आइतबार , कार्तिक १६, २०८३

राजनीतिमा होमिँदै वैज्ञानिक महावीर पुन, यस्ता छन् समर्थकका प्रतिक्रिया

राजनीतिमा हाेमिने पुनको निर्णयमा उनका समर्थकहरूले  मिश्रित खालका प्रतिक्रियाहरू दिएका छन् ।

image

काठमाडौं । पछिल्लो समय विभिन्न पेसा, व्यवसाय तथा कला क्षेत्रमा सफल दरिएका व्यक्तिहरू राजनीतिमा होमिने क्रम बढेको छ । कतिपय उनीहरू विद्यमान ठुला-साना राजनीतिक दलहरूमा जोडिएका छन् भने केहीले आफैले दल खोलेका छन् । केहीले भने आफूलाई स्वतन्त्र रूपमा प्रस्तुत गरेका छन् । विद्यमान राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताहरूबाट वाक्क दिक्क भएका जनताले विकल्प पनि खोज्न थालेका छन् ।

राजनीतिमा नयाँ अनुहारलाई जनताले पत्याउन पनि थालेका छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरमा बालेन  शाह (बालेन्द्र) र धरान उपमहानगरमा हर्क साम्पाङ राईको जितलाई लिन सकिन्छ ।

पत्रकारिताको माध्यमबाट चर्चा बटुलेका टेलिभिजनकर्मी रवी लामिछानेले पनि अघिल्लो महिना नयाँ पार्टी खोलेका छन् । सञ्चार कर्ममा हुँदा राजनीतिक दल, नेता र कार्यकर्तामाथि खरो उत्रिएका लामिछानेले आफैँले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल दर्ता गरेका छन् । राजनीतिमा होमिएपछि पत्रकारितामा हुँदाका समर्थक/प्रशंसकहरूले उनलाई गाली पनि गर्न थालेका छन् । यद्यपि, उनको राजनीतिक यात्रा कस्तो रहला, त्यो अहिले नै मूल्याङ्कन गर्नु हतारो हुनेछ ।

यस्तैमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् वैज्ञानिक महावीर पुनले पनि राजनीतिमा होमिने सङ्केत दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी स्थानीय तहको निर्वाचनमा चुनाव लड्ने मनसाय व्यक्त गरेका छन् ।

पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने इच्छा व्यक्त गरेका छन् ।

‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि’, फेसबुकमा उनले लेखेका छन् ।

राजनीतिमा हाेमिने पुनको निर्णयमा उनका समर्थकहरूले  मिश्रित खालका प्रतिक्रियाहरू दिएका छन् ।

तर उनका समर्थकहरूले गाउँपालिकामा भन्दा पनि आसन्न सङ्घीय निर्वाचनमा नै उम्मेदवार बन्न आग्रह गरेका छन् । कतिपय समर्थकहरूले काठमाडौँकै कुनै क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन्  ।

उनका एक समर्थक राजेन्द्र श्रेष्ठले उनको पोष्टमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘सङ्घीय सांसदको रूपमा चुनाव लड्न सुझाव छ मेरो,  तपाईँको योगदान समग्र मुलुककै लागि आवश्यक नीति निर्माणमा जरुरी छ ।’

त्यसैगरी अर्का समर्थक यामु फगामीले पनि केन्द्रमै चुनाव लड्न सुझाव दिँदै लेखेका छन्, ‘म्याग्दीमा सबै पालिकाहरूको हरेक क्षेत्रमा बेथिति नै छ तर केन्द्र मै भिड्ने हो सर यिनलाई तह लगाउन ।’

तर भुवन फागु ओनेम नामका एक समर्थकले भने राजनीतिमा नआउन सुझाव पनि दिएका छन् । उनले लेखेका छन्, ‘हुन्न सर यो फोहोरी खेल मा नलाग्नुस् तपाईँ लाई पनि त्यो फोहोरी को झुन्ड ले फोहोरी नै बनाई छाड्छ ।’

को हुन् उनी ? 

वैज्ञानिक महावीर पुनको जन्म  २२ जनवरी १९५५  म्याग्दीको नाङ्गी गाउँमा भएको हो । पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक अभियन्ता हुन् । उनले हिमालयका दुर्गम क्षेत्रहरूको विकासका लागि इन्टरनेटको प्रयोगमा जोड दिएका छन् । पुनले दुर्गम गाउँहरूमा इन्टरनेटको पहुँच वृद्धि गर्न महत्त्वपूर्ण योगदान दिएका छन् ।

उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन् । उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्यागासेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता र सम्मान दिएका छन् । उनी एक मानवतावादी हुन्, जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र सेवा गर्न प्रेरित गरिरहेको छ ।

आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ वर्षसम्म शिक्षण पेसा अपनाएका थिए । त्यस क्रममा उनले चार वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरेका थिए । स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्किएका थिए । उनी आफ्नो देशको विकासको लागि दिगो शिक्षा र प्रविधिको प्रयोगको आवश्यकता महसुस  गर्दै स्वदेश फर्केका थिए । जसको सुरुवात उनले हिमान्चल उमाविको स्थापनाबाट गरेका थिए । कम्प्युटर शिक्षा र आय श्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थालेका थिए ।

सन २००१ महावीर पुनको जीवनको स्वर्णिम वर्ष रहन गयो । त्यस वर्ष ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले उनको गाउँ-गाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ चिनाइदिएको थियो । बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए । त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए ।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन् ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने  उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए । यस्तो विशाल योजनालाई मूर्तरूप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुने भएकोले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाइरहेका छन् । अहिले राष्ट्रिय आविष्कार केन्द्रले थुप्रै आविष्कारका कामहरू गरिरहेको छ ।

एक  असल देशभक्त, मानवतावादी र  विकासप्रमी वैज्ञानिककाे रूपमा  विश्वभर चिनिएका पुन राजनीतिमा हाेमिए उनकाे याेगदानकाे दायरा अझ फराकिलाे बन्न सक्छ । उनी राजनीतिमा कसरी हाेमिन्छन्, र राजनीतिक यात्रा कस्ताे रहन्छ, भन्ने थाहा पाउन भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

सम्बन्धित समाचार