आइतबार , कार्तिक ९, २०८३

भीर मह चखाउने धौलागिरि आइसफल पदमार्ग

image

म्याग्दीको धौलागिरि आइसफल पदमार्गलाई स्वर्गको एक टुक्रा हो । यहाँबाट देखिने दृश्यले कसको मन नलोभ्याउला र ?

धौलागिरि आइसफल सहित म्याग्दीको रघुगंगा क्षेत्रका पर्यटकीय स्थलहरूलाई ‘धौलागिरि सेन्चुरी पदमार्ग’ घोषणा गरिएको छ । बेनीदेखि आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने पदमार्ग सात दिनमा पुरा गर्न सकिन्छ । प्रस्तावित रघुगंगा गाउँपालिकामा पर्ने यो पदमार्ग धौलागिरि आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो मानिएको छ ।

बेनीदेखि झिँ, पाखापानी, रायखोर, घ्याँसीखर्क, छरी, फेदी सहश्रभिर, ओडार क्याम्प हुँदै धौलागिरि आधार शिविर पुगेपछि चिमखोला, दर्मीजा, दग्नाम हुँदै गलेश्वर फर्कने यो पदमार्गमा सात दिनको यात्रा गर्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा २०७२ फागुन–चैतमा विज्ञ र प्राविधिक सहितको टोलीले सिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरूले हिँड्ने गोरेटो पछ्याउँदै पदमार्गको पहिचान गरेको थियो ।

धौलागिरि आइसफल पदमार्ग

बेनीदेखि तीन दिनमा धौलागिरि आधार शिविर पुग्न सकिन्छ । झिँ पहिलो बास, घाँसखर्क दोस्रो बास बसेपछि छरि हुँदै फेदी क्याम्प पुगेर तेस्रो दिन बिताउन सकिन्छ । यसपछि, सुनथला तथा कालो पहाड हुँदै ओढार क्याम्पपछि धौलागिरि बेसक्यामबाट सोही बाटो फर्केर मंगलेखानी, चिमखोला हुँदै दर्मीजामा होमस्टे गरि सातै दिनमा बेनी फर्कन सकिन्छ ।

धौलागिरि सेन्चुरी साहसिक पदयात्रा रुचाउने पर्यटकका लागि उपयोगी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए । धौलागिरि आधार शिविर पुग्ने सबैभन्दा छोटो यस पदमार्गमा प्राकृतिक सौन्दर्य र मगर तथा छन्त्याल समुदायको संस्कृति प्रमुख विशेषता रहेको उनी बताउँछन् ।

सूर्योदय र हिमशृङखलाको अवलोकन गर्न सकिने टोड्के, धार्मिक स्थल, जगन्नाथ, पछै, रिखार लगायतका स्थलहरूलाई समेटिएको यस पदमार्गमा जंगली जनावर, पक्षी, गुराँसे जङ्गल र झरना थप आकर्षणका केन्द्रहरू हुन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको कुईनेमंगले गाविसलाई समेटिएको यस पदमार्गमा पर्ने चिमखोला, दग्नाम, झिँ र पाखापानमा मगर समुदायको बाहुल्यता छ । मगर र छन्त्याल पछि दलित समुदायको पनि बसोबास रहेको छ । मगर र छन्त्याल समुदायले पुर्ख्यौली, थाली नाच, सोरठी, यानीमाया गीत प्रस्तुत गरेर पाहुनाको स्वागत गर्छन् ।

भीर पहरामा गरिने जोखिमपूर्ण तरिकाले गरिने मह सिकार अवलोकन गर्न सकिने यस पदमार्गको दर्मीजा गाउँमा प्राकृतिक तातोपानी कुण्ड पनि रहेको छ । पदमार्गको अन्तिम गन्तव्य चार हजार मिटरको उचाईमा रहेको धौलागिरिको दक्षिणी आधार शिविरमा पुगेपछि नजिकबाट हिमशृङखलाको दृश्य अवलोकन गर्न सकिन्छ । यो पदमार्ग सञ्चालनसँगै ओझेलमा परेको रघुगंगा क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको म्याग्दीमा यसअघि धौलागिरि चक्रीय, गुरिल्ला, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग चालु अवस्थामा छन् । म्याग्दीको भगवती हुँदै मुस्ताङको लेते जोडिने धौलागिरि आइसफल र मुदी गुर्जा हुँदै डोल्पा जोडिने गुर्जा हिमाल ट्रेल सञ्चालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, रुप्से झरना, अन्धगल्छी, धौलागिरि, अन्नपूर्ण हिमाल, ढोरपाटन सिकार आरक्ष लगायतका पर्यटकीय स्थल रहेको म्याग्दीमा वार्षिक तिस हजार जना भन्दा बढी तेस्रो मूलकका पर्यटक भ्रमणमा आउने गर्छन् ।

Tags:

सम्बन्धित समाचार