बिहिबार , कार्तिक ६, २०८३

पर्यटकको पर्खाइमा म्याग्दीकाे लभ्लीहिल

image

म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदी झै सेता टलक्क टल्केका हिम श्रृङ्खला नजिकै सुन्दर बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै म्याग्दी नदी र कालीगण्डकी बगेका छन् । हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु र भुर्रभुर्र उडिरहेका चराहरु अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा रहेकाे छ ।‏

आसपासमा देखिने हिम श्रृङ्खला, चौफेरै देखिने हरियाली र आकर्षक भू-बनोट लगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शीरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ ।

प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौंको सङ्ख्यामा यहाँ आउने प्रेमजोडीहरु यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका डरले गत साउन महिनासम्म सुनसान देखिएको लभ्लीहिल हिजो आज भने आफ्नै लयमा फर्किन थालेको छ ।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीहरुका कारण हिजो आज लभ्लीहिल गुलजार बन्दै जान थालेको छ । पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो । तर अहिले कोरोना संक्रमणको दर केही कम भएकोले यहाँ रौंनक सुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’ का रुपमा विकसित भएको छ । विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि लभ्लीहिल आकर्षक गन्तव्यस्थल बनेको छ ।

बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ ।

Tags:

सम्बन्धित समाचार