सफा मौसम भएकाले पुनहिलमा आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकको निकै भीडभाड लाग्ने गर्छ ।
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा स्वदेशी एवं विदेशी पर्यटक भरिभराउ भएका छन् ।
कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ । दैनिक रूपमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक र एक सयभन्दा बढी विदेशी पर्यटक पुनहिल आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
सफा मौसम भएकाले पुनहिलमा आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकको निकै भीडभाड लाग्ने गर्छ । घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्दछ ।
पुनहिल समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा पर्छ । घोडेपानीदेखि पुनहिलसम्म पुग्न यहाँका स्थानीयले चन्दा सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिको अध्यक्ष मीना पुन बताउँछन् । पर्यटकका लागि यो उपयुक्त समय हो उनले भने, “कोरोनाका कारण थला परेको पर्यटन व्यवसायमा केही सुधार देखिएको छ । पर्यटक आउन थालेपछि हामीहरू उत्साहित भएका छौँ । मौसममा सुधार आएसँगै एक महिना यता पर्यटकको आगमन बढ्न थालेको छ ।”
चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको स्थानीय होटल व्यवसायी टेक पुनले बताए ।
पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकका लागि घोडेपानीमा साना ठूला गरेर २६ वटा सुविधासम्पन्न होटल छन् ।