शुक्रबार , साउन २२, २०८३

धादिङ-१ मा पाण्डे र त्रिपाठीबीच रोचक भिडन्त, कसले मार्ला बाजी ?

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डे र सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य त्रिपाठीबीचकाे भिडन्त निकै रोचक हुने भएको छ ।

image

धादिङको प्रतिनिधिसभा क्षेत्र-१ मा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे र नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीबीच रोचक भिडन्त हुने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डे र सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य त्रिपाठीबीचकाे भिडन्त निकै रोचक हुने भएको छ । तीन दशकभन्दा बढी एउटै पार्टीमा रहेर राजनीतिमा सक्रिय भएकाहरू अन्ततः फरक-फरक पार्टीबाट आमने सामने भएर मात्रै रोचक भएको होइन कि गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई केलाउँदा पनि रोचक हुने देखिएको हो ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए ।

गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार । दुवै नेता वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र दुवै विजयी पनि बने ।

त्यसो त, चुनावमा सँगसँगै भोट माग्ने यो क्रम झन्डै चार दशकदेखि जारी थियो । तर, यस पटक भने उनीहरूबीचको सहकार्य टुटेको छ । पाण्डे २०३० देखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । पाण्डेलगायतका नेताहरूले सङ्गठित गरेका त्रिपाठी भने २०३७ बाट विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् ।

२०३९ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि त्रिपाठी कानुन अध्ययनमा लागे । उनले अध्ययनसँगै कानुनसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूमा सक्रिय भए । पेशाले अधिवक्ता रहेका उनी पूर्णकालीन राजनीतिमा २०६४ पछि बढी सक्रिय भए ।

गत निर्वाचनमा संसदीय राजनीतिमा आएका उनी पहिलो प्रयासमा अत्यधिक मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर राजेन्द्र पाण्डे भने तीसको दशकदेखि लगातार राजनीतिमा सक्रिय छन् । उनी अहिलेसम्म चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री रहेका पाण्डे यस पटक प्रदेशसभा छाडेर प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन् ।

झन्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका नेताद्वय पाण्डे र त्रिपाठी यस पटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् । उता एमाले नेता त्रिपाठी भने विपक्षी गठबन्धनबाट उम्मेदवार बन्दै छ ।

यस्तो छ स्थानीय चुनावको मतभार

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको मतभार हेर्दा यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । उक्त निर्वाचनमा सबै वडामा पाएको दलगत मतभारमा एमाले एक्लै सबैभन्दा बलियो देखिन्छ, तर गठबन्धनतिर जाँदा भने सत्तारूढ गठबन्धन अगाडि देखिन्छ ।

उक्त चुनावमा नेकपा एमालेले धादिङ क्षेत्र नं. १ मा सबै वडाहरूमा ३१ हजार ३४० मत प्राप्त गर्‍यो । नेकपा माओवादी केन्द्रले २१ हजार ३०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १६ हजार १३१ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले ६ हजार ९०९ मत प्राप्त गर्दा राप्रपाको ८१५ र स्वतन्त्र उम्मेदवारको ३१० मत देखिन्छ ।

अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेको छ । यी दुई पार्टीको मत जोड्दा ३२ हजार १५५ मत पुग्छ । उता सत्तारूढ गठबन्धनको मत भने ४४ हजार ३४३ पुग्छ ।

सत्ता गठबन्धनको मत एमालेको भन्दा १३ हजारले बढी छ । मतदाताले गठबन्धनलाई स्थानीय चुनावमा जस्तै विश्वास गरेमा गठबन्धनको विजय हुने देखिन्छ । तर, एक्लै सबैभन्दा धेरै मत प्राप्त गरेको एमाले कमजोर भने होइन ।

सम्बन्धित समाचार