्शेरको नामलाई इंकित गर्दछ । यो नेपालको पहिलो कलेज पनि हो । सुरुमा यहाँ राणा परिवारले मात्र पढ्न पाउँथे । १९७५ सम्म आईएस्सी मात्र पढाई हुने यस कलेजमा २००१ पछि बिएस्सीको पढाई हुन थालेको थियो ।

१६. वीर हस्पिटल

वि.सं. १९४५ मा वीरशम्शेरले वीर हस्पिटलको स्थापना गराएका थिए । यो नेपालको सबैभन्दा पुरानो अस्पताल हो ।

१७. गद्दी बैठक

वि.सं. १९६४ मा चन्द्रशम्शेरले सिंह दरबार बनाउने आर्किटेक्चर र डिजाइनरलाई नै युरोपियन शैलीमा वसन्तपुर दरबार क्षेत्रमा पश्चिम फर्काएर गद्दी बैठक बनाउन लगाएका थिए । यसलाई ‘दरबार हल’ पनि भन्ने गरिन्छ ।

शाहकालमा राजाहरू यही बसेर इन्द्रजात्रा अवलोकन गर्ने गर्दथे । साथै, राजा वीरेन्द्र तथा ज्ञानेन्द्रको राज्याभिषेक पनि यही भएको थियो ।

१८. चन्द्र ज्योती

वि.सं. १९६८ ज्येष्ठ ९ गते पृथ्वी वीरविक्रम शाहद्वारा टुँडिखेलमा बत्ती बाली चन्द्र ज्योतिको उद्घाटन गरेका थिए । फर्पिङमा १९६४ मा निर्माण कार्य थालिएको यस चन्द्र ज्योतिको लागी सो समयमा ७,१३,२७३ रुपैयाँ खर्च भएको थियो । पहिलो इन्जिनियर दाजु भाइ किशोर नरसिंह राणा र कुमार नरसिंह राणाको डिजाइन र बेलायतबाट आएका इलेक्ट्रिक इन्जिनियर बारनाउ पुवान्ते (Barnau Puwante) र सामान सप्लाई गर्ने कम्पनीको तर्फबाट इन्जिनियर लिंज्याले (Linzale) को मेहनतले नेपालमा बिजुली बल्यो । त्यस बेलासम्म एसियाका कतिपय देशमा बिजुली बलेकै थिएन ।

१९. सैनिक अस्पताल

वि.सं. १९८२ मा सेनाको आवश्यकतालाई ध्यानमा राखेर चन्द्रशम्शेरले महांकाल नजिकै सैनिक अस्पताल खोलिदिए । सुरुमा यसको नाम ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ थियो । पछि वि.सं. २०४५ सालमा ‘श्री वीरेन्द्र हस्पिटल’को नाममा छाउनीमा सैनिक अस्पतालको सेवा विस्तार भयो ।

२०. रानी पोखरी र पछाडी दरबार स्कुल

वि.सं. १९०७ मा बेलायत भ्रमणबाट फर्केपछि जङ्गबहादुरले देशमा अङ्ग्रेजी शिक्षाको आवश्यकता देखे । यसै कारणले गर्दा १९१० असोज २७ गते नेपालमा अङ्ग्रेजी शिक्षाको जग राखे, आफ्नै थापाथली दरबार भित्र । बेलायतबाट ल्याइएका ‘केन्निङ’ भन्ने अङ्ग्रेजी शिक्षकलाई नै प्रधानाध्यापक बनाए । पछि, विभिन्न स्थानमा सर्दै वीरशम्शेरले १९४८ मा हालको स्थानमा लामो टहरा बनाएर स्थायित्व दिए । १९५७ मा देवशम्शेरले सर्वसाधारणले पनि पढ्न पाउने व्यवस्था मिलाइदिए ।

२१. नारायण हिटी दरबार

ढोकलसिंह बस्न्यातको घर रहेको स्थानलाई चौतरिया फतेहजङ्ग शाहले जबर्जस्ती आफ्नो निवास बनाए । कोत पर्वमा चौतरिया सबैको निर्मूल भएपछि जङ्गबहादुरले आफ्ना भाइ रणोद्दिप सिंहको लागि यो दरबार बनाइदिए । वि.सं. १९३४ मा रणोद्दिप प्रधानमन्त्री हुँदा यही दरबारमै शपथ लिए र यसलाई प्रधानमन्त्री निवास बनाए । १९४२ मङ्सिर ९ गते रणोद्दिपको हत्या यही दरबार भित्र भयो ।

यसपछि प्रधानमन्त्री बनेका वीररशमशेरले नेपाली आर्किटेक्ट जोगवीर स्थापितको डिजाइनमा नारायणहिटी दरबार बनाई आफ्ना ज्वाइँ पृथ्वी वीर विक्रम शाहलाई बस्ने व्यवस्था मिलाए । यसप्रकार, यो दरबार शाह राजाहरूको दरबार बन्न पुग्यो । यस दरबार परिसरमा नारायणको मन्दिर हुनु र पश्चिम ढोकामा हिटी (पानीको धारा) भएकोले यस दरबारको नाम ‘नारायण हिटी दरबार’ रहन गएको हो ।

हाल हामीले देख्ने गरेको नारायणहिटी दरबारको स्वरूप राजा महेन्द्रले २०१७ सालमा बनाएका हुन । हाल यस दरबारमा सङ्ग्रहालय बनाइएको छ ।

२२. चार बुर्जा दरबार

वीरशम्शेरले आफ्नो लागी बनाएको यो दरबार तैयार भएपछि छोरा रुद्रशम्शेरलाई हस्तान्तरण गरे पनि रुद्रशम्शेर बाबुको मृत्यु पछि वि.सं. १९५९ बाट मात्र बस्न थालेका थिए । तर वि.सं. १९६२ को आगलागीले यसलाई ध्वस्त बनाए पछि फेरी जोगवीर स्थापितलाई नै डिजाइनिङ गर्न लगाइ पुनः तैयार भएपछि त्यही भवनमा बस्न थाल्छन् । चार कुनामा चार बुर्जा भएकोले यसलाई ‘चार बुर्जा दरबार’ भन्ने गरिएको थियो ।

वि.सं. १९९० मा जुद्धशम्शेरले रुद्रशम्शेरलाई पाल्पा धपाएपछि यो दरबार छोरा बहादुरशम्शेरलाई दिन्छन् । बहादुरशम्शेरको हकमा आएपछि यो दरबारको नाम ‘बहादुर भवन’ रहन गयो । यस दरबारमा नेपालको पहिलो अत्याधुनिक होटेल ‘रोयल होटेल’ खुलेको थियो । नेपाल सरकारको मातहतमा आएपछि हाल यसमा निर्वाचन आयोगको कार्यालय रहेको छ ।

२३. भाट भटेनी दरबार

वि.सं. १९५० मा वीरशम्शेरले छोरा धर्मशम्शेरको लागी यो दरबार बनाउन लगाएका थिए । वि.सं. १९५७ मा वीरशम्शेरको मृत्युपछि धर्मशम्शेर यस दरबारमा बस्न थाले । धर्मशम्शेरको मृत्युपछि सबै सम्पत्ति धर्म छोरा (Adopted Son) एकराजशम्शेरको नाममा हस्तान्तरण भयो । १९९०को भूकम्पमा यो दरबार जीर्ण भएपछि उनका सन्ततिहरूले यस जमिनको कतिपय हिस्सा बिक्री गरे । केही बाकी भागमा उनीहरू अझै बसिरहेका छन् ।

२४. जावलाखेल दरवार

भू.पु. प्रधानमन्त्री बमबहादुर कुँवर राणाका छोरा बमवीर विक्रम कुँवर राणाको घर रहेको जावलाखेलमा त्यति बेलाका प्रधानमन्त्री वीरशम्शेरले जुद्धशम्शेर र उनका आमा जुहारकुमारीको लागि जावलाखेलमा महल बनाइदिएका थिए । वास्तुकलाविद् जोगलाल स्थापितले महल तैयार गरिदिए पछि वि.सं. १९५४ मा जुद्धशम्शेर यस महलमा बस्न थाले ।

१९८९ मा प्रधानमन्त्री बनेपछि जुद्धशम्शेर सिंहदरबारमा सरे । १९९० मा भूकम्पले भत्केपछि मर्मत गराइ छोरा सूर्यशम्शेरलाई दिए । सूर्यशम्शेरको मृत्युपछि यो महल उनका छोरा युवराजशम्शेरको मातहतमा आयो ।

२००७ को प्रजातन्त्र पछि युवराजशम्शेरले क्लब रोन्डेउ (Club Rondeau) खोले । यो क्लब त्यसबेलाको अति चर्चित मनोरञ्जन गर्ने स्थल बन्यो । यहाँ जुवा, रक्सी, नाचगान र पार्टी दिनहुँ हुने गर्थ्यो । पछि विस्तारै क्लबबाट घाटा लाग्न थालेपछि यो दरबार युवराजशम्शेरले नेपाल सरकारलाई नै बिक्री गरे । हाल यस ठाउँमा भूमिसुधार विभाग रहेको छ ।

२५. लाजिम्पाट दरबार – Lodging Part (अग्नी भवन)

पाण्डेहरूको पुरानो थलो रहेको हालको लाजिम्पाटमा वीरकेशर पाण्डेको दरबार थियो । १९०३ भदौ ३१ को कोतपर्वमा वीरकेशर पाण्डेको हत्यापछि यस दरबारमा ‘काजीमामा’ अर्थात् कर्णेल त्रिविक्रम सिंह थापाले भोगचलन गरे । १९३१ मा काजी मामालाई जङ्गबहादुरले काशी पठाइदिएपछि यो दरबारमा उनका आफन्तहरूको बसोबास रह्यो ।

१९४२ मा रणोद्वीपको हत्यापछि सत्तामा पुगेका वीरशम्शेरले भाइ जीतशम्शेरको लागी वास्तुकलाविद् जोगलाल स्थापित (कतै कतै कुमार नरसिंह राणा पनि लेखिएको छ) लाई नै दरबार बनाउन लगाए । दरबार बनिसकेपछि यो दरबारको नाम ‘लाजिम्पाट दरबार’ रहन पुग्यो । निसन्तान जीतशम्शेरको १९७० मा मृत्यु भए पछि यो दरबार जुद्धशम्शेरले आफ्ना छोरा अग्नीशम्शेरलाई दिलाए । त्यसपछि यो दरबारको नाम ‘अग्नीभवन’ रह्यो । अग्नीशम्शेरको निवास रहँदा नै पूर्व महारानी ऐश्वर्य, पूर्व महारानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेक्षाको जन्म यही दरबारमा नै भएको थियो ।

अग्नि भवनको एक भाग २०२१ सालमा व्यापारी रामशंकर श्रेष्ठले किनेर यसमा ‘शङ्कर होटेल’ खोले भने अर्को भागमा नेपाल सरकारको आन्तरिक राजश्व कार्यालय रहेको छ ।

लाजिम्पाट नामाकरण पछाडि पनि नौलो कथा छ । बेलायती सरकारको काठमाडौंमा ब्रिटिस रेजिडेन्ट खुलेपछि बेलायती पदाधिकारी तथा अन्यको नेपाल आगमन हुन थाल्यो । ती पाहुनाहरूलाई बस्नको लागी यसै स्थानमा व्यवस्था गरिएको थियो । जसले गर्दा ब्रिटिसहरू यो ठाउँलाई ‘Lodging Part’ भन्ने गर्दथे । तर, नेपालीले यही शब्द सुन्दा सुन्दा यसलाई नेपालीमा ‘लजिम पाट’ भन्ने थालेपछि ‘लाजिम्पाट’ हुन गयो।

२६. फोहरा दरबार

वि.सं. १९५४-५५ तिर वीरशम्शेरले वास्तुकलाविद् जोगवीर स्थापितलाई फोहरा दरबार बनाउन लगाए । उनले सो दरबारमा तैयार भएपछि आफ्ना छोरा प्रतापशम्शेरको लागी बकस लेखिदिए । तर, यो कुरा कान्छी रानी तोपकुमारीदेवीला मन परेन ।

वीरशम्शेरले सोही दरबार नजिकै अर्को अझ भव्य फोहरा दरबार कान्छी महारानीका लागि बनाइदिए । सो दरबारमा अत्याधुनिक फोहराहरू बनाइएको थियो । साथै, बिचमा चौडा पोखरी र पोखरीको बिचबिचमा पनि लहरै फोहराहरू राखिएको थियो । यही महलको कौसीमा पनि सर्च लाइट जडान गरिएको थियो । यहाँ जडान गरिएका सामग्रीहरू पनि युरोपबाट मगाइएका थिए ।

१९५९ मा वीरशम्शेरको मृत्यु पछि आफ्नो दरबारमा प्रतापशम्शेर बस्न थाले । १९८२ मा प्रतापशम्शेर धपाइएर पाल्पाका बडाहाकिम बनाइए । त्यहाँ पनि पाल्पा दरबारको मर्मत गराइ बसे । १९९० मा त्यहाँबाट पनि लखेटिएपछि दार्जिलिङ पुगे, जहाँ उनको १९९२ मा मृत्यु भयो ।

सो कान्छी रानीको लागी बनाइएको दरबार पनि प्रतापशम्शेरकै नाममा आयो । मुख्य पहिलो फोहरा दरबार जेठा छोरा माधवशम्शेरको अंशमा आयो । जुन पछि राजा महेन्द्रले बिना मुआब्जा जबर्जस्ती भत्काएर नारायणहिटी भित्र गाभे ।

रानीको लागी बनाइदिएको दरबार कान्छा छोरा गोविन्दशम्शेरलाई दिए । २००७ सालपछि यही दरबारको भुइँतलामा रहेको ठुलो हलमा ‘प्रभा सिनेमा हल’को नामबाट सिनेमाहरू देखाउने गर्दथ्यो । सिनेमा हल त चलेन, जसले गर्दा घाटा लाग्यो । फोहरा दरबार बिस्तारै ‘फोहर दरबार’ बन्न थाल्यो । यता राजा महेन्द्रले जबर्जस्ती दाजुको फोहरा दरबार भत्काएको हुँदा भाइले पनि सो फोहरा दरबार अमेरिकी राजदूतावासलाई बेचिदिए ।

हाल यो दरबार अमेरिकी राजदूतावास अन्तर्गत ‘अमेरिकन रिक्रिएशन सेन्टर’को रूपमा रहेको छ ।

२७. थापाथली वैद्यखाना

प्राचीन कालदेखि नै हिन्दू आख्यानहरूमा वैद्यहरूको उपस्थिति देखिन्छ । धन्वन्तरि, चरक ऋषि, भैषज्यगुरू एवं कतिपय वैद्यहरूको कथा पढ्न पाउँछौँ ।

तर, कुनै अस्पताल जहाँ सामूहिक उपचार हुने तथ्य भने हामी अंशुवर्माको समयदेखि मात्र पाउन सक्छौँ । आरोग्यशाला भनेर सो बेला उपचार गरिने तथा नरेन्द्रदेवको समयमा प्रसूतिको समय आमाको मृत्यु भएमा बालकलाई सकुशल निकाल्ने गरेको भन्ने पढ्न पाउँछौँ। प्रताप मल्लको समयमा हनुमान ढोका दरबार परिसरमा नै वैद्य औषधालय खुलेको तथ्य भेट्छौँ ।

यही क्रममा, जङ्गबहादुर बेलायत घुम्न जाँदा उनले बेलायतमा आधुनिक अस्पतालहरू देखे, जहाँ विशेष किसिमले उपचार हुने गरेको देखेपछि नेपाल आएर उनले आफ्नो थापाथली दरबार क्षेत्रमा नै वास्तुकलाविद् रनसुर विष्टलाई भवन बनाउन लगाए । जसलाई उनले ‘थापाथली वैद्यखाना’ नाम दिए । सो वैद्यखानामा श्रीकृष्ण गोविन्द, चक्रपाणि जस्ता राजगुरुहरूलाई जनताको सेवाको लागी राखे । देशमा पाउने जडीबुटी मात्र नभएर उनले दार्जिलिङ, नैनिताल, सिमला, काश्मीर तथा भुटान सम्मबाट जडीबुटीको बिरुवा ल्याई गोकर्ण, गोदावरी, नागार्जुनमा रोप्न लगाई जडीबुटी उत्पादन गर्न लगाई थापाथली वैद्यखानामा उपचारमा उपयोग गर्न लगाए ।

यसरी बनाइएको वैद्यखानामा गरिब जनतालाई नि:शुल्क उपचार तथा जडीबुटी उपलब्ध गराइन्थ्यो । तर, राणा परिवार तथा उच्च तहले निश्चित शुल्क तिर्नु पर्दथ्यो ।

१९४२ मा रणोद्विपको हत्या र जङ्ग परिवारको आत्महत्या पछि धीरशम्शेरका सन्ततिको हातमा सत्ता आएपछि यो वैद्यखाना पनि बन्द भयो । यो दरबार र यसले चर्चेको जग्गामा देवशम्शेरको हक लाग्यो । १९५८ मा देव शम्शेर लखेटिए पनि यो दरबार तथा यसले चर्चेको सम्पूर्ण जग्गा उनकै सन्ततिकै हकमा रह्यो ।

baidhyakhana

२८. मनोहरा दरबार

(फोटो भेट्न सकिएन तसर्थ, नाति जर्नेल जुद्धप्रताप जङ्ग (छोरा)को साथमा जगतजङ्गको तस्बिर राखेको छु )

जेठा दाजु भीमप्रताप जङ्गको बाबुको कुटाइबाट अचानक मृत्यु भएपछि जगतजङ्ग बाबुदेखि डराउन थाले । वि.सं. १९०४ फागुन २० गते जन्मेका जगतजङ्गले बाबुले आफ्नो लागी बनाइदिएको थापाथलीको दरबार (राष्ट्र बैङ्क बसेको) आफ्नो छोरा युद्धप्रताप जङ्गलाई सुम्पेर १२ किलोमिटर टाढा मनोहरा नदी किनारमा (हालको गोठाटार, अधिकारी गाउँदेखि पूर्व) करिब ५०० रोपनी जग्गा ओगटेर ७ तले दरबार बनाइ बस्न गए ।

यो दरबार सो समयको गगनचुम्बी महलमा पर्दथ्यो । महलको बुर्जामा बसेर चारैतिर टाढा टाढासम्म हेर्न सकिन्थ्यो । यो दरबार मनोहरा नदी किनारमा रहेको हुँदा ‘मनोहरा दरबार ‘भनेर चिनिन्थ्यो । जङ्गबहादुरको समयमा सबै दरबार रनसुर विष्टले नै बनाएको हुँदा यो दरबार पनि रनसुर विष्टले नै बनाएको अनुमान गर्न सक्दछौँ ।

१९४२ मङ्सिर ८ गते राती ९ बजे ज्योतिषीले दिएको साइतमा प्रधानमन्त्री रणोद्विपको हत्या गरेर वीरशम्शेरले सत्ता हातमा लिए । ब्रिटिस सरकारको निमन्त्रणामा दिल्लीमा सैनिक परेडको लागी जान आवश्यक भन्दै ३,००० सेना र हातहतियारको जिम्मा लिएका वीरशम्शेरले मौकाको फाइदा लिँदै तिनै सेनाको सहयोगले आफ्नो षडयन्त्र सफल पारे ।

१९३५ मा दरबार बनाइ बस्न थाले पनि यो दरबारमा समय बिताउन पाएनन् । ३८ साल काण्डमा धीरशम्शेरको अनुरोधमा कम्पनी सरकारले भारतमा उपचारका लागी पुगेका उनलाई १९३८ असार १२ मा पक्री चुनार जेलमा राखे । त्यहाँबाट १९४२ मा भागेर आएका उनलाई पुन नेपालमा पकडेर नेपालकै कैदमा राखे । त्यहाँबाट उनी १९४२ असारमा जेल मुक्त भएका थिए । जेल मुक्त भएपछि आआफ्नो मनोहरा दरबारमा बस्न पाएका उनी पाँच महिनापछि त्यही दरबारमै केवल ३८ वर्षको उमेरमा सैनिकको गोलीबाट जीवन त्यागे ।

४२ साल पर्व पछि यो दरबार खाली रह्यो । शमशेरहरू सत्तामा बस्दा यो दरबार गलत चालचलनका राणा तथा शाह महिलाहरूको सजाय भोग्ने बन्दिगृह बन्यो । राजा त्रिभुवनका एक रानी पनि खोपीमा एक अर्दलीसँग भेटिए छि उनलाई पनि यही बन्दिगृहमा कैद राखिएको थियो ।

सुरुमा ब्रम्हशम्शेरको जिम्मामा रहेको यो दरबार मोहनशम्शेरको प्रधानमन्त्रीत्व कालमा मदनकृष्ण कर्माचार्य भन्ने व्यक्तिले जगतजङ्गका परिवार कोही जीवित नरहेको बिन्तिपत्र चढाइ बकस लिएका थिए । २००७ सालपछि जगतजङ्गका सन्तति खोज्दै आइपुग्दा सम्म तीन तला बचेर भग्नावशेष भएको दरबार र १०० रोपनी जग्गा रहेकोमा मदनकृष्ण कर्माचार्यले ५० रोपनी मात्र फिर्ता दिए । दरबारको नामोनिशान मेटिए पनि बाँकी ५० रोपनी जमिनमा जगतजङ्गका सन्ततिहरू बसिरहेका छन् ।

२९. चारबुर्जे घर (थापाथली दरबार भित्रको)

भीमसेन थापाको समयमा पन्जाब केशरी रणजित सिंहलाई मिलेर अङ्ग्रेज विरुद्ध युद्ध गर्ने उद्देश्यले अनुरोध गरे पनि सहयोग नगर्दा नेपालको निकै ठूलो पराजय झेल्नु परेको थियो । उनै रणजित सिंहको कान्छी रानी जिन्द कौर भागेर जोगिनीको भेषमा भिक्षाखोरी (अमलेखगञ्ज) आइपुगेपछि शरणको मरण गर्नुहुँदैन भनेर जङ्गबहादुरले वैशाख १९, १९०६ मा काठमाडौं ल्याई थापाथली दरबार भित्र नै शरण दिएर राखे । मासिक २,५०० रुपैयाँ समेतको व्यवस्था गरिदिएका जङ्गबहादुरले पछि घर नै बनाइदिए । घरको माथि चार वटा बुर्जा राखिएकोले यस घरलाई चारबुर्जा महल पनि भन्न थाले ।

१९१२ मा नेपाल छोडी जाँदा सो महल रानी जिन्द कौरले एक ब्राह्मणलाई दान दिएर गए । ब्राह्मणलाई दान दिएको खोस्नु हुँदैन भनेर ब्राह्मणबाट जङ्गबहादुरले किनेर फिर्ता लिए ।

यसैको साथ नेपालमा लाहुरे शब्दको प्रसङ्ग पनि जोडौँ । नेपालका महान् योद्धा बलभद्र कुँवर नालापानीको पराजयपछि देश फर्केर केही नेपालीको जमातको साथ यिनै पन्जाब केसरी रणजित सिंहको सेनामा गोर्खा सैनिक कम्पनीका गठन गरी सोही कम्पनीको नायक भएका थिए । उनको यो सैनिक अड्डा लाहोरमा थियो । त्यसबेला पश्चिम नेपालमा लाहोर जाने चलन नै सुरु भएको थियो । यसपछि विदेशमा जाने हरेक नेपालीले लाहुर जाने भन्न थाले । साथै त्यसरी जानेहरूलाई ‘लाहुरे’ भन्न थाले ।

यसरी पन्जाबी सेनाको तर्फबाट लड्ने समयमा पेशावरमा वि.सं. १८७९ चैत्र २ गते बलभद्र कुँवरको मृत्यु भयो । यिनकै नाताले भतिजा जङ्गबहादुरले उनै आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजितसिंहको रानी जिन्द कुवरलाई शरण दिएर काकाको ऋण चुक्ता गरे ।

३०. भीरकोट दरबार

विभिन्न दरबारको नाम सुनिरहे पनि तस्बिर प्राप्त नभएको तथा इतिहास थाहा नभएको हुँदा लेख्न सकिएको थिएन । मल्लाज दरबार जस्तो महत्त्वपूर्ण दरबारलाई भग्नावशेष हुन नदिन र मात्र इतिहासमा सीमित हुन नदिन नौलो प्रयास स्वरूप ‘The Heritage of Mallaj’ को रूपमा रिसोर्ट सञ्चालन गर्दै आएका मुकुन्द मल्लले यो तस्बिर तथा विवरण पठाएको हुँदा यहाँ राख्दै छु ।

यो दरबार भीरकोटका राजा तारक बहादुर शाहले बनाएका हुन् । उनी कूटनीतिज्ञ ॠषिकेश शाहका बुबा थिए । वि.सं.१९६० मा जन्मिएका उनी केवल ९ वर्षको उमेरमा बुबा राजा ताम्रध्वज खाँडको स्वर्गारोहणपछि राजा बनेका थिए । उहाँको विवाह वीरशम्शेरको छोरी मदन दिव्यश्वरी राज्यलक्ष्मी राणासँग भएको थियो । उनको ९८ वर्षको उमेरमा २०५७ फागुनमा स्वर्गारोहण भयो ।

बैंकर अनिल केशरी शाह उनको कान्छा छोरा नारायण केशरी शाहका छोरा हुन् ।

पोखरामा पनि ढोका दरबार, दरबारथोक दरबार, बगाले टोलको दरबार र सेतो दरबार गरी चार वटा दरबार थिए । तर आज एउटाको मात्र अस्तित्वमा छ, अन्य हराइ सके । यसरी नै धनकुटामा, नेपालगञ्जमा, तथा कतिपय अन्य स्थानमा पनि दरबारहरू थिए होलान् । तर, न त तस्बिर भेटिन्छ, न त इतिहास नै भेटिन्छ ।

तस्बिर सौजन्यः सुनिल उलक

सम्बन्धित समाचार