बिहिबार , फागुण १७, २०८०

धादिङमा कार्तिक १५ र १६ गते ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुँदै, मुख्यमन्त्रीले उद्घाटन गर्ने

image

धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कार्तिक  १५ र १६ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थामभञ्ज्याङ लगायतको ठाउँ एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको हो ।

कार्तिक  १५ गते ब्रोम्दिङ डाँडामा हुने महोत्सवको उद्घाटन भने बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र विशेष अतिथी पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले गर्नेछन् । बेनीघाट रोराङमै जन्मिएर प्रदेश सांसद हुँदै मुख्यमन्त्री भएका जमरकट्टेलले पहिलोपटक ब्रोम्दिङ एक्सप्लोरका लागि महोत्सवको उद्घाटन गर्ने तय भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले बताए ।

‘पर्यटकीय क्षेत्रका रुपमा उत्कृष्ट गन्तव्य भएकाले ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन मुख्यमन्त्रीबाट गर्न लागेका हौँ’ गाउँपालिकाका अध्यक्ष विवेकले भने, ‘काठमाडौँबाट पत्रकार, कलाकार, भ्लगर, साहित्यकार र पर्यटन क्षेत्रका सबै सरोकारावालामार्फत ब्रोम्दिङ, जरुङ र थामभञ्ज्याङको एक्सप्लोर गर्न लागेका हौँ ।’

‘शैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइने र सुन्दर हिमाल तथा गाउँहरुको दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा ब्रोम्दिङ एक्सप्लोर गर्न दशैँको अवसरमा महोत्सव आयोजना गरेका हौँ,’ ब्रोम्दिङ गाउँको भ्रमणपछि उनले भने, ‘राजधानी काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुगिने भर्जिन गाउँमा पत्रकार, कलाकार, भ्लगर्स, बाइक राइडर्स तथा सरोकारवाला लिएर महोत्सव गर्दै एक्सप्लोर गर्न लागेका छौँ ।’

ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

झण्डै २१ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो ।

स्थानीय ढिँडो, सिस्नोको साग, स्थानीय कुखुराको मासु पाइने ब्रोम्दिङमा तामाङ समूदायले सबैभन्दा धेरै मन पराउने ‘लोकल रक्सी’ प्रशस्त पाइन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट १६ किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थामभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

गर्मीमा चिसो हुने र हिउँदमा हिउँ पर्ने थामभञ्ज्याङ र ब्रोम्दिङ पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकको रोजाईमा परेको गन्तव्य हो ।

ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखैअगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा रहेको ब्रोम्दिङ गाउँमा हिउँ परेको बेला शैलुङ र हिउँ नपरेको बेला दामनको जस्तो चिसो मौसमी हावाको आनन्द लिन सकिन्छ ।

ब्रोम्दिङ गाउँ वरपरका अन्य चेपाङ बस्ती, तामाङ बस्ती र डाँडाहरु पनि त्यत्तिकै सुन्दर रहेको ब्रोम्दिङ पर्यटन महोत्सव तयारी समितिका संयोजक तथा पत्रकार चन्द्र तामाङले बताए ।

‘पर्यटक जाने शैलुङ र दामनभन्दा ब्रोम्दिङ गाउँ उत्कृष्ट छ । जसको वास्तविकता हामी कार्तिक १५ गतेको पर्यटन महोत्सवमा देखाउनेछौँ’ उनले भने, ‘आन्तरिक पर्यटकका लागि सुन्दर ठाउँ र बाहिरी पर्यटकका लागि ‘हिप्पी कल्चर’ जगेर्ना गर्न पनि यो महोत्सवले विशेष भूमिका खेल्नेछ ।’

सम्बन्धित समाचार