आधुनिक समयसँगै मौलिक खानाको लोकप्रियता पनि बढ्दो छ । बढ्दो लोकप्रियतासँगै स्थानीय मौलिक खानाको बजारीकरण पनि बढिरहेको छ । त्यहीमध्येको एक स्थानीय मौलिक किरात परिकार हो ‘वाचिप्पा’। किरात समुदायको भान्सामा पाक्ने परम्परागत परिकार वाचिप्पाको लोकप्रियता बढ्दै गइरहेको छ ।
किरात–राईको बान्तावा भाषामा ‘वा’ को नेपाली अर्थ कुखुरा हुन्छ । र, ‘चिप्पा’ को अर्थ कुखुराको डढाएको प्वाँख अर्थात् कालो धूलो पदार्थ हुन्छ । ‘वाचिप्पा’ तिक्खर, तीतो तर स्वादिलो हुन्छ । ठाउँअनुसार, यसको नाम फरक छ, जस्तै : ‘कुखुराको तीते’, ‘तीते’, ‘वाचिप्पा’ (राईहरू भन्छन्), ‘ओमोङचुरुक’ (याक्खाहरू भन्छन्), ‘वाम्युक’ (लिम्बूहरू भन्छन्) । यो किरातीले जोगाएको रैथाने परिकारको कथा हो । राई, लिम्बू, सुनुवार र याक्खा चार किरातमध्ये राई जातिमा निकै लोकप्रिय छ– वाचिप्पा ।
संस्कृति अध्येताअनुसार, किरात धर्मग्रन्थ ‘मुन्दुम/मुन्धुम’ मा वाचिप्पाको सांस्कृतिक प्रयोजन उल्लेख छैन । तर, ऐतिहासिक, खाद्य, औषधीय, सामाजिक तथा आर्थिक पाटोमा वाचिप्पा सम्बन्ध गाँसिएको छ । मुन्धुम/मुन्दुममा ‘माङ’ अर्थात् पितृ पूजामा कुखुराको प्रयोजन उल्लेख छ । वाचिप्पा बनाउन कुखुरा नभई हुँदैन । त्यसैले कुखुरासँग किरात समुदायको चिन्तन र खानाको सम्बन्ध पुरानो छ । आफूलाई प्रकृतिपूजक चिनाउने किरातीमा पितृलाई चढाउने पक्षीमध्ये सबैभन्दा बढी प्रयोगमा आउँछ– कुखुरा ।
आदिमकालमा किरातीका पुर्खा लुइचे अर्थात् वन कुखुराको सिकार गरी खानाका रूपमा प्रयोग गर्थे । ‘सिकार गरेर ल्याएपछि अथवा प्रकृतिबाट पाएको खान्की भएकाले कुखुरा प्रकृतिलाई र पुर्खाहरूको सम्मानमा चढाउनुपर्छ भन्ने अभ्यास भेटिन्छ’, । र, कृषियुगबाट आधुनिक युगमा प्रवेश गर्दै जाँदा यो पाककलाका रूपमा विकास भयो ।
औषधीय प्रयोजनसँग विशेष सम्बन्ध छ वाचिप्पाको । थकानले जीउ दुख्दा र रुघाखोकी लाग्दा वाचिप्पा खाए निको हुन्छ भनिन्छ । सुत्केरीलाई वाचिप्पा खुवाउने चलन किरातमा छ । वाचिप्पा खुवाएर परपाहुनाको स्वागत, सत्कार गर्ने चलन पनि छ किरातीमा । यसो हुँदा कुखुराको परिकारलाई विभिन्न तरिकाले प्रयोग गरी, कुखुराको नङ र सुलीबाहेक सबै खाइन्छ ।’
आगो प्रयोग गर्न जानेपछि पुर्खाहरूले वन कुखुराको सिकार पोलेर खान थाले । पोलेर डढेपछि धूवाँले वाचिप्पा तीतो हुन्छ, जुन किरातीको आदिम स्वाद हो । खेतीपातीमा प्रवेश गरेपछि यसलाई अन्नसँग मिसाएर खान थालियो । अचेल चामलको भातमा मिसाएर पकाउने चलन छ । वाचिप्पाले सिकारी युगको पोलेर खाने अभ्यास र कृषि युगको अन्नसँग मिसाएर खाने नयाँ चलनको प्रतिनिधित्व गर्छ ।
उभौली, साकेला, वैशाखे पूर्णिमाको छेकोमा भोजपुर हतुवागढिको राई गाउँमा घरैपिच्छे ‘माङ’ गरिन्छ । माङ अर्थात् देवीदेवताको पूजा । दाजुभाइ, नातेदार, छरछिमेकीलाई निम्ता दिइन्छ । माङमा ‘माङकोक’ (पितृ प्रसाद) का लागि कुखुराको तीते र ‘होमाङ्सा’ (कुखुराको मासुको भुटुवा) को परिकार बनाइन्छ । तीते तीन चुलामा चढाएर मात्रै खाने, खुवाउने चलन पनि छ । माङमा उपस्थित हुन नसकेकाका लागि प्रसादस्वरूप तीते र ‘होमाङ्सा’ घरमै पुर्याइन्छ ।
मुन्दुममा अन्न, लक्ष्मी र प्रतिष्ठाको प्रतीक भनी तीन चुला उल्लेख गरिएको छ । र, यो समग्रको शक्तिबाटै किरात राईहरूको जीवन सञ्चालित छ । उक्त शक्तिलाई नियमितता दिइरहन किरातीहरू तीन चुला पुज्छन् । र, यतिबेला कुखुरा प्रयोग गरिन्छ । स्थानविशेष किरातीहरू पितृलाई भाग दिँदा वाचिप्पा प्रयोग गर्छन् । यसलाई बान्तावाभाषीहरू ‘माङकोक’, ‘साम्खाकोक’, ‘वाखालाङ्कोक’, नामले चिन्छन् । यसको अर्थ पितृ–खाना अर्थात् पितृ प्रसाद हुन्छ । पितृ पूजा गरिँदा पकाइएको वाचिप्पा भाग लगाएर छरछिमेकमा बाँडिन्छ । उभौली, उधौली, तिहारजस्ता चाडपर्वमा वाचिप्पाकै सगुन बनाइन्छ ।
कसरी बनाइन्छ वाचिप्पा ?
कखुराको प्वाँख डढाएर बाँकी रहेको कालो धूलो पदार्थमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ वाचिप्पा । कुखुरा काटेपछिको रगत मिसाउँदा यो अझै स्वादिलो हुन्छ । प्वाँख डढाएको धूलोमा रगत र भात पनि मुछेर सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टासँगै पकाउने चलन पनि छ । वाचिप्पा बनाउन स्थानीय जातको (हाइब्रिडमा गिरिराज प्रजातिसम्म) कुखुराको भाले भए काइदा हुन्छ । नभए धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ ।