बिहिबार , जेठ ३१, २०८१

दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा

image

अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस’ सञ्चालनमा आएको छ । दुई अर्ब लगानी रहेको होटलको उद्घाटन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका हुन् ।

होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको उक्त होटल नक्सालमा रहेको छ ।

होटलका अध्यक्ष नरेशलाल श्रेष्ठले उद्घाटन कार्यक्रममा भने, ‘हामी तीन जनाले चार वर्षपछि यो अन्तर्राष्ट्रिय ब्रान्डको होटल नेपालमा भित्राएका हौं । होलिडे इन एक्सप्रेस’ ब्रान्डको होटल नेपालमा यो पहिलो हो । ‘होलिडे इन एक्सप्रेस काठमाडौं’मा अहिले पौडी पोखरी राखिनसकेको बताउँदै उनले अर्को वर्षसम्म यस्तो पोखरी तयार हुने बताए ।

यो ब्राण्डको होटल विश्वका ११० देशमा रहेको बताउँदै श्रेष्ठले होटलको सेवा, सुविधा, गुणस्तर निकै राम्रो रहेको दावी गरे । ‘यस होटलको एउटा विशेषता भनेको शौचालयबाट जति पनि फोहोर निस्किन्छ, त्यो सिधै ढलमा जाँर्दैन् । हामी त्यसलाई रिसाइकल गरेर मात्र पठाउँछौं’ उनले भने ।

सय वटा कोठाहरु रहेको यो होटलमा दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् भने अहिले ५० जना कर्मचारी राखिएको छ । कुल चार रोपनी क्षेत्रफलमध्ये दुई रोपनीमा होटल निर्माण भए पनि बाँकीमा चाँडै दोस्रो चरणको काम हुने बताउँदै उनले सो ठाउँमा ब्याङक्वेट हल, पौडी पोखरी निर्माण गरिने बताए ।

कार्यक्रममा व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार, भ्लगर, बाइक राइडर्सको सहभागिता थियो ।

सम्बन्धित समाचार