शुक्रबार , भाद्र १२, २०८३

…जहाँ शान्तिको वास छ,  

गौतम बुद्धको अस्थि धातु राखेर जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूपमा पुगेपछि साँच्चीकै शान्तिको अनुभूति हुने पर्यटकहरू बताउँछन् ।

image

सुन्दर पर्यटकीय नगरी पोखरामा थुप्रै पर्यटकीय आकर्षणहरू छन् । पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरूमध्ये पर्यटकहरूले घुम्न नछुटाउने र छुटाउनै नहुने गन्तव्य हो, विश्व शान्ति स्तूप । यो स्तूप पोखराको दक्षिण पश्चिममा अन्दुडाँडाको मीन थुम्कीमा अवस्थित छ ।

यो अत्यन्तै सुन्दर, शान्त एवम् महत्त्वपूर्ण धार्मिक पर्यटकीय  गन्तव्य हो । पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटकहरू यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको पनि गन्तव्यको पहिलो रोजाई यही ठाउँ हुने गरेको छ । उत्तरमा माछापुच्छ्रे हिमाल, सराङकोट अनि काखमा फेवाताल बोकेको यो स्तूप अत्यन्तै रमणीय पर्यटकीय स्थल हो । गौतम बुद्धको अस्थि धातु राखेर जापानी शैलीमा निर्मित शान्ति स्तूपमा पुगेपछि साँच्चीकै शान्तिको अनुभूति हुने पर्यटकहरू बताउँछन् ।

स्तूप परिसर प्रवेश गरेपश्चात् ठुलो स्वरले बोल्न, भिडभाड गर्न र होहल्ला गर्न पाइँदैन । छोटा कपडा लगाएकाहरूलाई प्रवेश निषेध छ ।  स्तूपको आँगनमा पुगेपछि जुत्ता चप्पल खोल्नुपर्छ अनि मात्रै यसको परिक्रमा गर्न पाइन्छ । वरिपरि प्राय बाह्रै मास विभिन्न फूलहरू फुलिरहेका हुन्छन् । जसले स्तूपको शान्तिमा सुगन्ध भरिदिन्छन् । स्तूपमा पुग्दा साँच्चै शान्तिको आभास हुन्छ । त्यहाँको सरसफाइ, सुन्दर बगैँचा अनि शान्त वातावरणले मन्त्रमुग्ध बनाइदिन्छ ।

स्तूपबारे केहि कुरा;

स्तूपको उचाइ १ सय १५ फिट गोलाइ ३ सय ४४ फिट रहेको छ । मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात सो स्तूप करिब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ । स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मूर्ति, पश्चिममा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्ध मूर्ति, उत्तरमा थाइल्यान्डबाट प्राप्त ढलोटबाट निर्मित ६ फिट लामो महापरिनिर्वाण बुद्ध मूर्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्ति राखिएको छ ।

स्तूपको टुप्पामा त्रयोदंश भुवनको प्रतीक,१३ तल्ला(२० फिट) उचाइको गजुरमा सुनको मोलम्बा लगाइएको छ भने गजुरको माथिल्लो भागमा ठुलो क्रिष्टल स्टोन राखिएको छ । स्तूप निर्माणका लागि विसं २०३० साल भाद्र २७ मा निप्पोन जान म्योहोजीका श्रद्धेय गुरु निचिदात्सु फुजिईले शिलान्यास गरेका थिए भने सोही वर्षको मङ्सिर १३ गते स्तूपको प्रार्थना गृहमा सिद्धार्थको जन्ममूर्ति राखिएको थियो । जब स्तूप निर्माण हुँदै थियो ३५ फिट उचाइ भएपछि तत्कालीन सरकारले नगरयोजनाको कारण देखाएर पवित्र स्थलको नामै मेटाउने प्रयास गरेको बताइन्छ । निर्माणाधीन अवस्थाका स्थानीय जानकारहरूका अनुसार स्तूप भत्काउन तत्कालीन शाही नेपाली सेना परिचालन गरिएको थियो ।

स्तूप भत्काइए पनि यहाँका बौद्धमार्गी र शान्तिकामी नेपालीका लागि स्तूप निर्माणको सपना झन् बलियो भएर गयो । पछि २०४९ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुनः शिलान्यास गरेका थिए । निकै सङ्घर्षपछि निर्माण गरिएको यो स्तूप अहिले पोखराका पर्यटन व्यवसायी र स्थानीय बौद्ध धर्मावलम्बीहरूका लागि गर्व गर्न लायक स्थल बनेको छ ।

सम्बन्धित समाचार