बुधबार , जेठ १३, २०८३

विश्व पर्यटन दिवसमा विविध कार्यक्रम गर्दै ठमेल पर्यटन विकास परिषद्

मुलुककै प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन विकास, विस्तार र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको परिषद्ले यस वर्षको विश्व पर्यटन दिवसलाई झनै भव्य बनाउने योजना बनाएको छ । 

image

काठमाडौं । विश्व पर्यटन दिवस २०२२ को अवसरमा ठमेल पर्यटन विकास परिषद्ले विविध कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँदै आएको छ ।  सेप्टेम्बर २७ अर्थात् पर्सी आश्विन ११ गते मङ्गलवार परिषद्ले थुप्रै कार्यक्रमहरू आयोजना गरेको छ ।

मुलुककै प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन विकास, विस्तार र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको परिषद्ले यस वर्षको विश्व पर्यटन दिवसलाई झनै भव्य बनाउने योजना बनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार उक्त दिन विहान ७ बजे विभिन्न पर्यटन सङ्घ संस्थाहरूको उपस्थितिमा त्रिदेवी मार्ग ठमेलमा जम्मा भई ठमेल परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी दिनको २ बजे देखी पञ्चे बाजा, धिमे बाजा, भैरव नाच, देवी नाच, सहित ठमेल परिक्रमा गर्ने कार्यक्रम रहेकाे छ ।

दिउँसाे ३ः३० बजे विशेष नेवारी भोज/सुकुल भोजको पनि आयोजना गरेको छ । यो भोज कार्यक्रम पर्यटन क्षेत्रमै पहिलो कार्यक्रम रहेको परिषद्ले जनाएको छ ।

त्यसैगरी साँझ ५ बजेदेखि राति ८ बजेसम्म विशेष साङ्गितिक एवम् सांस्कृतिक कार्यक्रम गर्ने भएकाे छ । कार्यक्रम त्रीदेवी मार्गमा हुनेछ ।

परिषद्ले ठमेल क्षेत्रका घरधनी तथा पर्यटन व्यवसायीहरूलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।

परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा प्रथम ठमेल पर्यटन भेट्रान्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता आज आइतबार उद्घाटन भएको छ । असोज ११ गते समान हुने प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नम्बुर २६का वडाध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरेका छन् । खेल लैनचौरमा भइरहेको छ ।

पर्यटनको लागि पुनर्विचार गरौँ (रिथिंङकीङ टुरिजम) भन्ने अभियानका साथ विश्वभर यसवर्ष २७ सेप्टेम्बर अर्थात् आगामी ११ असोजमा ४३औँ विश्व पर्यटन दिवस मनाउन लागिएको हो । कोभिड पछिको विश्वमा पर्यटनलाई पुनर्विचार गर्नका लागि विश्व समुदायलाई अपिल गरिएको छ ।

सन् १९८० देखि संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनले सेप्टेम्बर २७ को दिनलाई विश्व पर्यटन दिवसको रूपमा मनाउन थालिएको हो ।

सम्बन्धित समाचार